गठबन्धन आफैँ भित्रका समस्या र अन्तरविरोधले टुट्छ


२० फाल्गुन २०८०, आइतबार  

14
Shares

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन आफैँ भित्रका समस्या र अन्तरविरोधले टुट्ने दाबी गरेका छन्। आइतबार जनकपुरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो दाबी गरेका हुन्।

उनले गठबन्धन भित्रका तमासाहरु आफूहरुले देखिरहेको बताए। उनले मुलुक सत्ता गठबन्धनको कारणले चौतर्फी संकटतर्फ गइरहेको बताए। उनले शान्ति सुरक्षा, विकास निर्माण, सुशासन, रोजगारी र अन्तर्राष्ट्रिय सम्बन्धमा गठबन्धनकै कारण मुलुकले गम्भीर समस्या झेलिरहेको जिकिर गरे।

उनले समाजको अग्रगतिका लागि अहिलेको गठबन्धन प्रमुख बाधक भएको बताए। उनले वर्तमान गठबन्धन कुनै सिद्धान्त, आदर्शबाट गठित गठबन्धन नभएको जिकिर गरे। उनले वर्तमान गठबन्धन स्वार्थ, लेनदेनमा आधारित रहेकाले लामो समयसम्म नचल्ने बताए।

उनले भने, ‘गठबन्धन भित्रका तमासाहरु हामी देखिरहेका छौँ। त्यो कुन रुपमा विकसित हुन्छ हेरिरहेका छौँ। हामी त्यति रुचि र चाखका साथ गठबन्धनलाई हेरिरहेका छैनौँ। यो गठबन्धन आफैँ भित्रका समस्याहरुले, अन्तरबिरोधले चर्मराइरहेको छ। कुनै पनि बेला टुट्न, फुट्न सक्छ। मुलुक सत्ता गठबन्धनको कारणले चौतर्फी संकटतर्फ देखिरहेको छ। शान्ति सुरक्षा, विकास निर्माण, सुशासनका दृष्टिकोणले हेर्नुहोस्, रोजगारी र अन्तर्राष्ट्रिय सम्बन्धमा मुलुकले गम्भीर समस्या झेलिरहेको छ।’

उपाध्यक्ष पौडेलले देशलाई स्थिरता, विकास र समृद्धितर्फ लैजानका लागि अहिलेको गठबन्धन टुट्नुपर्ने बताए।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ४ : ०४ बजे