आत्मकथा: बिहे लगत्तै जेलको यात्रा



दुर्गाजीले जेल जीवनमा भोगेका मानसिक र शारीरिक यातनाका कारण उहाँ अस्थिर हुनुहुन्थ्यो । लगभग छ–सात महिनासम्म दुर्गाजी बेखबर हुनुभयो । त्यस्तो प्रतिकूल समयमा पनि म कत्ति विचलित भइनँ । आफ्नो वकालती काम र घर–व्यवहारलाई सकेसम्म राम्रो बनाउने कोशिश गरिरहेँ ।


पञ्च सरकारले धरानको मेरो घरअगाडि सादा पोशाकमा प्रहरी छाडेको थियो, जसलाई सबैले भिजिलान्ते पुलिस भन्थे । पञ्चायतविरुद्ध लागेकाले हामी जहाँसुकैबाट पनि पक्राउ पर्न सक्थ्यौँ । अझै मेरो त दुई घरको सुरक्षाको विषय पनि थियो । त्यसैले म धरानको घरको अवस्था हेर्न रातिको समयमा पुग्थेँ र फर्किन्थेँ ।

त्यति बेला मसँग भएका केही गरगहना र पैसालाई घरमा भएका जति सिरानीभित्र कपासमा घुसारेर राखेकी थिएँ । पैसा र गहना त्यसरी लुकाएर राखे पनि हामीलाई आन्दोलनको सफलताबाहेक कुनै कुराको मतलब थिएन । फागुन १३ गते अधिवक्ता गोविन्द प्याकुरेलको फोन आयो । उनले भने, ‘भोलि महिलाहरूको मौन जुलुस छ, बारबाट तपाईंलगायत महिलाहरू आएर आन्दोलनलाई सफल पारिदिनुपर्‍यो ।’

पञ्चायतविरुद्ध लागेकाले हामी जहाँसुकैबाट पनि पक्राउ पर्न सक्थ्यौँ । अझै मेरो त दुई घरको सुरक्षाको विषय पनि थियो । त्यसैले म धरानको घरको अवस्था हेर्न रातिको समयमा पुग्थेँ र फर्किन्थेँ ।

मोरङका त्यति बेलाका चल्तीका वकिलको फोन थियो त्यो र आफू पनि पञ्चायतविरुद्ध लागेकाले नजाने भन्ने कुरै थिएन । त्यति बेला आन्दोलनमा सरिक भएर सफल पार्न केन्द्रिय बारले पनि आह्वान गरेको थियो । वरिष्ठ अधिवक्ता मुकुन्द रेग्मी, कृष्णप्रसाद भण्डारी, कुसुम श्रेष्ठलगायत सबै बहुदलको पक्षमा थिए । एक हिसाबले हेर्दा जनता सबै बहुदलको पक्ष र सत्तापक्ष मात्र पञ्चायतको पक्षमा भएजस्तो मात्र लाग्थ्यो ।

१४ गते, बार सङ्गठन मोरङमा केही बेर छलफल गरी जिल्ला अदालत पुग्दा छेउमा सबै महिलाहरू भेला भइसक्नुभएको थियो । प्ले कार्ड बोकेका मौन मानिसहरूको जुलुस अपराह्नको ४ बजेतिर निस्कियो । राजनैतिक, सामाजिक, कानूनी र विविध क्षेत्रबाट आएका नारीहरूको त्यो जुलुस निकै ठूलो थियो । विराटनगरको बजार अड्डा पुगेपछि करिब २० जनाजति महिलालाई प्रहरीले पक्राउ गर्‍यो । त्यो पक्राउ पर्ने समूहमा म पनि थिएँ ।

पक्राउ पर्नेमा जवान र वृद्धा महिलाहरू पनि थिए । नेपाली काँग्रेसका नेता विनोद अर्याल र अमृत अर्यालकी ८० वर्षीया आमालाई पनि हामीसँगै ट्राफिक प्रहरीको थुनामा राखिएको थियो । अरू धेरै जना परिवारका सदस्यको रोहवरमा कागज बनाई छुटे । तर म र माधवी रिमाल दिदीलाई छाडिएन ।नातामा स्व. कृष्णप्रसाद भट्टराईकी बहिनी पर्नुहुन्छ, माधवी रिमाल । १४ गते साँझको बिबिसीको समाचारमा हाम्रो नाम प्रखररूपमा आएकाले हामीलाई निरन्तर थुनामा राखिएको रहेछ । १५ गते राति एक जना प्रहरी शायद सई–असई को थिए, ले आएर भाषण गरे र सरकारसँग माफी माग्न भने । हामी केही बोलेनौँ ।

