प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रालयको काम कारबाहीबारे ब्रिफिङ लिएका छन्।
आइतवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपप्रधानमन्त्री, मन्त्रीसहितको उपस्थितिमा सबै मन्त्रालयका सचिवबाट मन्त्रालयको कामबारे जानकारी लिएका हुन्।
जनतामा छाएको निराशा चिर्ने काम गर्न सम्माननीय प्रधानमन्त्रीज्यूले सबै मन्त्रालयको कामको जानकारी लिएको खानेपानीमन्त्री प्रदीप यादवले बताए।
मन्त्रालयले आ–आफ्नो समस्यासहितको भावी रणनीति प्रस्तुत गरेको र साउन १५ गते मंगलवार (पर्सि) प्रधानमन्त्रीले निर्देशन दिने मन्त्री यादवको भनाई थियो।
बैठकमा विकाससम्बन्धी मन्त्रालयका सचिवहरुले ठेकदारहरुको भुक्तानीको समस्यालाई जोड दिएर उठाएका थिए भने केहीले संविधानसँग बाझिएका कानून तत्काल संशोधन परिमार्जन गर्नुपर्ने धारणा राखेका थिए।
मन्त्री यादवले सचिवहरुले दिएको ब्रिफिङको अध्ययन गरेर प्रधानमन्त्रीले मंगलवार निर्देशन दिने र सोहीअनुसार चालू आर्थिक वर्षको काम अघि बढाउने सरकारको योजना रहेको बताए।
‘आगामी रणनीति के हो त मन्त्रालयहरुको भनेर सबै मन्त्रीज्यू र सबै सचिवजीहरुलाई बोलाउनु भयो। अहिले मन्त्रालयको अवस्था के कस्तो छ?‚’ मन्त्री यादवले भने, ‘आगामी रणनीति के हो मन्त्रालयको बुझ्न सम्माननीय प्रधानमन्त्रीज्यूले आज सबै मन्त्रीजी र सबै सचिवजीलाई बोलाउनु भएको थियो र छलफल भयो। निर्देशन उहाँले मंगलवार दिनुहुन्छ।’
प्रधानमन्त्री ओलीले बोलाएको सो बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारीहरु, सबै सुरक्षा अंगका प्रमुखहरुको पनि उपस्थिति रहेको थियो।