भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अबको सय दिनभित्रै सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु हुनेगरी काम भइरहेको बताउनुभएको छ। निर्माण कम्पनीले तोकिएको समयभन्दा पनि कम समयमा निर्माण सम्पन्न गर्नेगरी तीब्रताका साथ काम गर्न आफूले आग्रह गरेको उहाँको भनाइ छ ।
प्रेस चौतारी नेपाल रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री दाहालले विकास निर्माणका कार्यहरुमा ढिलासुस्ती हुन्छ भन्ने आमधारणालाई सिद्धबाबाको सुरुङ मार्ग निर्माणको योजनाले चिर्नसक्ने अपेक्षा गरिएको बताउनुभयो ।
उहाँले विकास र समृद्धिकै लागि राजनीतिक स्थिरता दिन संसद्का दुई ठूला दल मिलेर सरकार निर्माण गरेको बताउनुभयो ।
‘दुई ठूला दल मिलेर सरकार गठन भएको हुँदा सरकार कसरी टिकाउने भन्ने चिन्ता हामीलाई छैन’, उहाँले भन्नुभयो, ‘अब विकास र समृद्धिका लागि जनचाहनाअनुसार ध्यान केन्द्रित गरेका छौँ ।’
मन्त्री दाहालले सरकारमा जो आए पनि उस्तै हो भन्ने जनतामा रहेको धारणालाई तोड्ने गरी सरकारले विकास निर्माणलाई प्राथमिकताका साथ अघि बढाएको बताउनुुभयो । ‘सरकारमा जो आए पनि उस्तै त हो, भन्ने मनोविज्ञान बनाउने प्रयास पनि गरिएको छ । अब यसलाई वर्तमान सरकारले तोड्नु छ’, उहाँले भन्नुभयो, ‘जनताको चाहना विकास निर्माण हो, सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा पूरा गर्नेगरी काम अघि बढाएको छ ।’
मन्त्री दाहालले सरकारले एक महिनाभित्र पुराना योजनाको बक्यौता रकम भुक्तानगरी निर्माणलाई आगामी महिनादेखि तीव्रता दिने बताउनुभयो । उहाँले राजश्व सङ्कलनमा कमी आएका कारण पुराना योजनाहरुको भुक्तानीमा केही समस्या भएपनि ती समस्या हल गर्न प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट प्रतिबद्धताहरु आएको र सोहीअनुसार काम अघि बढेकाले स्पष्ट पार्नुभयो ।
सरकारले नयाँ योजनालाई अघि बढाउनेभन्दा पनि पुराना योजनालाई सम्पन्न गर्नेतर्फ ध्यान केन्द्रित भएको भन्दै मन्त्री दाहालले असोजपछि निर्माण कार्यलाई तीव्रताकासाथ अघि बढाइने बताउनुभयो ।
यसैगरी बुटवल–नारायणगढ सडक विस्तारमा भएको ढिला सुस्तीबारे निर्माण कम्पनीसँग छलफल गरिएको जानकारी गराउँदै उहाँले निर्माण कम्पनीले विभिन्न समस्या देखाएर सरकार समक्ष समय थपको प्रस्ताव ल्याएको भए पनि उक्त समस्या सरकारका कारणले नभई स्वयं निर्माण कम्पनीका कारण भएको हुँदा कुनै पनि हालतमा छुट दिन नसकिने मन्त्री दाहालले बताउनुभयो ।