नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ।
निगमले असार १७ गतेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको सूचना जारी गरी जानकारी दिएको छ। हवाइ इन्धन र एलपी ग्यासको भाउ भने घटबढ भएको छैन। बढेको मूल्य आज राति १२ बजेपछि लागू हुनेछ।
मूल्यवृद्धिपछि काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १५७ रुपैयाँ पर्नेछ।
त्यसैगरी झापा, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६४.५० र मट्टीतेल तथा डिजेल प्रतिलिटर १५२.५० रुपैयाँ पर्नेछ।
सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १६६ र डिजेल तथा मट्टीतेल १५६ रुपैयाँ पर्नेछ।