रञ्जन सिग्देल
उपप्राध्यापक, नेपाल संस्कृत विश्वविद्यालय
पूर्वीय साहित्य सिद्धान्तमा प्रसिद्ध ६ वटा प्रस्थानमध्ये सर्वोत्कृष्ट मानिएको रस प्राचीन, प्रचलित र दार्शनिक र मान्यता हो । यसै सिद्धान्तका कसीमा साहित्यिक रचनालाइ पर्गेल्ने गरिन्छ । अर्वाचीन नेपाली कवि पं भीमकान्त पन्थीद्वारा लिखित जगदीश्वर वैभवम् महाकाव्यलाइ पनि यसै सिद्धान्तको कसीमा समीक्षा गर्ने प्रयास यस लेखमा गरिएको छ । जगदीश्वर वैभवम् प्रसिद्ध पौराणिक पात्र ध्रुवको जीवनीमा आधारित छ । श्रीमद्भागवतमा रहेको ध्रुवचरितम् को कथावस्तु यस महाकाव्यको उपजीव्य स्रोत हो । ८ सर्गमा रचित यस महाकाव्यको सम्पूर्ण समीक्षा एउटा लेखमा समाविष्ट गर्न उपयुक्त नहुनाले यसको प्रथम सर्गको मात्र समीक्षा यस लेखमा गरिएको छ । प्रथम सर्गमा जम्मा ४८ श्लोक छन् । ती जम्मै श्लोकको विश्लेषण गर्दै कुन श्लोकमा कुन रस वा भावको प्राधान्य छ र कसरी छ भन्ने कुरा यस लेखमा देखाउन खोजिएको छ ।
शब्दकुञ्जिकाः श्रीमद्भागवत, ध्रुव, ब्रह्मा, रस, भक्ति
परिचय
जगदीश्वर वैभवम् आधुनिक कालीन नेपाली कवि पण्डित भीमकान्त पन्थीद्वारा लिखित संस्कृत महाकाव्य हो । यो वि.सं २०४८ लेखिएको र ७ वर्षपछि उनका सुपुत्र डा. लक्ष्मीकान्त पन्थीद्वारा वि.सं. २०५५ मा प्रकाशित गरिएको हो । संस्कृत वाङ्मयका विद्वान पन्थीद्वारा यस जगदम्बिका वैभवम्का अतिरिक्त जगदम्बिका वैभवम् (२०५६) र विविध पद्यावली (२०५६) गरी अन्य दुइ संस्कृत ग्रन्थ प्रकाशित छन् ।
जगदीश्वर वैभवम् श्रीमद्भागवतीय ध्रुवचरितम्मा आधारित पौराणिक राजा ध्रुवको बारेमा लेखिएको एक महाकाव्य हो । ध्रुवको बारेमा किंवदन्ती नेपालीमा पनि रहेको छ तर ध्रुवलाई एक राजाको रूपमा नभइ आकाशमा चम्किने ताराको रूपमा चित्रण गरिएको पाइन्छ । ध्रुव को हुन्? तिनीले कस्ता हण्डर खानु पर्यो र अन्ततः उनीलाई के प्राप्ति भयो भन्ने ध्रुवका जीवनगाथा श्रीमद्भागवतका अतिरिक्त विष्णुपुराणमा पनि रहेको छ । विषयवस्तुको प्रस्तुति, कथानकीय विन्यास आदिको आधारमा दाँज्दा जगदीश्वरवैभवम्मा रहेको ध्रुव कथा श्रीमद्भागवतीय नै रहेको ठहर्छ ।
संस्कृतकाव्यशास्त्रीय सिद्धान्तलाई अनुसरण गर्दै लेखिएको यस महाकाव्यको प्रारम्भ मंगलाचरणबाट हुन्छ । १ देखि ४ सम्मका श्लोकमा क्रमशः परब्रह्म, पितृ र गुरूहरूको बन्दना गरिएको छ । पाँचौ श्लोकदेखि १४ औं श्लोकसम्म प्रासङ्गिक कथा छ जसमा विश्वसृष्टि प्रकिया र ध्रुवका वंशपरम्पराका बारेमा चर्चा गरिएको छ । आधिकारिक कथा १५ औं श्लोकबाट प्रारम्भ भएर ४८ श्लोकसम्म तन्किएको छ । यसमा ध्रुव आफ्ना भाइ उत्तमसित खेलेको, खेल्दै गर्दा उनलाइ सौतेनी आमाले हेँला गरेको, त्यसको प्रतिवाद गर्न नसकेर उनकी आमाले पनि तपस्या गरी उत्तमको भन्दा पनि ठूलो पद पाउनका लागि सल्लाह दिएको, सो सल्लाह अनुसार तपस्या गरेर वरदान प्राप्त गर्नका लागि ध्रुवको वन प्रस्थान गरेको, बाटामा नारदमुनिसितको भेट भएको, नारदमुनिले घर फर्काउन गरेको प्रयास गरेको, ध्रुवको नमानेपछि, अन्ततः नारदले उनलाइ मार्गदर्शन गरेको घटना वर्णन गरिएको छ ।
समस्याकथन
जगदीश्वर वैभवम् ८ सर्गमा रचित महाकाव्य हो । यसमा समग्रमा ३१० श्लोकहरू छन् । ती सम्पूर्ण श्लोकको अध्ययन गरी हरेकमा कुन कुन रस वा भाव छन् भनेर अनुसन्धान गर्नु एउटा लेखमा सम्भव नहुने हुनाले अध्ययनको लागि प्रथम सर्ग मात्र छानिएको छ । अतः यो लेख निम्नलिखित समस्यमा केन्द्रित रहेको छ ।
रस भनेको के हो र भाव भनेको के हो? यिनमा के भिन्नता छ र यी कतिवटा छन् ?
यो महाकाव्यको प्रथम सर्गमा कुन कुन श्लोकमा कुन कुन रस वा भाव छन् र ती कसरी अभिव्यक्त छन् ?
उद्देश्य
जगदीश्वर वैभवम् महाकाव्यमा रस शीर्षकको यस अनुसन्धानमूलक लेखको उद्देश्य निम्नानुरूप रहेको छ ।
रस सिद्धान्तको संक्षिप्त परिचय दिनु ।
यस महाकाव्य प्रथम सर्गमा कुन कुन श्लोकमा कुन कुन रस वा भाव छन् त्यसको निरूपण गर्नु ।
अध्ययनविधि
साहित्यका सिद्धान्तमध्ये रस एउटा प्रतिष्ठित सिद्धान्त हो । साहित्यका सिद्धान्तहरू वस्तुगत तथ्यहरूको विश्लेषणमा आधारित नभएर वैचारिक विश्लेषणमा आधारित हुन्छन् । तिनै सिद्धान्तमध्येको बहुप्रचलित रसका आधारमा यस लेखको विश्लेषण गर्ने उद्देश्य रहेकोले यस लेखमा गुणात्मक विधि अपनाइएको छ ।
तथ्याङ्कसंकलन
तथ्याङ्कै आधारमा शोध गरिने हुनाले तथ्याङ्कको संकलन एक महत्वपूर्ण पक्ष हो नै । जगदीश्वर वैभवम् महाकाव्यको रसशास्त्रीय विश्लेषण गर्नु यस लेखको उद्देश्य रहेको हुनाले सामग्री संकलनको लागि प्राथमिकभन्दा द्वितीय नै यस लेखमा बढी उपयोग गरिएको छ। तैपनि यथावश्यक कविका निकटतम आफन्तसँग पनि प्रत्यक्ष परामर्श लिइएको छ ।
अध्ययनको सीमा
पं. भीमकान्त पन्थीद्वारा लिखित यस महाकाव्यको बारेमा उनीद्वारा लिखित अर्को महाकाव्य जगदम्बिका वैभवम्को बारेमा झैँ विस्तृत अध्यय भएको देखिँदैन । प्राच्यकाव्यशास्त्रमा स्थापित छ प्रस्थान (रस, ध्वनि, गुण, अलंकार, रीति, वक्रोक्ति) मध्ये कुनै पनि पक्षबाट अध्ययन नभएको यस काव्यमा वस्तुतः सर्वाङ्गीण अध्ययन हुनु जरूरी देखिन्छ । सर्वपक्षीय अध्ययन एउटा लेखमा समेट्न संभव हुँदैन नै । कुनै एउटै मात्र सिद्धान्तका आधारमा अध्ययन गर्दा पनि महाकाव्यमा निहित समग्र श्लोकको अध्ययन एउटै लेखमा असंभव हुन्छ अतः यो लेख जगदीश्वर वैभवम् महाकाव्यको प्रथमा सर्गमा मात्र केन्द्रित छ । प्रथम सर्गमा रहेका श्लोकहरूको मात्र अध्ययन गरी तिनमा निहित रस वा भावको निरूपण गर्नु यस लेखको सीमा रहेको छ ।
कथाका मुख्य पात्र राजकुमार ध्रुव रहेका छन् । सहायक पात्रमा ध्रुवकी आफ्नी आमा सुनीति, सौतेनी आमा सुरुचि, उनका बुबा राजा उत्तानपाद, सौताने भाइ उत्तम, कुबेर, यक्षगण, इन्द्र, देवादि गण रहेका छन् ।
पूर्वकार्यको समीक्षा
पं. भीमकान्त पन्थीद्वारा लिखित जगदम्बिका वैभवम् महाकाव्यको बारेमा अध्ययन भए पनि यस जगदीश्वर वैभवम् महाकाव्यको अनुसन्धानमूलक अध्ययन भएको देखिँदैन । डा. महानन्द तिमिल्सिना (२०७३) ले विद्यावारिधि प्रयोजनका लागि गर्नुभएको “जगदम्बिका वैभवम्महाकाव्यस्य साहित्यिकमनुशीलनम्” मा प्रस्तुत जगदीश्वर वैभवम् महाकाव्यको बारेमा ९ वटा विभिन्न शास्त्रीय आधारमा समीक्षा पार्नुभएको छ । यसमा उनले महाकाव्यको संक्षिप्त परिचयपश्चात् यसको कथास्रोत, महाकाव्यत्व, उद्देश्य, कथावस्तु, चरित्रचित्रण, छन्दप्रयोग, अलङ्कारप्रयोग, रसादिगुणप्रयोग शीर्षकमा छोटकरीमा भएपनि समीक्षा गरेका छन् ।
