२० वर्षमुनिको साफ च्याम्पियनसिप : शुरु हुन तीन दिन बाँकी रहँदा पनि मैदानको टुङ्गो लागेन
साफ २० वर्षमुनिको च्याम्पियनसिप प्रतियोगिता हुन तीन दिनमात्रै बाँकी हुँदा पनि खेल हुने मैदानबारे अझै टुङ्गो लागेको छैन । खेल भदौ २ अर्थात् आउँदो आइतवारदेखि दशरथ रङ्गशालामा हुने तय थियो । आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले प्रतियोगिताको तयारी पूरा भए पनि मैदानको टुङ्गो नलागेको बताएको हो ।
एन्फाले आज गरेको पत्रकार सम्मेलनमा प्रवक्ता सुरेश शाहले म्याच कमिसनर आएर निरीक्षण गरेपछि मात्रै प्रतियोगिता हुने स्थानको टुङ्गो लाग्ने बताउनुभएको छ । एएफसी च्यालेन्ज लिगको प्लेअफअन्तर्गत चर्च ब्वाइज युनाइटेड र पारो एफसीबीच गएको मंगलवार दशरथ रङ्गशालामा भएको खेल भइरहँदा मैदान हिलाम्मे भएपछि चौतर्फी आलोचना भइरहेको छ ।
प्रवक्ता शाहले मैदान हिलाम्मे भएसँगै रङ्गशालामा साफ २० वर्षमुनिको च्याम्पियनसिपका खेल पनि अन्योल बनेको बताउनुभयो । दशरथ रङ्गशालामा खेल भएन भनि विकल्पमा एन्फा कम्प्लेक्स राखिएको प्रवक्ता शाहले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । साफ २० वर्षमुनिको च्याम्पियनसिपमा नेपालले बङ्गलादेशसँग भदौ ६ गते खेल्ने छ । च्याम्पियनसिपमा पाकिस्तान बाहेक दक्षिण एशियाका छ टोली सहभागी छन् ।
एएफसी च्यालेन्ज लिगको खेल हेरेपछि म्याच कमिस्नरले वैकल्पिक मैदान खोज्न भनेको र दशरथ रङ्गशालाको विकल्पमा सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स रहेको उहाँको भनाइ छ । गत शुक्रवार दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न एशियाली फुटबल महासङ्घ (एएफसी) ले अनुमति दिएको थियो ।
एएफसीले रङ्गशालालाई अन्तर्राष्ट्रिय प्रतियोगितािका लागि अयोग्य भने पछि गएको चैतदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन हुन सकेको थिएन । टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।
समूह ‘ए’ मा नेपाल, श्रीलङ्का र बङ्गलादेश समूहमा छन् । समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् । एन्फाले साफ २० वर्षमुनिको खेलमा सहभागी टिमलाई अभ्यासका लागि भद्रकालीमा रहेको आर्मीको मैदान र लगनखेलको मैदान प्रदान गर्ने प्रवक्ता शाहले जानकारी दिनुभयो । प्रतियोगिताका लागि आज माल्दिभ्सको टोली आइसकेको र बाँकि टिम भोलि नेपाल आउने उहाँले बताउनुभयो ।