कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आमरण अनसन तोड्नु भएको छ । उहाँले उठाएका माग पूरा गर्न कोशी सरकार तयार भएपछि विराटनगर–६ निवासी निर्मला शर्माका ४२ दिनको शिशुको हातबाट जुस पिएर कार्कीले अनसन तोडनु भएको हो ।
सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगर र आन्तरिक मामिला तथा कानुन मन्त्री लीला वल्लभ अधिकारी वार्ता स्थलमा आएका थिए । मन्त्री अधिकारीले भन्नुभयो ‘कार्कीले उठाएका माग पुरा गर्न सरकार सकारात्मक छ ।’
पूर्व मुख्यमन्त्री कार्कीले सरकार आफ्ना माग पूरा गर्न सहमति भएकोले अनसन तोडेको बताउनुभयो ।जनप्रिय कार्यक्रमहरु कटौती भएको भन्दै कार्कीले मंगलबारबाट कोसी प्रदेश सभा नजिकै देवकोटा चोकमा आमरण अनसन शुरु गर्नु भएको थियो ।
प्रदेश सरकार र कार्की पक्षका प्रतिनिधिबीच बुधबार साँझ विराटनगरमा भएको वार्तामा माग पूरा गर्ने विषयमा सहमति जुटेको थियो । वार्तामा सहभागी नेपाली कांग्रेस विराटनगर महानगर कमिटीका सभापति दीपक चापागाईले कार्कीले उठाएका माग सम्बोधन गर्न कोसी प्रदेश सरकार सहमत भएको बताउनु भयो।
पूर्व मुख्यमन्त्री कार्कीले कोशी सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार कटौती गरेको, गरिब जेहेन्दार विद्यार्थीलाई दिने छात्रवृत्ति हटाएको, महिला स्वयं सेविकाको प्रोत्साहन भत्ता रोकेको, सुकुम्वासीलाई जग्गा खरिद गर्दा दिने बैंक ब्याज अनुदान सम्बन्धी व्यवस्था बजेटमै कटौती गरेको आदि विषयमा विरोध जनाउँदै कार्कीले आमरण अनसन शुरु गर्नुपरेको बताउनु भएको थियो ।