त्यसै महाकाव्यको भूमिकाखण्डमा डा. टीकाराम पन्थीले “जगदीश्वरमहाकाव्यस्य संक्षिप्तः परिचयः” शीर्षकमा ८ पृष्ठमा महाकाव्यको वैशिष्ट्य सिद्ध गरेका छन् । उनका उपशीर्षकहरू यस प्रकार छन् : (क) लुम्बन्यञ्चलस्थगुल्मीमण्डललीयसंस्कृतकविर्भीमकान्तः (ख) जगदीश्वरवैभवम्महाकाव्यम् तद्वैशिष्ट्यञ्च (ग) जगदीश्वरवैभवमिति नाम्नः साफल्यं सार्थकत्वञ्च । त्यसै भूमिका खण्डमा डा विष्णुराज आत्रेयले “कवि पं. भीमकान्त पन्थी : परिचय र काव्ययात्रा शीर्षकमा आठै पृष्ठमा विभिन्न उपशीर्षकमा कवि पन्थी र उनको काव्ययात्राको समीक्षा गरेका छन्।
गुल्मीबाट जिल्लाको किरण पुस्तकालयबाट प्रकाशित हुने पत्रिका “हाम्रो पुरूषार्थ” ले पं. पन्थीको शतवार्षिकीलाई लक्षित गर्दै पं. भीमकान्त पन्थी शतवार्षिक स्मृति विशेषाङ्क (वर्ष ४८, अंक २, सम्पूर्णाङ्क ८९, माघ-चैत्र २०७७) प्रकाशित गरेको छ । ६५७ पृष्ठमा रहेको त्यस पत्रिकमा पं. पन्थीका बारेमा संस्मरण र समीक्षा गरी ९१ लेख प्रकाशित छन् । प्रा.डा. वेणीमाधव ढकाल, प्रा.डा. विष्णुराज आत्रेय, डा. हरिहर शर्मा अर्याल, डा. महानन्द तिमिल्सिना, डा. प्रेम प्रसाद चौलागाइँ, सीता रिजालद्वारा लिखित लेखहरूले धेरथोर यस महाकाव्यका बारेमा प्रकाश पारेका छन् । त्यसमा डा. हरिहर शर्माले “जगदीश्वरवैभवम् महाकाव्य विहङ्गम दृष्टिमा” शीर्षकको लेखमा यस महाकाव्यको विविध पक्षमा संक्षिप्त प्रकाश पारेका छन् ।
शोधको औचित्य
जगदीश्वर महाकाव्यको अद्यावधि अनुसन्धानमूलक अध्ययन भएको देखिँदैन । यसर्थ यस महाकाव्यको जुनसुकै पक्षमा केन्द्रित भएर अथवा साहित्यको जुनसुकै सिद्धान्तका आधारमा विश्लेषण गरे पनि त्यस अध्ययन/विश्लषणको औचित्य सिद्ध हुन्छ। रस सिद्धान्तका आधारमा गरिने यस अध्ययनबाट उत्तरकालीन अनुसन्धातालाई निजको अध्ययनमा सहयोगी हुने हुनाले यस शोध अध्ययनको औचित्य सिद्ध हुन्छ ।
जगदीश्वरवैभवम्को कथावस्तु
महाकाव्यमा शास्त्रीय मान्यता अनुसार आधिकारिक र प्रासङ्गिक दुइ किसिमका कथा हुन्छन् l यो आधिकारिक कथा शुरूदेखि अन्तसम्म कथा एकनास श्रृङ्खलित भइरहन्छ । आधिकारिक कथा वास्तवमा मूल कथा हो भने बेलाबेलामा यथाप्रसंग आउने कथा प्रासङ्गिक कथा हो प्रासङ्गिक कथा आधिकारिक कथा झैँ प्रारम्भदेखि अन्तसम्म एकैनास बग्दैन । बिचमा प्रसङ्गवश आउँछ र जान्छ । जगदीश्वरवैभवम्मा पनि ध्रुवकै जीवनमा आधारित कथा आधिकारिक वा मूल कथा र प्रसंग अनुसार विचमा थपिएको वा सहायक कथा गरी यी दुवैथरि कथा छन् । प्रासंगिक कथा पहिलो सर्गमा मात्र छ भने बाँकि सबै सर्गमा आधिकारिक कथा छ । यी कथाको संक्षेप यस प्रकार छः
मूल / आधिकारिक कथा
स्वायम्भुव मनुका अर्का सन्तान उत्तानपाद राजाका दुइ रानी थिए – सुरूचि र सुनीति । सुरूचि कान्छी थिइन् र राजाकी प्रिय थिइन् । उनको एउटा छोरो थियो – उत्तम । करिब उत्तमकै उमेरको, अलिकति जेठो, सुनीतिको कोखबाट जन्मेको अर्को छोरो थियो – ध्रुव । एकदिन दाजु ध्रुवसँग खेल्दाखेल्दै उत्तम राज सिंहासनमा आसीन आफ्ना बुबाका काखमा बस्न गयो । ध्रुव पनि बाल स्वभाववश भाइ झैँ राजाका काखमा बस्न गए । सौताको छोरो बाबुको काखमार्फत् भए पनि राजगद्दीमा बसेको खप्न नसकेर सुरूचिले ध्रुवलाई भुइँमा झार्दै त्यस आसनमा बस्नको लागि आफ्नै कोखबाट जन्मेको हुनुपर्ने र त्यसो हुनका लागि गएर तपस्या गर्न भनिन् । सौतेनी आमाको त्यस्तो रूखो व्यवहारले बालक ध्रुवको मनमा चोट पर्यो । सौताको व्यवहारबाट क्रुद्ध भएकी सुनीतिले आफ्नो बोलीले छोरालाई वन जान प्रेरित गर्छ भन्ने कुरा हेक्का नराखीकन ध्रुवलाई तपस्या गर्न प्रेरणा दिइन् । त्यसपछि बालक ध्रुव आमालाई थाहै नदिइ सुटुक्क तपस्या गर्न भनी घरबाट निस्के । बाटामा नारन मुनि भेटिए । मुनिले ध्रुवको बाल्यकाल र तपस्याको कठिनताबारे बताउँदै उनलाई घर फर्काउन प्रयास गरे तर सकेनन् । त्यसपछि नारदले तपस्या गर्नका लागि उपयुक्त स्थान र विधानका बारेमा उपदेश दिए र आफू राजा उत्तानपादको दरबारतिर लागे । दरबारमा राजा उत्तानपादले आफ्नो जोइटिंग्रेपनप्रति पश्चात्ताप गर्दै ध्रुवको बारेमा पीर मान्दै बसेका थिए । नारदमुनिले उनलाई ध्रुव सुरक्षित रहेको र तपस्याबाट कुलदीपक भएर छिट्टै फर्कने जानकारी दिए । राजाको मनमा राहत भयो । उता ध्रुवको पनि कठिन तपस्याबाट भगवान् विष्णु प्रसन्न हुनुभयो र उनलाई ध्रुवलोकको वर दिनुभयो । ध्रुव घर फर्के । राजाले ध्रुवलाई राज्यभार दिए र आफू वानप्रस्थी भए । केही समयमा उनी दिवंगत भए प्रजापतिकी छोरी भ्रमिसँग ध्रुवको विवाह भयो । उनीबाट ‘कल्प’ र ‘वत्सर’ गरी दुइ सन्तान जन्मे । पछि वायुकी छोरी ‘इला’सँग विहा भयो । उनीबाट ‘उत्कल’ भन्ने छोरा जन्मे । ध्रुवका भाइ उत्तम पनि शिकार गर्न जाँदा राजा कुवेरका यक्षगणसँग झगडा भयो । त्यही झगडामा उत्तम मारिए । पुत्रशोकले गर्दा सुरूचि पनि मरिन् । आफ्नो भाइलाई मारिदिएपछि क्रुद्ध हुँदै अलकापुरीमा एक्लै जाइलागे । ध्रुवले धेरै यक्षहरूलाई मारिरहेको देखेपछि ध्रुवका हजुरबुबा ब्रह्माजी आएर उनलाई सम्झाउँदै युद्धबाट विरत गराउनु भयो । यक्षहरूका राजा कुबेरले ध्रुव वीतराग भएको ठानी उनलाई भेट्न त्यहीँ आए । उनले पनि ध्रुवलाई भगवद्भक्ति र वैराग्यको शिक्षा दिँदै अविचल विष्णुभक्तिको वरदान दिए । ज्ञानी ध्रुव आफ्नो राज्य (बर्हिष्मती पुरी) मा फर्के । ३६००० वर्षसम्म राज्य गरेर आफ्ना पुत्रलाई राज्यभार दिए र आफू बदरिकाश्रम गइ समाधिमा लीन भए । केही समयपछि भगवान् विष्णुका पार्षद् आए र उनलाई ध्रुव लोक लिएर गए ।
प्रासङ्गिक / सहायक कथा
सृष्टि गर्न भनी भगवान् विष्णुले ब्रह्माजीलाई नियुक्त गर्नुभयो । ब्रह्माजीले पनि निकै प्रयास गर्नुभयो तर सक्नुभएन । नसकेपछि ब्रह्माजीले भगवान् विष्णुलाई नै स्तुति गर्नुभयो । दयालु भगवान् विष्णुले ब्रह्माजीलाई शक्ति दिनुभयो र त्यही शक्तिद्वारा ब्रह्माजीले यो सारा जगत्को सृष्टि प्रकिया प्रारम्भ गर्नुभयो तर दुर्भाग्यवश यस्ता ऋषिमुनि र देवताहरूलाई सिर्जना गर्नुभयो जसले यस प्रक्रियालाई निरन्तरता दिएनन् । ब्रह्माजी व्याकुल हुनुभयो । त्यसैबखत उनको शरीर दुइ खण्डमा टुक्रियो जसमा एकखण्ड पुरूष र अर्को खण्ड स्त्री बने । पुरूष खण्डबाट स्वायम्भुव मनु र स्त्रीखण्डमा शतरूपा उत्पन्न भइन् । स्वायम्भुव मनुले सृष्टि प्रक्रिया प्रारम्भ गर्नका लागि भगवान् विष्णुका तपस्या गर्न थाले । तपस्या गर्न लागेको १०० वर्ष पुग्दा दैत्यहरू उनलाई मार्न भनी आए । त्यसैबेला भगवान् विष्णु प्रकट भइ ती दैत्यहरूलाई संहार गर्नुभयो र मनुलाई मन्वतरको राज्य वरको रूपमा दिनुभयो । पत्नी शतरूपाका गर्भबाट मनुले प्रियव्रत र उत्तानपाद गरी दुइ सन्तान उत्पादन गरे । प्रियव्रतका पछि गएर दशभाइ छोरा जन्मे जसमध्ये तीन छोरा वैरागी भए । अन्य सातजना छोरालाई सातवटा द्विपमा राज्य बाँडी जीवनको उत्तरार्धमा वैराग्य धारण गरे । वैराग्य धारण गर्नुअघि उनले ११००००००००० (एघार अरब) वर्ष राज्य गरे ।
