कीर्ते काण्डः प्रदेशसभा सदस्य केसी जेल चलान



लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान हुनुभएको छ ।  रुकुम पूर्वको प्रदेशसभा (ख) बाट निर्वाचित केसी ३३ वर्षअघि जिल्ला अदालत रुकुमले दोषी ठहर गरेको कीर्ते मुद्दामा कारागार चलान हुनुभएको हो । यसअघि प्रहरीको फरार सूचीमा रहेकै अवस्थामा विसं २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट विजयी हुनुभएको थियो । 

अदालतले दोषी ठहर गरेका व्यक्ति प्रदेशसभा सदस्य भएको भन्दै चौतर्फी विरोध भएपछि केसीले आज रुकुम पूर्व जिल्ला अदालतमा आत्मसमर्पण गर्नुभयो । उहाँलाई आज नै कारागार चलान गरिएको रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक माधव खरेलले जानकारी दिनुभयो । 

श्रीमतीसँगको अंश मुद्दामा कीर्ते गरेको भन्दै २०४८ असार ९ गते अदालते एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । सम्बन्ध विच्छेदको मुद्दामा नक्कली कागजात पेस गरेको भन्दै श्रीमती राधा केसीले जाहेरी दिनुभएको थियो । सोही मुद्दामा दोषी ठहर भएका केसी कैद भुक्तान नगरी बस्नुभएको थियो । 

विसं २०७५ साल वैशाख ३१ गते रुकुम पश्चिम जिल्ला अदालतले केसीविरुद्ध पूर्व फैसलाअनुसार कारबाही नभएको भन्दै रूकुम पूर्वी जिल्ला अदालतका नाममा त्यसबारे पत्राचार गरेको थियो । 

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  १२ : ५५ बजे