एक लाख राशिको डि ल्लीरमण रेग्मी राष्ट्रिय पुरस्कार नेपालका पाका तथा प्रतिष्ठित पत्रकार भैरव रिसाललाई प्रदान गरिएको छ।
आज एक समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई उक्त सम्मान प्रदान गरे। सो क्रममा अन्तरराष्ट्रिय शान्ति पुरस्कार जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)लाई प्रदान गरिएको छ।
समारोहमा राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले परिकल्पना गरेको राजनीतिक स्थायित्व, विकास र सुशासनका माध्यमबाट देशलाई समृद्धिको बाटोमा लैजान सकेमात्र अग्रजहरूले परिकल्पना गरेको लक्ष्यमा पुग्न सकिने बताए।
डा. डिल्लीरमण कल्याणी रेग्मी पुस्तकालय विकास समितिद्वारा राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले हाम्रा अनुभव, ज्ञान, सीप, क्षमता र योग्यता देश र जनताको सर्वोत्तम हितका लागि समर्पित गर्नुपर्ने पनि बताए।
सुशासन, विकास र समृद्धि हाम्रो राष्ट्रिय अठोट र प्रतिबद्धता हुनुपर्ने बताउँदै राष्ट्रपति पौडेलले भने, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले परिकल्पना गरेअनुसार राजनीतिक स्थायित्व, विकास र सुशासनका माध्यमबाट देशलाई समृद्धिको बाटोतर्फ लैजान सकेमात्र हाम्रा अग्रज राजनीतिज्ञहरूले परिकल्पना गरेको लक्ष्य साकार हुन्छ। त्यसैले सुशासन, विकास र समृद्धि हाम्रो राष्ट्रिय अठोट र प्रतिबद्धता हुनुपर्छ।”
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले डा. डिल्लीरमण कल्याणी रेग्मी पुस्तकालयलाई व्यवस्थित र गतिशील बनाउन लागिपर्ने विश्वास व्यक्त गरिन्।