बाणगंगा, मंसिर ५
कपिलवस्तुको मायादेवी रंगशाला शुक्रबार ‘प्रथम कपिलवस्तु व्यापार मेला तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२’ को उद्घाटन समारोहले विशेष खचाखच वातावरण सिर्जना गर्यो। उद्योग व्यापार संघ नेपालका केन्द्रीय अध्यक्ष खेम नारायण भण्डारीले मेलाको औपचारिक उद्घाटन गर्दै निजी क्षेत्रलाई राज्यले पर्याप्त प्राथमिकता नदिएको गुनासो व्यक्त गर्दै समग्र औद्योगिक विकासमा यसले दिगो असर पारिरहेको टिप्पणी गनु भयो ।
अध्यक्ष भण्डारीले देशको आर्थिक स्थिरता कमजोर बन्नुमा आयातमुखी नीतिको वर्चस्व, घरेलु उद्योग संरक्षणको अपर्याप्तता, र कमिसन–केन्द्रित विकृत प्रवृत्तिको उछाल प्रमुख कारण रहेको स्पष्टीकरण गनु भयो
उहाँले भने, “घरेलु उत्पादनको बजार संकुचित हुँदै गएको छ, तर विदेशी वस्तुको प्रवेशमा कुनै प्रभावकारी नियन्त्रण छैन। दिगो राष्ट्रिय अर्थतन्त्रका लागि हाल प्रचलित नीतिगत धारलाई पुनः मूल्यांकन गर्नु अत्यावश्यक छ।”
भण्डारीका अनुसार राज्य संयन्त्र निजी क्षेत्रप्रति उत्तरदायी, सहजीकरणमुखी र समन्वित नबनेसम्म औद्योगिक पुनरुत्थान कठिन रहने छ।
समारोहमा लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले व्यापार मेलाले स्थानीय उत्पादन, सांस्कृतिक पहिचान र उद्यमशीलता लाई राष्ट्रिय बजारसँग जोड्दै आर्थिक अग्रगमनको आधार तयार पार्ने विश्वास व्यक्त गर्नु भयो ।
बाणगंगा नगरप्रमुख चक्रपाणी अर्यालले मेला नगरको सामाजिक, सांस्कृतिक, कृषि र औद्योगिक क्षेत्रलाई एउटै सार्वजनिक मञ्चमा समेट्ने महत्त्वपूर्ण अवसर भएको उल्लेख गर्दै समग्र नगर विकासमा यसले टेवा पुग्ने धारणा व्यक्त ।
उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल ‘कोपिल’ ले मेला सञ्चालन संघको दीर्घ दृष्टि, प्रतिबद्धता र सामूहिक प्रयासको परिणाम भएको बताउँदै सहयोगी निकाय तथा समुदायप्रति आभार प्रकट गर्नु भयो ।
समारोहमा विभिन्न विद्यालय, क्लब तथा आमासमूहले आकर्षक झाँकी, पञ्चेबाजा, मयुर नृत्य तथा स्थानीय कला–संस्कृतिको विविध प्रस्तुति प्रदर्शन गरे। मेलाका निर्देशक कृष्णबहादुर कुँवरले स्वागत मन्तव्य राखे भने कार्यक्रम सञ्चालन महासचिव बासुदेव खनालले गर्नु भयो ।
“राष्ट्रिय स्वाधीनताको जग देशको स्वनिर्भर अर्थतन्त्र, र स्वनिर्भर अर्थतन्त्रको मेरुदण्ड घरेलु औद्योगीकरण” भन्ने मूल नारासहित सुरु भएको प्रथम कपिलवस्तु व्यापार मेला मंसिर १७ गतेसम्म निरन्तर सञ्चालन हुनेछ।




