दाङमा प्रहरीले भरुवा बन्दुक सहित ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगर-४ सुनवलपुर बस्ने ३६ वर्षीय टङ्क थापा र २९ वर्षीय युवराज गिरी रहेका छन्। यस्तै राजपुर गाउँपालिका-४ फोहरा बस्ने इच्छाकुमार रैदास रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
तुलसीपुर-४ ठूलाखालीस्थित केही व्यक्ति हतियार सहित शङ्कास्पद रुपमा हिँडडुल गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुर दाङ र अस्थायी प्रहरी पोष्ट गोटीखोलाबाट प्रहरी खटिई थापा र गिरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए।
उनका अनुसार तुलसीपुर-४ गादिबरा सामुदायिक वनमा शङ्कास्पद रूपमा हिँडिरहेका उनीहरूलाई नियन्त्रणमा लिई खानतलासी गर्दा गिरीले भिरेको अवस्थामा एक थान भरुवा बन्दुक र बन्दुकको गोली २१ राउन्ड छर्रा सहित फेला परेपछि पक्राउ गरेको हो। साथै उनीहरूमाथि विस्तृत अनुसन्धान कार्य इप्रका तुलसीपुरबाट भइरहेको उनले जानकारी दिए।
यस्तै प्रहरीले आइतबार राजपुर गाउँपालिका-४ मा रहेको वनशक्ति सामुदायिक वनबाट रैदासलाई भरुवा बन्दुक सहित शिकार खेल्न जाँदै गरेको पक्राउ गरेको जनाएको छ। प्रवक्ता तिमल्सिनाका अनुसार इलाका प्रहरी कार्यालय गढवा र प्रहरी चौकी चङगुवा दाङबाट संयुक्त रूपमा खटिएको प्रहरी गस्तीले उनलाई एक थान बन्दुकसहित फेला पारी पक्राउ गरेको हो।
उनीमाथि विस्तृत अनुसन्धान कार्य इलाका प्रहरी कार्यालय गढवा दाङबाट भइरहेको समेत प्रहरीले जनाएको छ। यस्तै दाङमा प्रहरीले विभिन्न मितिमा आपराधिक क्रियाकलाप गरी तत्काल फरार रहेका तथा अदालतबाट अपराधी ठहर भई फरार रहेका ११ जनालाई पक्राउ गरेको छ।
प्रवक्ता तिमल्सिनाका अनुसार फरार रहेका व्यक्तिहरूलाई पक्राउ गर्न तथा अपराधलाई निरुत्साहित गर्ने उद्देश्यले जिप्रका दाङले फैसला कार्यान्वयनलाई प्राथमिकता दिएको र साउन महिनाको एक गतेदेखि २५ गतेसम्म विभिन्न मुद्दामा फरार ११ जना प्रतिवादीलाई पक्राउ गरी जिल्ला अदालत दाङमा बुझाइएको छ। वन मुद्दा, लेनदेन, बैंकिङ चिरान काठ, आखेटोपहार, सवारी ज्यान, चोरी मुद्दाका फरारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।