विविध कारणवश बन्द अवस्थामा रहेको रोयल एलायन्स मेमोरियल एकाडेमी बाडगंगा ११ वनकटवा प्रगतिनगर पुनः सञ्चालनमा आउने भएको छ।
छोटो समयमै विद्यार्थी तथा अभिभावक ज्यूहरूको मन जितेको विद्यालय शेयर सदस्यज्यूहरूको आपसी असमझदारीका कारण बन्द अवस्थामा रहेकोमा नयाँ व्यवस्थापन सहित सञ्चालनमा आउन लागेको विद्यालयका अध्यक्ष नरेन्द्रप्रसाद थारुले जानकारी दिनुभयो।
सञ्चारकर्मीहरूसँगको साक्षात्कार कार्यक्रममा बोल्दै विद्यालयका अध्यक्ष थारुले भन्नुभयो स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै हामीले आपसी समझदारी कायम गर्दै नयाँ व्यवस्थापनका साथ विद्यालयलाई शैक्षिक सत्र २०८३ बाट सञ्चालनमा ल्याउने निधो गरेका छौं।

स्थानीयको गुणस्तरीय शिक्षाको आवश्यकताको मागलाई पूरा गर्ने दृढ अठोटका साथ हामीले विद्यालय सञ्चालनमा ल्याएका छौँ। विद्यालयका व्यवस्थापक गोविन्द प्रसाद सापकोटाले भन्नुभयो। यस अगाडि झन््डै चार दशकदेखि शिक्षा क्षेत्रमा क्रियाशील रहेका सापकोटाले यससँगै आफूले सञ्चालन गरिरहेको विद्यालय बुटवलको टिमलाई बेचिसकेपछि पुनः यो विद्यालय सञ्चालनका लागि तम्सिनु भएको हो।
१५/१६ जना शेयर सदस्य यस अघि रहेकोमा आपसी कुरा नमिलेपछि विद्यालय बन्द हुने अवस्था आएको कारण अहिले सम्पूर्ण सेयर सदस्यको रकम फिर्ता गरी दुईजना मात्रै सेयर सदस्य रहने गरी विद्यालय सञ्चालनमा आफूहरू जुटेको उहाँको भनाइ थियो।
पुनः विद्यालय चलाउने भएसँगै यतिबेला विद्यालयमा पुनः तारबार गर्ने कार्यक्रम तथा विद्यालय भवनको सरसफाई लगायतको कामहरू र भर्ना अभियानहरू अगाडि बढिरहेको पाइएको छ।




