ललित स्मृति एन्फा यु–१८ युथ लिगमा संकटा फुटबल क्लब र न्युरो टिम (एनआरटी) ले विजयी हासेका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न दिनको पहिलो खेलमा संकटाले विभागिय टोली त्रिभुवना आर्मी क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो।
जारी सिजन दोस्रो जितसँगै संकटाले ६ खेलमा ६ अंक जोडेको छ। संकटा सातौं स्थानमा उक्लिएको छ। आर्मी समान खेलबाट चार अंकका साथ नवौं स्थानमा झरेको छ।
खेलकाे २५औं मिनेटमा दिलन लिम्बूले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाएका थिए। ६७औं मिनेटमा समिन अर्जेलले टोलीको अग्रता दोब्बर बनाए।
इन्जुरी समयमा रोहित श्रेष्ठले गोल गर्दै आर्मीलाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर, त्यो सफल हुन सकेन।
यस्तै बुधबारकै दोस्रो खेलमा मछिन्द्र फुटबल क्लबको अपराजित यात्रामा पूर्णविराम लागेको छ।
मछिन्द्र एनआरटीसँग ३-० ले पराजित भएको हो।
पहिलो पराजयसँगै जारी लिगमा मछिन्द्रले ६ खेलमा ११ अंकका साथ चौथो स्थानमा झरेको छ। मछिन्द्रले अघिल्ला पाँच खेलमा तीन जित र दुई बराबरीको नतिजा निकालेको थियो ।
चौथो जित हासिल गरेको एनआरटी समान खेलबाट १३ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ। एनआरटीलाई जित दिलाउन रोहन मोक्तान, अंकित थापा र सन्तोष गोन्ग्बाले गोल गरे ।
पहिलो हाफको इन्जुरी समयमा रोहनको गोलमार्फत एनआरटीले अग्रता लिएको थियो।
अकिंतले ७१औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए। खेलको इन्जुरी समयमा सन्तोयाले गोल गर्दै एनआरटीलाई सहज जित दिलाए।