बंगलादेश सरकारले आरक्षणको विरोधमा फेरि हिंसा भड्किएपछि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको छ। थप दुईजनाको ज्यान गएपछि इन्स्टाग्राम, टिकटक, वाट्सएप र यूट्यूब जस्ता सञ्जालमा प्रतिबन्ध लगाएको हो।
बंगलादेशमा आरक्षणको मुद्दालाई लिएर फेरि एकपटक विरोध प्रदर्शन शुरु भएपछि उक्त निर्णय गरिएको हो। शुक्रबार भएको विरोध प्रदर्शनले देशका धेरै भागमा हिंसात्मक रूप लिएको छ। यो हिंसामा दुईजनाको मृत्यु र सयजना घाइते भएका छन्। ढाकामा शुक्रबार हजारौं विद्यार्थी सडकमा उत्रिएर प्रदर्शन गरेका थिए।
सामाजिक सञ्जाल प्रतिबन्ध गरिएको बारेमा बंगलादेश सरकारबाट कुनै आधिकारिक बयान आएको छैन। विदेशी सञ्चारमाध्यमले उक्त प्रतिबन्धको जानकारी दिएका छन्।
बंगलादेश सरकारले आफ्ना नागरिकलाई इन्स्टाग्राम, टिकटक, युट्युब र वाट्सएप जस्ता लोकप्रिय सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाएको विदेशी सञ्चारमाध्यमले उल्लेख गरेका छन्। शुक्रबार ग्लोबल आइज न्यूजले आफ्नो X मार्फत पहिलोपटक उक्त प्रतिबन्धको जानकारी दिएको थियो।
जुलाईमा आरक्षण विरोधी प्रदर्शनपछि देशभर कर्फ्यू लगाइएको थियो। यो अवधिमा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइएको थियो।
जुलाईमा भएको विरोध प्रदर्शनपछि इन्टरनेट र सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय गरिएको थियो। केही दिनको हिंसक प्रदर्शनपछि सर्वोच्च अदालतले आरक्षण कोटासम्बन्धी फैसला गरेपछि स्थिति शान्त भए पनि देशमा हिजोदेखि फेरि प्रदर्शन शुरु भएको छ।
बंगलादेशमा योपटक हिंसामा मारिएका व्यक्ति र तिनका परिवारले न्याय पाउनुपर्ने माग गर्दै विद्यार्थीहरू सडकमा उत्रिएका छन्। ढाकाका धेरै ठाउँमा विद्यार्थीले प्रदर्शन गरे र सुरक्षाकर्मीसँग उनीहरूको झडप भयो। यस क्रममा प्रदर्शनकारीलाई तितरबितर पार्न सुरक्षाबलले अश्रुग्यास प्रहार गरेको थियो।