अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै


८ असार २०८१, शुक्रबार  

56
Shares

जुन २१ अर्थात् अन्तर्राष्ट्रिय योग दिवस। नेपालसहित विश्वभर मनाइँदैछ।

सरकारले दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ। समितिले भक्तपुरको सानोथिमीस्थित एसओएस बालग्राममा विशेष कार्यक्रम गर्दैछ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिका रूपमा सहभागी हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ। कार्यक्रममा सरकारका विशिष्ट पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि र योगाभ्यासकर्ता सहभागी हुनेछन् ।

मूल कार्यक्रमअघि पुरानो सिनामंगल, गठ्ठाघर, लोकन्थली र मध्यपुर थिमी चोकबाट बालग्रामसम्म प्रभातफेरी हुने मन्त्रालयका प्रवक्ता केशव दाहालले जानकारी दिए। 

मूल समारोह समितिको गत जेठ ३० गतेको बैठकले दिवसको आदर्श वाक्य ‘महिला सशक्तीकरणका लागि योग’ चयन गरेको थियो। बैठकले प्रदेश र स्थानीय तहमा पनि योग दिवस मनाउन पत्राचार गरेको छ। साथै विद्यालयस्तरमा दिवस मनाउन सबै शिक्षा विकास तथा समन्वय एकाइमार्फत विद्यालयहरूलाई अनुरोध गरेको छ।

संयुक्त राष्ट्रसंघको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ को जुन २१ देखि यो दिवस मनाउन थालिएको हो । महासभामा उक्त प्रस्ताव भारत सरकारले प्रस्तुत गरेको थियो। 

प्रकाशित मिति : ८ असार २०८१, शुक्रबार  ९ : २९ बजे