घरेलु मैदानमै पराजित


२५ चैत्र २०८२, बुधबार  

0
Shares

युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता युइएफए च्याम्पियन्स लिग अन्तर्गत पहिलो लेगमा स्पेनिस महारठ्ठी रियल मड्रिड आफ्नै घरेलु मैदानमा एफसी बायर्न म्युनिखसँग २–१ ले पराजित भएको छ।

खेलको पहिलो हाफमा बायर्नले अग्रता लिएको थियो। ४१औं मिनेटमा लुइस डियाजले सर्ज ग्नाब्रीको पासमा गोल गर्दै पाहुना टोलीलाई १–० को अग्रता दिलाए।

दोस्रो हाफ सुरु भएको केही समयमै ४६औं मिनेटमा ह्यारी केनले माइकल ओलिसेको पासमा शानदार गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए।

त्यसपछि खेलमा फर्कने प्रयास गरेको रियलका लागि ७४औं मिनेटमा किलियन एम्बाप्पेले ट्रेन्ट एलेक्जेन्डर–आर्नोल्डको क्रसमा गोल गर्दै अन्तर घटाए। तर बाँकी समयमा थप गोल गर्न नसक्दा घरेलु टोली हार व्यहोर्न बाध्य बन्यो।

यस जितसँगै बायर्नले दोस्रो लेगअघि महत्वपूर्ण अग्रता बनाएको छ भने रियललाई अवे मैदानमा जित निकाल्न दबाब बढेको छ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  १२ : ४९ बजे