त्यसै राति हामी दुइटीलाई रुँग्न प्रहरी तालिम केन्द्रबाट करिब १० जना महिला प्रहरी आएका थिए । हामीसँग लाउने लुगा त थिएनन् नै, सुत्ने बिछ्यौना पनि थिएन । हामी कोठामा भएका सोफा–कुर्सीमा १४ गतेजसरी नै रात बिताउन बाध्य भयौं । चार दिन त्यसरी नै बित्यो । त्यहींको रुखोसुखो खाना खायौंँ ।

मेरा अरू समस्या केही थिएनन् । धरानको घर कुर्न बसेको टुटुले पञ्चायतको विरोध गर्दै मेरो कालो पेटीकोट च्यातेर झण्डा बनाई घरमा गाडेको रहेछ । प्रहरी पक्राउ गर्न आउँदा पछाडि ढोकाबाट भागेर आफ्नो जन्मघर मझारे पुगेछ । त्यसपछि मेरा छिमेकीले घरको हेरचाह गरिदिएछन् ।

हामीलाई चार दिनपछि डीएसपी कार्यालयमा पुर्‍याउँदा नोना कोइराला आमा पनि त्यहीं थुनामै हुनुहुन्थ्यो । हामीलाई उहाँकै कोठामा पुर्‍याइएको थियो । ननुहाएको चार दिन भएको, जिउहात पुछेर बसेको कुरा मैले सुनाएपछि नोना आमाले थोरै पानीले राम्रोसँग कसरी नुहाउने भनी सिकाउनुभएको थियो ।

डीएसपीको कोठामा बाथरुम थियो । अफिस लाग्नुपूर्व हामी कसैले थाहा नपाउने गरी एकाबिहानै नुहाउँथ्यौं । बिहान र राति त ठीकै थियो, दिउँसो ट्वाइलेट जान भने कठिन थियो । कतै ठाउँ नै थिएन । बाहिर अरू मानिस र प्रहरी टन्न हुन्थे । निस्केमा गाली गर्दथे । कतिपटक गाली खाएर पनि अन्तरकुन्तर जाने काम भयो ।

प्रौढ उमेरकी नोना आमालाई कसैले गाली गर्दैनथे, सबैले सम्मान गर्थे । थुनामा पनि भुइँमा ओछ्यान लगाएर सफासुग्घर भएरै बस्नुभएको थियो । बिहानबिहानै सलाइको काँटी कोरेर त्यसैलाई दियो सम्झी आरती गरेजस्तो गर्नुहुन्थ्यो । जहाँ जे उपलब्ध हुन्छ, त्यसैले काम चलाउनुपर्दछ भन्ने उहाँको सिद्धान्त थियो । बन्दी हुँदा पनि उहाँको धार्मिक आस्थामा कुनै खलल आएको थिएन ।

उहाँको खाना भने कोइराला निवासबाट आउँथ्यो । कहिलेकाहीं हामीलाई पनि खुवाउनुहुन्थ्यो । दुई सातापछि नोना आमा र माधवी दिदी रिहा हुनुभयो । म र विद्या देवानलाई भने जेल चलान गरियो । हामी विराटनगरको देवकोटा चोकनिरको जेलमा पुग्यौँ ।

मेरो घरमा कोही थिएनन् । दैलोको साँचो पनि मसँगै थियो । तत्कालीन देवकोटा मेमोरियल स्कूलका प्रिन्सिपल, दुर्गाजीका मित्र टीकाप्रसाद उप्रेती र उहाँकी श्रीमती गीता उप्रेतीले मलाई उहाँहरूकै घरबाट लुगाफाटो पठादिनुभएको थियो । हाम्रो विवाहमा उहाँहरूले गर्नुभएको सहयोगलाई मैले पुनः स्मरण गरेँ ।

त्यहाँ डिएसपी कार्यालयमा भन्दा झन् कम सुविधा थियो । जेलमा पुग्दा छामछुम पारेर चेक गर्ने चलन मात्र होइन, कलेजमा नयाँ भर्ना भएका विधार्थीलाई जस्तै  र्‍यागिङ गरेजस्तो गरिँदो रहेछ ।

