माओवादीका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले आफ्नो पार्टी आगामी २०८४ को चुनावमा एकलै लड्ने बताएका छन् । दिलकाजी–ठूलकाजी स्मृति प्रतिष्ठानले दिक्तेलमा आयोजना गरेको ३० औं जनयुद्ध दिवसको अवसरमा बिहीबार बोल्दै पुनले २०६४ मा जस्तै जनउभार आएकाले माओवादी एक्लैले चुनाव जित्ने बताएका हुन् ।
जनयुद्धको बलमै वर्तमान उपलब्धि हासिल भएकाले यसलाई कसैले पनि कम आँक्न नहुने उनले धारणा राखे । ‘महिला, दलित, जनजाति लगायतको अधिकार सुनिश्चित गर्दै मुलुकको मुख्य संयन्त्रसम्म जनयुद्धले नै पुर्याएको हो,’ उनले भने, ‘यलाई कसैले पनि कम आँक्न मिल्दैन ।’
वर्तमान अवस्थामा कम्युनिष्ट पार्टीहरूको ध्रुवीकरण आवश्यक रहेको उल्लेख गर्दै त्यसको बाधक एमाले अध्यक्ष केपी ओली भएको आरोप लगाए । ‘सबै कम्युनिष्टहरू एक हुन सक्थ्यो तर एमाले अध्यक्ष केपीजीको कारण एकता सम्भव छैन, बरु एकीकृत समाजवादी पार्टीसँग कार्यनीतिक र कार्यदिशाको हिसाबले मिल्ने सम्भावना छ, विप्लवजी पनि कार्यनीतिक हिसाबले हामीसँगै आउनु भएकाले उहाँसँग एकतामा हुन कुनै समस्या छैन,’ उनले भने ।
अहिले पुरानो ढर्रामा कम्युनिष्ट आन्दोलन सम्भव नभएको समेत पुनले धारणा राखे । ‘वैद्य हामीले पनि मानेकै नेता हो, तर उहाँको पुरानो ढर्राले अब चल्दैन, त्यसरी अबको कम्युनिष्ट आन्दोलन सम्भव छैन,’ पुनको धारणा थियो ।