रसको परिचयः
संस्कृत समीक्षाशास्त्रमा रस यस्तो प्राचीन सिद्धान्त हो जुन सैद्धान्तिक रूपमा करिब पूर्णता प्राप्त गरे पनि करिब ६०० वर्षसम्म अस्तित्वविहीन रूपमा रह्यो । ६०० वर्षपछि अस्तित्वमा यी आए पनि आफ्नो पहिचान हराएर आयो । इसाका छैँठौँ शताब्दितिरका अलङ्कारशास्त्री भामहले उनको “काव्यालंकार” ग्रन्थमा रसको बारेमा चर्चा गरे पनि यसलाई पूर्णतः अलंकारभित्र सीमित गर्दै त्यसैको एक सानो प्रकारको रूपमा परिभाषित गरे ।
भरतमुनिकृत इ.पु. पहिलो शताब्दिको पहिलो र विशद नाट्यशास्त्रीय ग्रन्थ “नाट्यशास्त्रम्” मा नाट्यसम्बद्ध सम्पूर्ण पक्षको विस्तृत रूपमा बारेमा वर्णन भएको छ ।
रस शब्द पारिभाषिक मात्र नभएर एक बहुअर्थी शब्द हो । त्यसका विभिन्न परिवेशमा विभिन्न अर्थ हुन्छन् । जस्तै वेदान्त दर्शनमा रस भन्नाले परब्रह्म बुझिन्छ[1]। आयुर्वेदमा रस शब्दले जनाउँछ । लौकिक औषधीय गुण बुझाउँछ । व्यवहारमा रस शब्दले तीतो, अमिलो, टर्रो, पीरो आदि जिभ्राको स्वादलाइ बुझाउँछ र साहित्यमा रसले श्रृंगारादि नवरस अर्थात् मनको भावलाइ बुझाउँछ । यसको आस्वादलाइ साहित्यमा योगीहरूले समाधिमा प्राप्त गर्ने अलौकिक आनन्दसँग तुलना गरिएको छ[2] । यो रस कसरी उत्पन्न हुन्छ र कसले अनुभव गर्छ भन्ने बारेमा पनि ठूलै शास्त्रार्थ भएको देखिन्छ । त्यो शास्त्रार्थ मुख्यतः भरतमुनिको नाट्यशास्त्रमा वर्णित रससूत्र “विभावानुभावव्यभिचारिसंयोगाद्रसनिष्पत्तिः” मा प्रयुक्त “संयोगाद्” र “निष्पत्ति” शब्दमा केन्द्रित छ । विभिन्न दार्शनिक पृष्ठभूमिका विद्वान्हरूले आ- आफ्नै मतानुसार अर्थ्याउने प्रयास गरेका छन् । तीमध्ये मीमांसक भट्टलोल्लजटको उत्पत्तिवाद, नैयायिक श्रीशङ्कुकको अनुमितिवाद, साङ्ख्यशास्त्री भट्टनायकको भुक्तिवाद, र अभिव्यञ्जनावादी अभिनवगुप्तका अभिव्यक्तिवाद मत प्रसिद्ध छन् । त्यसैगरी रसको संख्यामा पनि मतान्तर रहेको छ ।
भरतमुनिकृत् नाट्यशास्त्र नाट्यसँग सम्बद्ध भौतिकदेखि कलात्मक पक्ष जस्तै रंगमञ्च निर्माणदेखि रससिद्धान्तसम्मको प्रथम र मानक ग्रन्थ हो । यसमा रसको संख्या निम्नानुसार ९ वटा रहेको बताइएको छः १. श्रृङ्गार २. वीर ३. करूण ४. अद्भुत ४. रौद्र ५. हास्य ६. बीभत्स ७ वीर ८.भयानक र शान्त । तर यहाँ उल्लेखनीय कुरा के छ भने भरतमुनिले तोकेका ८ रसमा कसैको विमति नभए पनि उनैको भनिएको नवौँ रसमा भने विद्वानहरू एकमत भएको देखिँदैन । कतिपयले शान्तरस अभिनवगुप्तले पछिबाट नाट्यशास्त्रमा थपेका हुन् भन्दछन् । हुनपनि शातन्तरस सिद्ध गर्न त्यहाँ अभिनवगुप्तले गरेको कसरत पठनीय छ[3] । भरतमुनिले ८ रस मात्रै उल्लेख गरेका र शान्तरस पछि आएर मूलपाठमा थोपरिएको भन्ने तर्क पाश्चात्य संस्कृतविद् सेल्डन पोलकको[4] र डा नगेन्द्रको छ[5] । अन्यत्र रहेको मूलपाठको भाषिकशैली र शान्तरसको प्रसङ्गमा देखिएको शैलीबिचको भिन्नता हुनु त्यसैगरी अन्य रसका अधिदेवता र रङ्को वर्णन हुनु र शान्तको नहुनुले मूलपाठमै अभिनवगुप्तले प्रक्षेप गरेको हुनसक्ने पोलक र नगेन्द्रको दाबी सही देखिन्छ । शान्त रसबाहेक अन्य रसको सङ्ख्यामा पनि आचार्यहरूबिच मतान्तर रहेको देखिन्छ । भक्तिरसामृतसिन्धुकार रूपगोस्वामी (१४८९-१५६४) का अनुसार भक्तिरस एउटा प्रमुख रस हो । रस्वतीकण्ठाभरणकार भोजराजले प्रसिद्ध नवरसका अतिरिक्त प्रेय, उदात्त, उद्धत रस थपेका छन्[6] । काव्यानुशासनकार हेमचन्द्रले थप स्नेह, लौल्य र भक्ति रसको उल्लेख गरेका छन्[7] । नाट्यदर्पणकार रामचन्द्र गुणचन्द्रले अझ त्यसैमा व्यसन, सुख र दुख गरी ३ प्रकारका थप रसको चर्चा गरेका छन्[8] आचार्य विश्वनाथले उपर्युक्त ९ रसमा वात्सल्य रसलाइ अतिरिक्त रसका रूपमा थपेका छन् [9]। भक्ति र शान्तरसबारेमा पनि विभिन्न मत पाइन्छ । कतिपयले देवादिवियषक रति[10] भनेर भक्तिलाइ रसको श्रेणीमै नराखेर भाव मात्र मानेका छन् । भट्टलोल्लट आदि कतिपयले रसको संख्या अनन्त मानेका छन्[11] l
यी ८ देखि ११ रस मान्नेदेखि बाहेक एकरसवादीहरू पनि छन् । त्यस्ता एकरसवादीका अग्रज पनि भरत नै हुन् । उनी शान्तरसवादी हुन् । उनका अनुसार शान्तरसबाटै विभिन्न माध्यमबाट अन्य रस जन्मेको र पुनः ती सबै शान्तमै लीन हुन्छन्[12] । नाटककार भवभूतिले करूणरसलाइ मुख्य रस मानेका छन्[13] । साहत्यशास्त्री भोजराजका अनुसार श्रृङ्गार मात्र एक रस हो[14] । आचार्य विश्वनाथले आफ्ना जीबा नारायणको अद्भुत रस मात्रै रस हुने भन्ने मान्यतालाइ अनुमोदन गरेका छन्[15] । भक्तिरससम्प्रदायका रूपगोस्वामीहरूले सबै रसलाइ भक्तिरसमा लगेर समाहित गरेका छन् । यस बाहेक अनन्तरसवादी आचार्य पनि छन् । रूद्रट, लोल्लट र भोजरा आदि यस अनन्त रसपक्षपाती मानिन्छन्[16] ।
भाव
मनमा रहेको भाव नै उत्कर्षमा पुगेको अवस्थालाइ रस भनिन्छ । तसर्थ रस भनेको वास्तवमा भाव नै हो । भाव नै नभए रस हुने कुरै भएन । यस सम्बन्धमा एउटा प्रसिद्ध भनाइ विश्वनाथले साहित्य दर्पणमा उद्धृत गरेका छन् – भाव नभए रस हुन्न र रस नभए भाव हुन्न अतः यी दुइ एक अर्कासँग अन्योन्य सम्बन्धमा आबद्ध छन्[17] । उनका अनुसार भावले नै (अभिनय सम्बद्ध) रसलाइ भावित गर्छन् अर्थात् रस सृजना गर्छन् त्यसैकारणले गर्दा नै यिनलाइ भाव भनिएको हो । यहाँ विश्वनाथले व्यभिचारी वा सञ्चारी भावको सत्ता स्थापित गर्नका लागि निकै घतलाग्दो तर्क प्रस्तुत गरेका छन् ।
यी भावहरू स्थायी, सञ्चारी र सात्विक गरी तीन किसिमका हुन्छन्[18] । काव्य पढ्दा वा नाटक हेर्दा यी भावहरूमध्ये जुन भाव मानिसको दोहोरिइरहन्छ अथवा स्थिर रूपमा मनमा रहिरहन्छ त्यस्ता भावलाइ स्थायी भाव मानिएको छ । त्यस्ता स्थायी भावहरू ९ वटा मानिएका छन् : १. रति २. हास, ३. शोक ४. क्रोध ५. उत्साह ६. भय ७. जुगुप्सा ८. विस्मय ९. शम । यिनै भावहरू उद्रिक्त अवस्थामा पुगे क्रमशः १. श्रृङ्गार २. वीर ३. करूण ४. अद्भुत ४. रौद्र ५. हास्य ६. बीभत्स ७ वीर ८.भयानक र शान्त गरी नौ वटा रस हुने मानिएको छ । त्यसैगरी जुन भाव दोहोरिइरहन्न बरू सञ्चरण वा व्यभिचरण गर्छ अर्थात् स्थिर रूपमा नरहेर उदाउने अस्ताउने गर्छ त्यस्ता भावलाइ सञ्चारी वा व्यभिचारी भाव भनिएको छ । यी सञ्चारी / व्यभिचारी भावहरू शास्त्रीय परम्परा अनुसार ३३ वटा छन् । आधुनिक मनोविद्हरूका मत अलि फरक छ । उनीहरूका अनुसार घटना वा परिवेश अनुसार मानिसको मनमा एकै निमेषमा अनेक भाव आउने र हराउने गर्छन् तसर्थ मनका भावहरूलाइ कुनै संख्यामा बाँध्न संभवतः सकिँदैन र बाँध्न हुँदैन । तथापि शास्त्रीय परम्परा अनुसार मानिएका ३३ वटा हरू यस प्रकार छन्: १.निर्वेद, २.आवेग, ३.दैन्य, ४.श्रम, ५.मद, ६.जडता, ७.उग्रता, ८.मोह, ९.विबोध, १०.स्वप्न, ११.अपस्मार, १२.गर्व, १३.मरण, १४.आलस्य, १५.अमर्ष, १६.निद्रा, १७.अवहित्था, १८.औत्सुक्य, १९.उन्माद, २०.शङ्का, २१.स्मृति, २२.मति, २३.व्याधि, २४.त्रास, २५.व्रीडा, २६.हर्ष, २७.असूया, २८.विषाद, २९.धृति, ३०.चपलता, ३१.ग्लानि, ३२.चिन्ता, ३३.वितर्कः हुन् ।