आँगनमा लगेर लुगा फुकाल्ने, छामछुम पार्ने, के मुद्दामा आएको भनेर र्‍याखर्‍याख्ती पार्ने, नाइकेनीले लठ्ठी बोकेर न्यायाधीश बन्ने र अरू पुराना कैदीहरूको भूमिका वकिल र प्रहरीको जस्तो हुँदो रहेछ । मैले तत्कालीन जेलरलाई चिनेकाले हामीमाथि त्यस्तो दुर्र्‍वयवहार  हुन पाएन ।आफन्तले ल्याइदिएका खानेकुरा आफैँले मात्र नखाई बाँडेर खाने गरेका थियौँ ।

नाइकेनीले पनि हामीलाई माया गर्न थालेकी थिई । चिया पकाएर खुवाउँथी । भातसँग लट्टेको साग र टमाटरको अचार बनाएर दिन्थी । जेलको पर्खाल २०–२५ फिटजति अग्लो थियो । त्यसमाथि काँडेतारले बारेको र चार कुनामा सेन्ट्री बसेकाले कसैले भाग्ने कल्पना गर्दैनथे । प्रायः थुनुवा महिलाहरू पहेँला देखिएका थिए र धेरैको महिनावारी बिग्रने गरेको सुनिन्थ्यो ।

आन्दोलनको समाचार पनि जेलमा रहेका प्रहरीहरूबाट नै थाहा पाउँथ्यौँ। प्रहरी आदेशअनुसार बत्ती निभाउनु भनेको रात निभाइन्थ्यो र ननिभाउनु भनेको रात निभाइन्थेन । सानो एरियामा त्यसमा पनि २०४५ सालको भूकम्पले क्षतिग्रस्त जर्जर घरमा ५०–६० जना खाँदेर राखिएको थियो ।

हत्या, गर्भपतन, चोरी, धर्म परिवर्तनलगायतका मुद्दामा आएका कैदीहरू भएकाले तिनको मानसिक अवस्था पनि त्यस्तै थियो । कैदीको चापले कोठाबाट बान्ता नै आउलाजस्तो गन्ध आउँथ्यो । बाहिर चर्को आन्दोलन भई नाराबाजी सुनिएको बेला हामीले पनि भित्रबाट नारा लगाउँदै साथ दिन्थ्यौँ ।

म एउटी वकिल भएको नाताले सबैको मुद्दाको बारेमा चासो हुनु स्वाभाविक थियो । जेलमा थुनुवा महिलाको अवस्था वास्तवमा असहायको जस्तै नै हुँदो रहेछ । तिनलाई आफ्नो मुद्धाबारेमा के हुँदै छ भन्ने कुनै जानकारी र ज्ञानसम्म पनि थिएन । मैले जेलभित्रैबाट केहीको अपिल वा निवेदन लेखेर बाहिरका साथीहरूलाई सहयोग गरिदिन पनि आग्रह गरेकी थिएँ ।२०४६त्र २७ मा आन्दोलन समाप्त भयो । निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्यसँगै उदाएको त्यो बिहानीले हामीलाई पनि जेलको अँध्यारोबाट बाहिर निकाल्यो । हामी त्यही दिन दिउँसो करिब ३ बजेतिर छुट्यौँ ।

निस्कने बेला सबै महिला कैदीहरू पिकेटमा भेला भएर रोएका थियौँ । एउटा रुवाइ जेलबाट छुटेको खुशीको थियो भने अर्को रुवाइ जेलभित्रै साथी बनेका हामीहरू छुट्टिँदाको थियो । त्यो आन्दोलन तत्काल समाप्त नभएको भए हामीलाई लामो थुनाका निम्ति एक–दुई दिनभित्र तेह्रथुम लैजाने तैयारी भैरहेको रहेछ ।

देश पञ्चायतबाट स्वतन्त्र भएको थियो । म जेलबाट स्वतन्त्र भएकी थिएँ । सोही दिन बिहारको फार्बिसगन्जबाट दुर्गाजी पनि घर आइपुग्नुभयो । लामो समयपछि हाम्रो भेट हुँदा हामी निकै भावुक बनेका थियौं । त्यसपछि लगातार २ वर्ष दुर्गाजी विराटनगर र काठमाडौँ आवत–जावत गरिरहनुभयो । म भने मेरो कानूनी पेशामा निरन्तर लागिरहेँ ।

(बुकहिल पब्लिकेशनले २०७५ मा प्रकाशन गरेको सुशीला कार्कीको आत्मकथा ‘न्याय’को अंश)

प्रकाशित मिति : २९ भदौ २०८२, आइतबार  ५ : ३१ बजे