११ कात्तिक, गुल्मी । गुल्मी जिल्लामा चाडपर्वको समयमा ५९ वटा सवारीसाधनहरु दुर्घटनामा परेका छन् ।
गत असोज ६ गते दशैं सुरु भएदेखि कात्तिक ९ गतेसम्मको अवधिमा ४९ स्थानमा ५९ वटा साना–ठूला सवारीसाधन दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए ।
दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार यस वर्षको चाडपर्वको अवधिमा ट्रक, बस, टिपर, कार, एम्बुलेन्स, मोटरसाइकल, ईभी, स्कुटर, अटो र जीप गरी विभिन्न सवारी साधन दुर्घटनामा परेका हुन् । सबैभन्दा धेरै मोटरसाइकल दुर्घटनाका परेका छन् ।
चाडपर्वको समयमा क्षमताभन्दा बढी यात्रु राख्ने, तीव्र गतिमा सवारी साधन चलाउने गर्नाले अरू समयमा भन्दा सवारी दुर्घटना बढ्ने गर्दछ । तर, जिल्लामा भने चाडपर्वको समयमा ठूला दुर्घटना कम भएका छन् ।
ट्राफिक प्रहरीको सक्रियता र जनचेतना मुलक कार्यले दुर्घटना न्यूनिकरणमा केहि हदसम्म कम भएको प्रहरीले जनाएको छ । चाडपर्वको समयमा हुनसक्ने दुर्घटना न्यूनिकरण गर्न प्रहरी विभिन्न स्थानमा चेकजाँचलाई बढाएको थियो ।
सवारी साधनमा यात्रुको चाप हुन नदिन प्रहरीले सक्रियता बढाएको थियो । दुर्घटना लगायत अन्य सहजीकरणका लागि प्रहरीले जिल्ला भर २ दर्जन बढी स्थानमा सहायता कक्ष समेत स्थापना गरिएको थियो ।