यसैगरी सत्वबाट उत्पन्न हुने भावलाइ सात्विक भाव भनिएको छ[19] । सत्वलाइ परिभाषित गर्दै विश्वनाथ भन्छन् ‘सत्व भनेको पाठक वा भावकको मनमा रहने एउटा मनको धर्म हो जसले रसलाइ प्रकाशित गर्छ[20] । यो भाव ८ थरी हुन्छ: १.जडवत् हुनु २.पसिना आउनु ३.रौँ ठाडा हुनु ४.बोली फेरिनु ५.काम्नु ६.शरीरको रङ् उड्नु ७. आँसु आउनु ८. ढल्नु ।
यी त भए भावहरू । यदि भाव नै रस हुने भए रस र भावमा के फरक भयो त भन्ने प्रश्न आउँछ । यसको उत्तरमा विश्वनाथ भन्छन् – विभाव, अनुभाव र सञ्चारी भावहरू सबै मिलेर अभिव्यक्त हुने स्थायी भाव रस हो[21] भने प्रधान वा प्रमुख रूपले अभिव्यक्त भएको सञ्चारि भाव वा देवादि विषयक रति भाव हो[22]।
देवादि विषयक रति
देवादि विषयक रतिका विषयमा विश्वनाथका उत्तरवर्ती रूपगोस्वामी मधुसूदन सरस्वतीहरूका मत भने फरक छ । उनीहरूले देवविषयक रतिलाइ भाव नमानेर मूल रस र शृङ्गारादि अन्य रसलाइ त्यस भक्ति रसका परपोषक मानेका छन्[23] ।
रसभावदेखि बाहेक आख्यानात्मक काव्यमा रसाभास, भावाभास, भावोदय, भावशान्ति, भावसन्धि र भावशबलता पनि हुन्छन् । यस विवेच्य प्रथम अध्यायमा यीमध्ये कुनै पनि वर्ग नरहेका हुँदा यिनको चर्चा गरिएको छैन ।
जगदीश्वरवैभवम् महाकाव्यमा रस र भाव (प्रथम सर्ग)
संस्कृत साहित्यमा स्थापित महाकाव्यीय मापदण्डभित्र रहेर रचिएको हुनाले यसलाइ महाकाव्य भनिएको हो ।[24] महाकाव्य आख्यानात्मक हुन्छ । आख्यान भन्ने बित्तिकै त्यसमा कथानक र पात्रहरू आइहल्छन् । त्यसै अनुरूप विविध रस र भावहरू पनि हुने नै भए । विविध रसमध्ये पनि एउटा मुख्य वा अङ्गी रस हुन्छ र अन्य गौण वा अङ्ग रस हुन्छन् । आख्यानमा वर्णित सम्पूर्ण परिवेशसँग अनुस्यूत भइरहने र प्रसङ्ग अनुसार कतै उद्भुत त कतै अनुद्भुत रूपमा आद्योपान्त रहिरहने रस मुख्य / अङ्गी रस हो भने खासखास प्रकरणमा आउने र हराउने रसलाइ अङ्ग रस भनिन्छ । यस महाकाव्यमा कुन रस अङ्गी रस होला भन्ने विषय यस महाकाव्यको शीर्षकबाटै अनुमान गर्न सकिन्छ । यो महाकाव्य प्रसिद्ध पौराणिक राजा ध्रुवको बाल्यावस्थादेखि करिब उनको अन्त्यावस्थासम्म उनले भोग्नु परेका संघर्षलाइ र सुखानुभूतिको वर्णनमा केन्द्रित हुनाले यस महाकाव्यलाइ “जगदीश्वरवैभवम्” भन्दा ध्रुवचरितम्, ध्रुवकथा वा यस्तै ध्रुवलाइ केन्द्रमा राखेर अन्य कुनै शीर्षक राखिएको भए बढी सार्थक हुन्थ्यो । तैपनि जगदीश्वरवैभवम् नै राख्नुको कारण उनको जगदीश्वरप्रतिको भक्तिभाव हो भन्ने कुरा स्वतः स्पष्ट हुन्छ र कवि आफैले यो कुरा व्यक्त गरेका छन्[25] । भगवत्भक्तिबाट प्रेरित भएर नै उनले जगम्बिकावैभवम् महाककाव्य र त्यसपछि यो जगदीश्वरवैभवम् लेख्न प्रारम्भ गरेको भन्ने कुरा त्यस भूमिका खण्डमा व्यक्त गरेका छन्[26] । तसर्थ यो महाकाव्य मूलतः एक भगवद्भक्तिपरक महाकाव्य हो । भगवद्भक्ति भन्नु र देवविषयक रति भन्नु एउटै कुरो हो । देवादिविषयक रतिलाइ रस नभनेर भाव भनिने हुँदा यस महाकाव्यको विश्लेषण गर्दा वास्तवमा कुन कुन श्लोकमा सो भाव उद्भुत छन् भनेर गर्नुपर्ने हो तैपनि पूर्वीय साहित्य सिद्धान्तमा रस यति प्रख्यात छ कि यसलाइ उल्लेख नगर्दा प्रतिपाद्य विषय नै अस्पष्ट जस्तो हुने हुँदा रसलाइ पनि शीर्षकमा भावसँगै राखिएको छ । भगवद् भक्ति यस महाकाव्यको अङ्गी रस भए पनि आख्यानको विषयवस्तु अनुरूप भक्ति इतर अन्य भावहरू पनि आउनु स्वाभाविक हो । यसरी प्रसङ्गवश आउने भावहरू पनि यति धेरै हुन्छन् कि परम्पराले निर्दिष्ट गरेका संख्या (३३व्यभिचारी, +८स्थायी, +८सञ्चारी = ४९ भाव) लाइ अतिक्रमण गर्छन् । यहाँ श्लोकहरूको विश्लेषण गर्दा सकेसम्म यिनै स्थापित भावका आधारमा गरिएको छ । जुन जुन श्लोक वा प्रसंगमा यी परम्परित भावहरूले प्रतिनिधित्व गर्न सक्दैनन् तिनमा नवीन भावको कल्पना गरिएको छ ।
प्राच्य शास्त्रीय नियमानुसार कुनै पनि ग्रन्थ रचना गर्दा मंगलाचरण बाट शुरू गर्नुपर्छ । यस मंगलाचरणलाइ यसको स्वरूप अनुसार यसलाइ नमस्क्रियात्मक, आशीर्वादात्मक र वस्तुनिर्देशनात्मक गरी ३ किसिममा विभाजन गरिएको छ । जगदीश्वरवैभवम् को प्रारम्भका ५ वटा श्लोकमा मंगलाचरण गरिएको छ । ती ५ वटामध्ये पनि शुरूका दुइवटामा परब्रह्मको स्तुति तेस्रो र चौथो श्लोकमा आफ्ना पितृ र गुरूको स्तुति गरिएको छ । यिनमा देवविषयक र गुरू विषयक रति उद्भुत अवस्थामा रहेको छ ।
देवविषयक रति (श्लोक १)
मंगलाचरणको पहिलो श्लोक[27]को नेपाली अनुवाद कवि स्वयंले यसरी गरेका छन्: “जुन देवताले ब्रह्मा भएर जगत्को सृष्टि गर्छन्, जो विष्णु भएर पालन गर्दछन् र जो शिव भएर संहार गर्दछन् यो सबै मायाका साथले गर्दा भएको हो । एक्लै समर्थ छैनन् । जुन देवता ‘आँखा नभएका किन्तु अनन्त आँखा हुने, धेरै शिर भएका, जुन देवता हात पाउ नभएका किन्तु वेगवान् छन्’ भनेर वेदले बताएका छन् अन्यथा होइन । त्यस्ता परब्रह्मलाइ नमस्कार गर्छु” ।
यस श्लोकमा कविको परब्रह्म विषयक रति स्पष्टतया अभिव्यक्त छ । सो देवविषयक रतिलाइ दुइवटा भाव: विस्मय र मति भाव ले विकसित पारेका छन् । कसरी पारेका छन् त भन्ने बुझ्न एक एक गरेर हेरौँ :
विस्मय
विस्मय मुख्य रूपमा अद्भुत रसको स्थायी भाव हो । स्थायी भनिएका भावहरू पनि यदि स्थायी रूपमा नरहेर सञ्चारी भाव जस्तो उत्पन्न हुने र हराउने गरेमा स्थायी भनिएका भाव पनि सञ्चारी भाव हुन्छन्[28]। यहाँ विस्मय देवविषयक रतिका लागि सञ्चारी भावका रूपमा आएको छ । यहाँ श्लोकको पहिलो र दोस्रो पाउमा एउटै देवताका तीनवटा रूप भएका र यो सम्पूर्ण जगत्को सृष्टि, पालन र संहार गर्ने क्षमता पनि उनमा रहेको भनिएको छ । एउटै व्यक्तिमा यति धेरै क्षमता हुनु निश्चय नै आश्चर्यजनक कुरा हो । अझ विशेष गरेर तेस्रो पाउमा रहेको “तिनका आँखा छैनन् तर अनन्त कुरा देख्छन्, हातगोडा छैनन् तर दगुर्छन्, तिनका टाउका पनि धेरै छन्” वाक्यांशले पाठकलाइ झन् धेरै विस्यमान्वित बनाउँछ । यस्ता विशेषता भएका ती कस्ता जन्तु रहेछन् भन्ने विस्मयात्मक भाव पाठकका मनमा उदाउँछ ।
