नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले भेटवार्ता गरेका छन्।
सभापति देउवाको निवास बूढानीलकण्ठमा आज भएको भेटवार्तामा दुवैबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ।
भेटमा नेपाल–भारत सम्बन्ध र पारस्परिक हितकारी सहयोगलाई अगाडि बढाउने तथा थप सुदृढीकरण गर्ने विषयमा छलफल भएको थियो।
भारतीय सचिव मिस्री परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका हुन्। यो भ्रमण दुई छिमेकी देशबीचको नियमित भ्रमण आदानप्रदानको निरन्तरता भएको बताइएको छ।
सचिव मिस्रीको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै छिमेकी पहिलो नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिविम्बित गरेको जनाइएको छ।
विदेश सचिव मिस्री भ्रमण सम्पन्न गरी साउन २८ गते स्वदेश फर्किने तालिका छ।
यसैविच भारतीय विदेश सचिव मिस्रीले राष्टपति राम चन्द्र पौडेल, प्रधानमन्त्री केपि शर्मा ओली, पुष्प कमल दाहाल प्रचण्ड लगायतका शिर्षस्थ नेतृत्व संग पनि शिष्टाचार भेट वार्ता गरेका छन् ।