काठमाडौं–केरुङ रेलमार्गको भौगर्भिक अध्ययन अन्तिम चरणमा


२ बैशाख २०८२, मंगलबार  

28
Shares


काठमाडौं– केरुङ रेलमार्गको भौगर्भिक अध्ययनको काम अन्तिम चरणमा पुगेको छ । चीन सरकारको प्राविधिक र आर्थिक सहयोगमा यसको अध्ययन थालिएको हो ।

रेलमार्गले छुने जिल्ला काठमाडौं, नुवाकोट र रसुवामा सम्भाव्यता अध्ययन भइरहेको छ । तीन जिल्लामा ८० मध्ये ७५ स्थानमा ड्रिलिङ गरेर माटो निकालिसकिएको छ । ९० प्रतिशत माटो परीक्षणको काम सकिसकेको रेल विभाग स्रोतले जनाएको छ ।

आठ स्थानमा चार सय मिटरसम्म गहिरो बनाएर माटो निकाल्नुपर्नेमा ७ स्थानको निकालिसकिएको छ । तीन वटै जिल्लामा रेलमार्गले छुने सम्भावित स्थान छानेर त्यहाँबाट माटो, ढुंगा, पानी, चट्टानको नमुना संकलन गरिएको रेल विभागका प्रवक्ता तथा सिनियर डिभिजनल इन्जिनियर कमलकुमार साहले बताए ।

पहिलो चरणको प्रारम्भिक अध्ययन सकेर अहिले दोस्रो चरणअन्तर्गत रेल गुड्ने सम्भावित ठाउँमा ड्रिल मेसिनमार्फत माटो परीक्षणको काम अघि बढाइएको हो । ‘तर ड्रिलिङको काम अझै बाँकी छ,’ उनले भने, ‘यसरी ड्रिल गरेर निकालिएको माटो, ढुंगा, पानी र चट्टानको नमुना परीक्षण नेपालमै र केहीको भने चीनमा लगेर गरिएको छ ।’

नेपालमा नहुने नमुनाको परीक्षणका लागि मात्र चीन पठाइएको साहको भनाइ छ । ‘नेपालकै प्रयोगशालामा सम्भव भएसम्मको परीक्षण गरिएको छ, गर्नैपर्ने तर यहाँ सम्भव नभएकोलाई मात्र परीक्षण गर्न चीन पठाउने गरिएको छ,’ उनले भने, ‘त्यसका लागि हामीले चिठी लेखेर सहजीकरण गर्दै आएका छौं ।’ नमुना परीक्षणका लागि रसुवागढी हुँदै माटो, ढुंगा, पानी र चट्टान चीन पठाउने गरिएको छ । स्थानीयको अवरोधले गर्दा भने बेला–बेला काम प्रभावित हुँदै आएको साहले सुनाए । ‘ड्रिल गर्ने क्रममा स्थानीयले आफूहरूको जग्गामा किन खाल्डो खनेको भन्दै अवरोध गरेका थिए,’ उनले भने, ‘रेलमार्गको रेखांकनमा जे छ, त्यसअनुसार मात्र काम भएको छ, त्यसबाहेकको जग्गामा काम गरिएको छैन ।’

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  १२ : ५९ बजे