धृति
धृति भन्नाले यथार्थ ज्ञान वा अभीष्ट प्राप्तिबाट हुने अभिलाषाको पूर्णता हो[29] । अर्थात् खोजेको कुरा पूरा भइसकेपछि हुने शान्त अवस्था धृति हो । यहाँ माथि भनिएका सम्पूर्ण विस्मयकारी विषय यस श्लोकको अन्तिम पाउमा गएर टुङ्गिन्छ । “यस किसिमले वेदमा वर्णित परब्रह्मलाइ नमस्कार छ” भन्ने वाक्यले ती जम्मै विस्मयलाइ विराम दिएको छ । किनभने वेदको भनाइलाइ गरिएको उद्धरणले पाठकको मनमा जागेको विस्मयको भावलाइ अवसान गराएको छ । यस किसिमको भावलाइ “मति” भनिन्छ । र यी दुवै “विस्मय” र “मति” भाव पनि यस श्लोकको अन्तिम वाक्यांश “तस्मै नमो ब्रह्मणे” मा रहेको भगवद्भक्तिलाइ परिपोष गर्न सहयोग गरेको छ ।
यसै गरी दोस्रो श्लोक[30]मा पनि देवविषयक रतिभाव छ र त्यसलाइ विस्यमले अनुप्राणित गरेको छ ।
पितृविषयक रति (श्लोक ३)
यस तेस्रो श्लोक[31]मा पितृ विषयक रति मात्र नभएर गुरू विषयक रति पनि छ । अझ गुरू विषयक भक्ति पितृ विषयकभन्दा पनि बढी छ । खासमा पितृ विषयक रति तेस्रो श्लोकको पहिलो पाउमा मात्र छ र बाँकि तीन पाउमा गुरू विषयक रतिभाव नै छ । पितृविषयक रतिलाइ दर्शाउनका लागि शीर्षकमा पितृ विषयक रति लेखिएको हो । गुरू विषयक रति मुख्य रूपमा चौथो श्लोकमा अभिव्यक्त छ । यसमा पितृभक्ति र गुरूभक्तिको सामान्य वर्णन छ । यसमा खासै चमत्कारकारी भाव भने छैन ।
गुरू विषयक रति (श्लोक ४)
चौथो श्लोकमा भने गुरूविषय रति उद्भुत अवस्थामा छ । यस गुरू विषयक रतिलाइ चारवटा सञ्चारी भावहरू – स्मृति, दैन्य, औदार्य र गर्वले परिपोष गरेका छन् । यस चौथो श्लोक[32]को अनुवाद कवि पन्थीका अनुसार यस प्रकार छ: यसैगरी सद्विद्याका उपदेशक, प्रातःस्मरण गर्न योग्य, गुरू दधिराम मरासिनीलाइ प्रणाम गर्दछु । उहाँको कृपा पाएर सन्तुष्ट रहेको मैले उहाँजस्तालाइ कसरी बिर्सन्थेँ र ? यी सबै गुरूहरूको हृदयमा उदाएको दयाले गर्दा मन्दबुद्धि भएका मजस्ता मानिसको बुद्धि विद्याभ्यासमा लाग्यो र यसबाट अथवा त्यसको परिणाम काव्यरचना धृष्टता गर्ने गति भनौँ सामर्थ्य पनि भयो ।
स्मृति
समान घटनाबाट पूर्वानुभूत विषयको ज्ञान हुनुलाइ स्मृति भनिन्छ[33] । यस श्लोकको पहिलो पाउमा रहेको “प्रातःस्मरण गर्न योग्य” र विशेष गरेर दोस्रो पाउमा रहेको “कसरी बिर्सन्थेँ र?” भन्ने वाक्यांशले पाठकको मनमा एक किसिमको छुट्टै भाव उत्पन्न गराउँछ । यस श्लोकमा रहेको “कसरी बिर्सन्थेँ र?” भन्ने वाक्यांशले गुरूप्रतिको प्रेम वा श्रद्धालाइ अझ बढी मुखरित बनाएको छ। तेस्रो श्लोकमा जस्तो खुरूखुरू गुरूको स्तुति मात्र यसमा छैन ।
दैन्य र औदार्य
दैन्य भनेको दीनता वा अक्षमताको भाव हो । जसमा कर्ताले आफूँले चाहेर पनि केही गर्न सक्दैन[34]। यस श्लोकको तेस्रो पाउ रहेको वाक्यांश “यी सबै गुरूहरूको हृदयमा उदाएको दयाले गर्दा मन्दबुद्धि भएका मजस्ता मानिसको बुद्धि विद्याभ्यासमा लाग्यो भन्ने वाक्यांशमा कविको दीनता झल्किएको छ । साथसाथै गुरूको उदारता पनि झल्किएको छ । कविको चाहना त थियो काव्य रचना गर्ने तर सामर्थ्य थिएन । अनि गुरूहरूको मनमा उदाएको दयाले गर्दा उनले काव्य रचना गर्न सके । यसरी यस श्लोकमा यी दुइ भावले गुरूप्रतिको भक्ति मुखरित गर्न निकै सघाएका छन्[35]।
गर्व
प्रभाव, विद्या, ऐश्वर्य, कुलीनता आदिका आधारमा हुने अभिमानको भावलाइ गर्व भनिन्छ[36] । यस श्लोकको अन्तिम पाउमा रहेको वाक्य “यसबाट मेरो बुद्धि शास्त्रको अभ्यास गर्नतिर लाग्यो र काव्यरचना धृष्टता पनि भयो” मा गर्व स्पष्ट अभिव्यक्त भएको छ । ‘धृष्टायते’ पदले ‘मैले पहिले सक्थिन । अब म पनि कम छैन’ भन्ने भाव जनाउँछ । यी तिनै थरिका भावले गुरूभक्तिलाइ अझ उत्कृष्ट बनाएका छन् ।’गुरूले दया नगरेको भए केही हुन्थेन । त्यसकारण गुरू महान् हुनुहुन्छ’ भन्ने गुरूभक्तिको भावमा अन्ततः सम्पूर्ण श्लोक केन्द्रित भएको छ ।
देव विषयक रति (श्लोक ५,६)
पाँचौ श्लोक र छैठौं श्लोकमा देव विषयक रतिभाव व्यक्त छ । पाँचौँ श्लोक[37]मा ‘विस्मय’को भावोदय र भावशान्तिले देव विषयक रतिलाइ परिपुष्ट पारेका छन् । त्यो कसरी भने यस श्लोकको अघिल्ला दुइ पाउमा ब्रह्माजीको विश्व सृजनाको महिमागान गरिएको छ । यस महिमाले विस्मय भावको उदय भएको छ भने पछिल्ला दुइ पाउमा सो विस्मयको शान्ति भएको छ । विश्व सृजनाको अद्भुत सामर्थ्यको वर्णन वेदको हवाला दिएर एक्कासि सक्किएको हुनाले भावशान्ति भन्न सकिन्छ। यी दुवै विस्मय र मति भाव ब्रह्माज भक्तिमा विलय भएको छ । अतः यस श्लोकमा देव विषयक रति उद्भुत छ भन्न सकिन्छ । त्यसैगरी छैठौं श्लोक[38]मा ब्रह्माजीको विस्मयकारी महिमा व्यक्त भएको छ । यसै विस्मयको भावमा भगवद्भक्ति परिपुष्ट हुन गएको छ ।
देव विषयक रति (श्लोक ७)
सातौं श्लोक[39] भगवान् विष्णु विषयक भक्तिभाव प्रधान रूपमा अभिव्यक्त भएको छ । यस भक्तिभावलाइ परिपोष गर्न ‘विषाद’ र ‘दया’ परिपोष गरेका छन् । यस श्लोकको नेपाली अनुवाद यस प्रकार छ: जगत् सृष्टि गर भनी खटाइएका ब्रह्माजीले सृष्टि गर्न खुब प्रयत्न गर्नुभयो तर सक्नुभएन । सो असमर्थतापछि ब्रह्माजीले विष्णुको स्तुति गर्नुभयो । दयालु विष्णुले पनि ब्रह्माजीलाइ शक्ति ददिनुभयो र त्यही शक्तिद्वारा ब्रह्माजीले यो सारा जगत्को प्रपञ्च सृष्टि गर्नुभयो ।
यस श्लोकमा विषाद ब्रह्माजीको अक्षमतामा व्यक्त भएको छ । ब्रह्माले सृष्टि गर्न प्रयास गर्नुभयो तर सक्नुभएन । नसकेपछि उहाँ विषादमा पर्नुभयो । ब्रह्माजी विषादमा पर्नुको कारण भनेको आफूलाइ दिएको दायित्व पूरा गर्न नसक्नु हो । उहाँलाइ ग्लानि पनि भयो होला त्यसछि निरूपाय भएपछि जगन्नियन्ता भगवान् विष्णुको स्तुति गर्नुभयो । ब्रह्माजीको असक्षमता र आफूँलाइ गरेको स्तुति देखेर भगवान् विष्णुलाइ दया पलायो र जगत्सृष्टि गर्नका लागि विशेष शक्ति प्रदान गर्नुभयो । यसरी यस श्लोकमा विषाद र दया भावले[40] भगवद्विष्णु भक्तिलाइ पुष्ट गरेको छ ।
भावशबलता (श्लोक ८)
आठौं श्लोक[41]मा तीनवटा भावहरू: हर्ष, उत्साह र चिन्ता सम्मिलित अवस्थामा छन् । यी तीन भावले देव विषयक रति वा अन्य भावलाइ परिपोष नगरी आफैँमा पूर्ण छन् । यस श्लोकको नेपाली अनुवाद यस प्रकार छ: ब्रह्माजीले पहिले भृगु, दक्ष, मरीचि, आदि मुनिहरू सृष्टि गर्नुभयो, साथै कुनै भने ब्रह्मचर्यमा रही सृष्टि प्रक्रिया चालु नराख्ने देवता र मुनीहरूलाइ सृष्टि गर्नुभयो । यसरी आफ्नो चाहना अनुसारको सृष्टि अघि नबढ्दासम्म ब्रह्माजीका मनमा ठूलो ताप भयो ।
यहाँ भगवान् ब्रह्मा शुरूमा हर्षित हुनुभयो किनभने उहाँले सृष्टि प्रक्रियालाइ अघि बढाउन सक्ने मानवहरू उत्पन्न गर्न सक्नुभएको थियो । त्यस सफलताले उहाँमा उत्साह थपिएको थियो । किनभने ती उत्पन्न भएकाहरू साधारण मानव नभएर महान् ऋषिहरू नै थिए । जसले चाहेको भए ब्रह्माजीले चाहे झैँ गरी सृष्टि प्रकिया अघि बढाउन सक्थे तर जसै ती ऋषिहरू ब्रह्मचर्य धारण गर्ने बाटोतिर लागे ब्रह्माजी पुनश्च चिन्तामग्न हुनुभयो ।
अद्भुत रस (श्लोक ९)
मनमा आश्चर्यको भाव ल्याउने रसलाइ अद्भुत रस भनिन्छ । विस्मय यसको स्थायी भाव हो । अलौकिक वस्तुको दर्शन आलम्बन विभाव हो । त्यस अलौकिक वस्तुको गुणको बारेमा उल्लेख गर्नु यसको उद्दीपन विभाव हो । स्तम्भ, स्वेद, रोमाञ्च आदि अनुभाव हुन् हुन् र वितर्क, आवेग, सम्भ्रान्ति आदि व्यभिचारी भाव हुन्[42]। यस
नवौं श्लोक[43]मा अद्भुत रस कसरी अभिव्यक्त भएको छ भन्नका लागि यस श्लोकको अर्थ हेरौँ: हृदयमा चिन्ताले व्याकुल भएको ब्रह्माजीको शरीर द्विधा भयो, त्यस शरीरको दक्षिणार्धबाट स्वायम्भुव मनु र वामार्धभागबाट शतरूपमा नाम भएकी स्त्री उत्पन्न भए ।
यहाँ ब्रह्माजीको दुइ टुक्रा भएको शरीर आलम्बन विभाव हो । उहाँको शरीरको दाहिने र देब्रे भागबाट पुरूष र स्त्री उत्पन्न हुनु उद्दीपन विभाव हो । त्यो दृश्य देखेर शरीरमा रोमाञ्च हुनु अनुभाव हो । त्रास, उत्सुकता आदि व्यभिचारी भावको सम्मिलनबाट पाठकको मनमा अद्भुत रसको सञ्चार हुनपुग्छ ।
भावसन्धि (श्लोक १०)
रसको अवस्थामा नपुगेका दुइवटा भावहरू मिसिएको अवस्थालाइ भावसन्धि भनिन्छ । दशौं श्लोक[44]मा दुइवटा भावहरू इश्वरभक्ति (देवादि विषयक रति) र उग्रता मुख्य रूपमा रहेका छन् । श्रीमद्भागवत्मा भक्तिका ९ प्रकारका बारेमा चर्चा गरिएको छ [45]। शत्रु वा अन्यले हेप्दा मनमा उठ्ने रिसको भाव उग्रता हो । पसिना आउनु, शरीर काम्नु टाउको हल्लिनु, थर्काउनु, पिट्नु यसका लक्षण हुन्[46]। यी भाव यहाँ कसरी व्यक्त भएका छन् भन्ने थहा पाउन यसको नेपाली अनुवाद हेरौं : ब्रह्माजीबाट सृष्टि गर्ने आज्ञा पाएका ती मनुमहाराज पहिले तपस्या गर्न भनेर सुनन्दा नदीमा गए । त्यहाँ एकसय वर्षसम्म तपस्या गरी भगवान् विष्णुको स्तुति गर्दै थिए । त्यो देखी दैत्यहरू तिनलाइ मार्न भनी त्यहाँ आइपुगे । यस श्लोकमा मनु महाराजले तपस्या गर्न जानु, तपस्या गरेर १०० वर्ष बिताउनु र पुनश्च भगवान्को स्तुति गर्नुमा उनको भगवान् प्रतिको भक्ति भाव व्यक्त हुन्छ । त्यसै गरी मनुलाइ शत्रु मान्नु उनको भक्तिभाव देखेर रिसाउनु र तिनलाइ मार्न भनेर त्यहाँ आइपुग्नुमा दैत्यहरूको उग्रता देखिन्छ । दुइवटा भावहरू: भक्ति र उग्रता एउटै श्लोक वा प्रसंगमा आएकोले यहाँ भावसन्धि हुनपुगेको मान्न सकिन्छ ।
निर्वेद भाव (श्लोक १३, १४)
तत्वज्ञान हुँदा, आपत्ति आइलाग्दा, आशा भङ्ग हुँदा अथवा यस्तो अवस्था जसमा आफ्नो अस्तित्व निरर्थक लाग्छ, आफैले आफुलाइ धिक्कारिन्छ त्यस अवस्था वा भावलाइ निर्वेद भनिन्छ । दीनताको अनुभव हुनु, चिन्ता लाग्नु, आँखाबाट आँसु आउनु, लामो लामो सास फेरिनु, शरीरको रंग उड्नु आदि यसका लक्षण हुन्[47] ।
श्लोक १३औं र १४ औं मा निर्वेद भाव व्यक्त भएको छ । १३[48] औं श्लोकको नेपाली अनुवादः राजा प्रियव्रतका दश भाइ पुत्र जन्मे । तीमध्ये तीनभाइ विरक्त विरक्त भएर योगपट्ट धारण गरी घरबाट निस्के । राजाले ११ वर्षसम्म राज्य गरी सात भाइ छोरालाइ सात द्विपमा एक एक राज्य दिए । यस श्लोकमा (कम्तीमा पूर्वाद्धमा) शान्त रस छ भनेर रूपमा सिद्ध गर्न सकिए पनि त्यो सिद्धि सैद्धान्तिक मात्र हुन्छ । शान्त रस सिद्धिको प्रकार यस्तो हुन सक्छ: योगपट्ट धारण गरेका छोराहरू आलम्बन विभाव, तिनीहरूले घर त्याग गर्नु उद्दीपन विभाव, योगपट्ट धारण गर्नु, (जटा पाल्नु, रोमाञ्चित हुनु आदि आक्षिप्त) अनुभाव, वैराग्य, हर्ष, धृति आदि व्यभिचारीभाव मार्फत् शम नामक स्थायी भाव परिपुष्ट भई शान्त रस अभिव्यक्त भएको मान्नु । तर यस श्लोकमा भएको वैराग्य भाव रसको अवस्थामा पुग्न नसकेको कुरा स्वतः अनुभव गर्न सकिन्छ । यसै गरी १४[49] औं श्लोकमा पनि ‘निर्वेद’ भाव व्यक्त भएको देख्न सकिन्छ । यस श्लोकको अनुवादः अनि राजा प्रियव्रत गन्धमादन वनको आश्रममा गए । पहिले पनि उनले त्यही वनमा बसेर तपस्या गरेका थिए र उनका पिताले गृहस्थी हुन उपदेश गर्दागर्दै नारदमुनिले राजालाइ वैराग्य योगको शिक्षा पनि त्यही वनमा दिनुभएको थियो । राजा एकपटक गन्धमादन वनको आश्रममा तपस्या गर्नु, पुनश्च त्यही जानु, त्यसै वनमा नारदले वैराग्यको उपदेश गर्नु निर्वेद भावका लक्षण हुन् ।
भाव सन्धि (दैन्य र गर्व भाव) (श्लोक १६)
दुर्गति आदिबाट उत्पन्न हुने निस्तेज वा कमजोरको भाव लाइ दैन्य भनिन्छ। दीनताको भाव हुँदा मुखमा मलिनता आदि हुन्छ[50] । यस १६औं श्लोक[51]मा रानी सुनीतिको अवस्थामा दीनताको भाव प्रष्ट छ भने सुरूचिको स्वभावमा गर्व स्पष्ट परिलक्ष्यित छ । यस श्लोकको नेपाली अनुवाद : दुर्भाग्यले जेठी रानीलाइ राजाले रूचाएका थिएनन् र उनी दरबारको पछाडि सानो कुटीमा राखिएकी थिइन् । राजाको नजिकमा पुत्र सहितकी कान्छी रानी सुरूचि रहिन्थिन् । राजाले उनलाइ प्रेम गर्थे त्यसकारण उनी अति मात्तिएकी थिइन् ।
असूया भाव (श्लोक १९)
घमण्डले गर्दा अर्काको गुण वा समृद्धि सहन नसक्ने अवस्था असूया हो । अर्काको खोट मात्र देखाउनु, आँखी भौँ छड्के हुनु लगायत अन्य क्रोधपूर्ण चेष्टा हुनु यसका लक्षण हुन्[52] ।
यस उन्नाइसौँ श्लोक[53]को उत्तरार्धमा घमण्डले चूर भएकी कान्छी रानी सुनीतिको व्यवहारमा असूया स्पष्ट परिलक्षित छ । यस श्लोकको अनुवाद : भाइ पिताजीको काखमा बसेको छ भने म पनि पिताजीकै काखमा बस्छु भनेर ध्रुव पनि सिंहासनमा गएर बसे । सुरूचिले रिसका साथ ध्रुवलाइ सिंहासनबाट ओरालेर राजाले सुन्ने गरी यसो भन्न लागिन् । यहाँ राजाकी प्रिय रानी भएको घमण्डले भरिएको हुँदा सुरूचिले आफ्नो छोरा उत्त्मलाइ बाबुको काखमा बस्न दिएर बिचरा बालक ध्रुवलाइ त्यस काखबाट गलहत्याइदिन्छिन् । उनको यहि व्यवहार नै असूया हो । यस्तै सुरूचिको असूया श्लोक [54]२० र २१[55] मा पनि देख्न सकिन्छ । तर यी अनुवर्ती श्लोकमा यो भाव घट्दो क्रममा रहेको र वात्सल्य मिश्रित छ ।
विषाद भाव (श्लोक २४, २५ र २६)
चाहेर पनि केही गर्न नसक्ने वा लाचार हुने भाव नै विषाद हो । विषादमा पर्दा लामो लामो सास फेरिन्छ । मनमा पीर पर्छ र कसैको सहयोग पाइन्छ कि भनेर आश पनि हुन्छ[56] । यस २४,औं[57] २५औं[58] र २६औँ[59] श्लोकमा सुनीतिको लाचारी स्पष्ट रूपमा व्यक्त भएको छ । यिनको नेपाली अनुवाद क्रमशः सँगै खेल्ने सहरिया बालकहरूबाट सुरूचिले भनेको कुरा सुनेर रानी धेरै बेर रोइन् । अनि बालकलाइ हेरी पतिले गरेको अपमान सम्झेर रोइरहिन् । २४।
बारम्बार बगिरहने आँसुलाइ बल्लतल्ल रोकेर पछ्यौरीका टुप्पाले पुछी छोरीलाइ भनिन् : हे मेरा छोरा, मेरो भाग्य विपरीत हुँदा तिमीले पनि धेरै दुःख अनुभव गर्नुपर्ने भयो ।२५।
हे पुत्र !तिम्री सौतेनी आमाले साँचो भनिन् । म जस्ती अभागिनीको कोखबाट जन्मेको हुनाले र स्तन पनि मेरै पिएको हुनाले त्यसो भनेकी हुन् । राजा मलाइ दुलही पनि भन्न लजाउँछन् । २६
यी श्लोकमा सुनीतिको लाचारी प्रष्ट छ । उनी आफ्नो छोरोमाथि भएको अन्यायको विरूद्ध उनी बोल्न सक्दिनन् । श्रीमान्ले आफ्नो भन्दा सौताको कुरा सुन्छन् भन्ने उनलाइ राम्ररी थहा छ । अन्यायमा परे पनि सौताको विरूद्ध पतिसँग बोल्ने साहस नभएको उनको मनको विषाद यी श्लोमा पोखिएको छ ।
इश्वरभक्ति (देवविषयक रति) भाव (श्लोक २८-३१)
श्लोक २८औं[60], २९औं[61], ३०औं[62] र ३१औं[63] मा इश्वरभक्ति खास गरेर भगवान् विष्णुप्रतिको भक्तिभाव मुखरित छ । यिनको अनुवाद क्रमशः
ब्रह्माजीले जसको पादपद्म हृदयमा राखेर दिव्य हजार वर्षसम्म तपस्या गर्नुभयो त्यस्ता ब्रह्माजीलाइ भगवान्ले ब्रह्मासन दिनुभयो । भगवान्को राम्रो आराधना विफल किन हुन्थ्यो र ? २८
अथवा तिम्रो पितामह स्वायम्भुव मनुले अघि नै एक सय वर्षसम्म तपस्या गरेर मनुमहाराज बने । भगवान् विष्णुबाट धर्म, अर्थ, काम, मोक्ष पाइ चारै पुरूषार्थको पात्र बने । २९
हे बाबु तिमी पनि बार बार भगवान् वासुदेवको भजन गर । अथवा तपस्या गर्छौ भने पनि बालकै छौ । वनमा कसरी बस्छौ ? भगवान् यस्ता हुनुहुन्छ कि उहाँलाइ हृदयमा अनन्य भक्ति राखेर धारण गर्यो भने खुशी भएर आफ्नो हित मनोरथ (वरदान) अवश्य पूरा गरिदिनु हुनेछ । ३०
जुन भगवान्ले गोहीले गोडा निलेका गजेन्द्रलाइ तुरून्तै गरूडमा चढेर आइ छुटाउनुभयो । त्यस्ता विष्णु बाहेक तिम्रो दुःख हरण गर्ने, आफ्ना भक्तलाइ अभय दिइ शरणमा लिने अर्को देवता कुनै छैनन् । ३१
आफ्नो छोराप्रति सौताले गरेको दुर्व्यवहार सहन बाध्य बाध्य भएपछि सुनीतिले भगवान् विष्णुमा सहारा खोज्छिन् । उनले भगवान्को गुणगान गर्दै ध्रुवलाइ पनि भगवान्को आराधना गर्न प्रेरित गर्छिन् । यही आराधनामा भगवान् विष्णु प्रतिको भक्ति अभिव्यक्त छ ।
अमर्ष भाव (श्लोक ३२)
कसैले गरेको निन्दा, आक्षेप, अपमान आदि हुँदा मनमा आउने बदलाको भावलाइ अमर्ष भनिन्छ । यसका लक्षण आँखा राता हुनु, टाउको हल्लिनु, आँखि भौँ उचालिनु, थर्काउनु आदि हुन्[64]। यस ३२औँ श्लोकमा सुनीतिको उनको सौताप्रतिको अमर्ष भाव व्यक्त भएको छ। यस श्लोकको नेपाली अनुवादः यसरी सौतामाथिको रिसको वशमा परेकी सुनीति ‘छोरो बालकै छ भन्ने विचा नगरी तपस्या गर्ने आज्ञा दिएर कतै काममा गइन् । छोरो ध्रुव पनि कसैले नदेख्ने गरी तपस्या गर्न भनेर तपोवनतिर गए । यहाँ सौताले गरेको अपमानले सुनीति क्रुद्ध छिन् । त्यही क्रोधवश उनले आफ्नो छोरालाइ जंगलमा गएर तपस्या गर्न प्रेरित गर्छिन् ।
विस्मय भाव (श्लोक ३४)
विस्मय अद्भुत रसको स्थायी भाव हो । स्थायी भनिएका ९ वटा भावहरू पनि यदि स्थायी रूपमा नभएर अस्थायी रूपमा आउने र केही बेरमा हराउने भए अस्थायी मानिन्छन् । यहाँ विस्मय अस्थायी भावको रूपमा आएको छ । यसको लक्षण “अलौकिक अथवा चकित बनाइदिने विविध किसिमका वर्णन देखेर, सुनेर, वा पढेर मनमा उदाउने आश्चर्यको भाव विस्मय हो”[65]। यस ३४औं श्लोक[66]मा विस्मयको भाव प्रस्फुटित भएको देख्न सकिन्छ । यसको नेपाली अनुवादः राजपुत्रको धैर्ययुक्त वाक्य सुनेर खुशी भएका नारद मनमनै भन्नुहुन्छ अहो! क्षत्रियको तेज ! राजपुत्र बालक भएर पनि सौतेनी आमाले गरेको मानभङ्ग सहँदैन, कस्तो आश्चर्य?
एउटा ५ वर्षको बालकको मनमा घनघोर जंगलमा बसेर एक्लै तपस्या गर्ने विचार आउनु निश्चय नै अलौकिक घटना हो । क्षत्रिय राजकुमार ध्रुवको मनमा विचार आएको देखेर नारद विस्मित भएका छन् ।
हर्ष भाव (श्लोक ३५)
खोजेको कुरा पाए पछि हुने खुशीको क्षण हर्ष हो । यो भाव मनमा उत्पन्न हुँदा आँखाबाट आँसु आउने, बोली रोकिइ रोकिइ आउने हुने गर्छ[67] । यस ३५ औँ श्लोकमा नारदको हर्ष अभिव्यक्त छ । उनी बालक ध्रुवको चित्त तपस्यामा लागेको देखेर हर्षित भएका छन् । यस श्लोक[68]को नेपाली अनुवादः नारदले बालक ध्रुवको चित्त तपस्यामा लागेको जानेर हर्षले उनको शिरमा हात राख्दै भन्नुभयो – हे वत्स तिमी बालकै छौ । दैवले गराएका सबै मान अपमानबाट हुने सुख र दुख केही छैनन् भन्ने ठान । यहाँ नारद हर्षित भएको कुरा श्लोकमा प्रयुक्त हर्ष शब्दबाटै बुझिन्छ । उनी खुशी भएरै
मति भाव (श्लोक ३६)
नीतिको मार्ग अनुसरण गर्ने, अनुमान आदिबाट कर्तव्य र अकर्तव्य छुट्याउने चेतनालाइ मति भनिन्छ । हल्का मुस्कुराउनु, धैर्य हुनु, सन्तोष हुनु यस भावका लक्षण हुन् ।[69] ३६ औँ श्लोक[70]को अन्तिम दुउ पाउमा सुख र दुःखप्रतिको नारदको विचारमा मति भाव अभिव्यक्त भएको छ । यस श्लोकको अनुवादः बालक अर्काको वशमा रहन ठूलो दुःख मान्दछ । एकैछिन खेल्न पायो भने त्यसलाइ भने त्यसलाइ दुःख सम्झँदैन । त्यो दुःख सुख पनि भाग्यवश कहिले आउँछ र कहिले जान्छ । त्यसमा आग्रह नगर्नु नै कल्याण हो र सुख हो । यस श्लोकको पहिलो पाउमा भएको ‘एकैछिन खेल्न पायो भने एउटा बालकले भोग्नु परेका सबै दुःख सर्लक्क बिर्सिन्छ’ भन्ने भावले दोस्रो पाउमा भएको सुख र दुःखको क्षणिक हुन् र तिनमा मानिस निराग्रह हुनुपर्छ भन्ने गम्भीर र दार्शनिक ‘मति’ भावलाइ परिपोष गरेको छ । स्मरणीय कुरा के छ भने यस श्लोकमा “मति” भाव देखाउन खोजिए पनि वास्तवमा बालकप्रति देखिएको नारद मुनिको सहानुभूति त्यस भावभन्दा बढी संवेद्य छ ।
पुत्र वात्सल्य भाव (श्लोक ३७, ३८)
सन्तान वा वच्चाप्रति हुने मायालाइ वात्सल्य भनिन्छ । यस भावलाइ विश्वनाथले भरतमुनिलाइ उद्धृत गर्दै रसको श्रेणीमा राखेका छन्[71]। तर यो रस भरतमुनि सम्मत नभएको तर विश्वनाथले यसलाइ प्रतिष्ठित गर्नका लागि भरतमुनिको हवाला दिएको भनेर डा. गणेश घिमिरेले आफ्नो विद्यावारिधि शोध प्रबन्ध ‘रूरूवृत्तनेनेपालखण्डकाव्ययोः रसविमर्शः’ मा उल्लेख गर्नुभएको छ[72] । त्यसै प्रसंगमा उहाँले वात्सल्य रस देवादि विषयक रतिमै अन्तर्भूत हुने तथा स्वतन्त्र रस हुन नसक्ने भन्ने पण्डितराज जन्नाथकृतको तर्कलाइ उद्धृत गर्नुभएको छ ।[73] पण्डितराज जगन्नाथका अनुसार रस वा भावको संख्या भरतमुनिले तोकेको भन्दा बढी बनाउन थाले अनवस्था दोष हुनजान्छ । किनभने यिनको सीमा हुँदैन[74] । ‘देवादि विषयक रति’ यस वाक्यांशमा रहेको ‘आदि’ पदले कुन कुन विषयमा हुने रतिलाइ बुझाउँछ भन्ने कुरा स्पष्ट छैन किनभने आदि यस्तो शब्द हो जसले प्रारम्भ त बुझाउँछ तर अन्त बुझाउँदैन । यस अनुसार यहाँ देवादि भन्नाले देव, मुनि, गुरू, नृप, स्वामी, पुत्र, शिष्य, छात्रगत मात्र नभएर घरमा पालेको कुकुरगत, बाख्रोगत, बिरालोगत, खरायोगत तथा घरमै नपाले पनि त्यो व्यक्ति वा वस्तु देखेर मनमा माया, प्रेम, दया, उत्पन्न भए तत्तत् पात्रगत रति पर्ने भए ।
यस लेखकको विचारमा देवादि शब्दले सम्बद्ध पात्र गत रति वा प्रेमलाइ अभिव्यक्त नगर्ने हुनाले जुन पात्रका आधारमा रस निष्पन्न हुन्छ त्यसै पात्रगत रति भन्नु पनि उपयुक्त होला । त्यसो गर्दा पनि अपेक्षित भाव अभिव्यक्त गर्न नसकिए सम्बद्ध पात्रगत वात्सल्य भन्न उचित हुन्छ । जस्तै यी दुइ श्लोकमा[75] बालक ध्रुव प्रतिको नारद मुनिको प्रेमलाइ पुत्रविषयक रति भन्न पनि मिलेन किनभने ध्रुव नारका पुत्र होइनन् । तसर्थ यहाँ पुत्रवात्सल्य भाव भन्न उपयुक्त हुने देखिन्छ । यिनको अनुवाद यस प्रकार छः बाबु आमाको आज्ञा मानेर तिमीले तपस्या गर्न आँटेका छौं । भगवान्को आराधना त गरिसक्नु छैन । जन्मैदेखि मृत्युसम्म योग र समाधिमा लागेका मुनिहरूले त भगवान्लाइ भेट्टाउन सकेका छैनन् । मनुष्यहरूको त झन् के कुरा? ।।३७।।
त्यसकारण तिमी फर्केर घरमा जाउ । अहिले तिमीले तपस्या गर्ने समय छैन । पछि आफ्नो समयमा तपस्या गरौँला । कोही मानिस आफ्नो आयुको चौथो भागमा पुगेर नियम पालन गर्छन् । तपस्या गर्न वनमा पनि जान्छन् ।।३८।।
यहाँ ध्रुवको कलिलो उमेर देखेर नारदमुनिको मनमा उनीप्रति दया पलाएको छ र उनले ध्रुवलाइ घर फर्किन सल्लाह दिएका छन् । यसैमा पुत्र वात्सल्य भाव अभिव्यक्त भएको छ ।
हठ भाव (श्लोक ३९, ४०)
कुनै कुराको एकोहोरो माग गर्नुलाइ हठ भनिन्छ । बच्चाको स्वभाव अनुसार यो हठ फरक फरक हुन्छ । कतिमा यो मनै पगाल्ने मार्मिक किसिमको हुन्छ भने कतिमा रिस उठाउने जिद्दी किसिमको हुन्छ । यो ‘हठ’ भाव परम्परित ३३ वटा भाव अन्तर्गत छैन । तैपनि यस ३९औँ[76], ४० औँ[77] ४१ औँ[78] र ४२ औँ[79] श्लोकमा ध्रुवको नारदप्रतिको प्रत्युत्तरमा यो भाव अभिव्यक्त भएको छ । यी श्लोकको अनुवाद यस प्रकार छः
नारद मुनिको यस्तो वचन सुनेर ध्रुव भन्छन् “यो हजुरले मलाइ बताएको शान्तिमार्ग जसको मन वैराग्यले युक्त छ त्यस्ता हजुरजस्ताका लागि हो । हामी जस्ता अविनीत हृदय भएका बालकहरूका लागि होइन । ३९।
हे साधो हजुरले भनिबक्सेको अत्यन्त हित कुरा हो तर सौतेनी आमाको वचनरूपी वाणले छियाछिया भएका मेरा हृदयमा अडिएन । प्वालबाट चुहियो । त्यसकारण मलाइ नरोकिबक्सियोस् ।।४०
हाम्रा पिता पुर्खाले पनि अनुभव नगरेको तीनै लोकभन्दा पनि उच्च जो विष्णुपद हो त्यही पाउन मेरो मन छ । मेरा उपर दया गरी त्यसको मार्ग बताइबक्सियोस् । ४१।।
जस्तो सूर्य नारायण लोकको हितका लागि प्रतिदिन उदाउनुहुन्छ त्यस्तै हजुर पनि लोकहितकै लागि चाँडोचाँडो हिँडिरहनुहुन्छ हे सुरर्षि हजुर ब्रह्माजीका पुत्र हुनुहुन्छ । महती वीणा बजाइरहनुहुन्छ । अहिले म बालकको शरणदाता हुनुहोस् । ४२
यहाँ नारदले निकै सम्झाइबुझाइ गरी ध्रुवलाइ घर फर्काउन खोजे पनि उनले मानेकै छैनन् । बरू उल्टै नारदलाइ नै सम्झाउन र उनकै स्तुतिमार्फत् उनलाइ फकाउन खोजेका छन् । ध्रुवको बालहठ यसैमा अभिव्यक्त भएको छ । र त्यो मार्मिक छ । हुनत यहाँ ३३ वटा प्रचलित भावमध्येको गर्व भन्ने भाव अभिव्यक्त भएको छ भनी देखाउन नसकिने होइन । तर त्यो माथापच्ची गर्नुभन्दा सहज रूपमा अभिव्यक्त हठ भावलाइ स्थान दिनु न्यायसंगत देखिएकोले शीर्षकमा हठ भाव लेखिएको हो ।
देव विषयक रति (श्लोक ४३,४४)
यसरी राजकुमार ध्रुवकोआ अति मीठो वचन सुनेर दयाले भिजेका हृदयले प्रशंसा गर्दै नारद मुनि भन्दछन् – तिम्री आमाले भनेको वचन सत्य हो । त्यो वचनले तिमीलाइ हित गर्ने छ । भगवान्को पाउ छोडेर कल्याण गर्ने अरू कोही छैन । ४३।।
भगवान्को पाउ सेवा गर्नाले धर्म हुन्छ उनैको गतिको विवेचनबाट मोक्ष पनि मिल्छ । यी दुवै मिलिसकेपछि अर्थ र काम त स्वतः मिल्दछन् । अतः विष्णुको पाउमा मन लगाएर भजन गर । ४४।
वात्सल्य भाव श्लोक ४५
बाबु तिमी यमुना नदीको तटमा भएको मधुवन भन्ने नामबाट पनि प्रसिद्ध वृन्दावनमा जाउ । त्यहाँ कृष्ण हुनुहुन्न कि भनेर शङ्का मान्नु पर्दैन । भगवान् त्यहीँ हुनुहुन्छ । ४५।
जिज्ञासा भाव (श्लोक ४६, ४७)
कुनै कुरा जान्ने इच्छा जिज्ञासा हो । यो भाव पनि परम्परित स्थायी वा व्यभिचारी अन्तर्गत पर्दैन । यी दुइ ४६ औँ[80] र ४७ औँ[81] श्लोकमा ध्रुवले नारदमुनिसँग जिज्ञासा राखेका छन् । यिनको नेपाली अनुवाद क्रमशः
ऋषिश्रेष्ठ नारदको कुरा सुनेर ध्रुवले नारदसँग सोध्छन् – “हे भगवन् सुरर्षि मधुवनमा गएर मैले के गर्नुपर्छ, कुनकुन रीतले पूजा गर्नुपर्छ । ४६
भगवान्को कस्तो स्वरूप हृदयमा धारण गर्ने हो, कुन कुन मन्त्र जप्नुपर्छ? कति सङ्ख्यामा जप्नुपर्छ, सबै कुरा क्रमैसित बताउनुहोस् । हजुर स्वभावैले दयाका खानी हुनुहुन्छ । म हजुरको दास हु । ४७
यद्पि यी दुइ श्लोकमा परम्परित औत्सुक्य भन्ने व्यभिचारी भाव छ भन्ने देखाउन सकिन्छ तथापि औत्सुक्यभन्दा जिज्ञासा भाव बढी मुखरित भएको हुनाले यहाँ जिज्ञासा भाव भनिएको हो ।
नमन भाव श्लोक ४८
कसैमा श्रद्धा वा भक्ति जाग्दा उसप्रति हुने भावनात्मक समर्पणको भाव नमन हो । यो भाव प्रचलित स्थायी वा सञ्चारी भावहरू भित्र पर्दैन । यस ४८ औँ श्लोकमा[82] बालक ध्रुवको नारदमुनि प्रतिको नमन भाव स्पष्ट रूपमा अभिव्यक्त छ । नेपाली अनुवादः
यति भनेर राजपुत्र ध्रुवले ऋषिलाइ प्रणाम गरी दुइहात शिरमा राखी नारदका अगाडि आँसुका प्रवाहले मुनिका दुइ पाउ सेचन गर्दै बल्ल तल्ल चुप रहे । ४८
नारदबाट इश्वरपूजाको थप निर्देशको अपेक्षा गर्दै ध्रुवले नारदलाइ प्रणाम गरी उभिएका छन् । उनी ध्रुवप्रति नतमस्तक छन् ।
निष्कर्ष
यस महाकाव्यको शीर्षक जगदीश्वर वैभवम् महाकाव्यमा रस र भाव भनेर लेखिए पनि श्लोकहरूको विश्लेषण गर्दा रसलाइ भन्दा भावलाइ प्रमुखतामा राखेर गरियो । त्यसका दुइवटा कारणहरू छन्: १. रस सिद्धान्त विश्व साहित्यमै यति धेरै चर्चित छ कि काव्यको भावपरक विवेचन गरे पनि रसलाइ छुटाउनै हुँदैन र विषयवस्तुका दृष्टिले छुटाउन पनि मिल्दैन । २. ‘रस’ भावको परिपाकको अवस्था हो । भाव उत्कर्षमा पुगेपछि मात्र रसमा परिणत हुन्छ । एउटा श्लोकमा वर्णित प्रसङ्गले मात्रै मनोमाव उत्कर्षमा पुग्न असंभवप्रायः हुन्छ । उदाहरणका लागि शृङ्गार रसको अवस्थामा पुग्नका लागि रति भाव उत्कर्षमा पुगेको हुनुपर्छ । रति भाव उत्कर्षमा पुग्नका लागि नायक नायिकाको प्रेमिल गतिविधिमा सघनता हुनुपर्छ । सो भावसघनता एकै श्लोकमा अभिव्यक्त हुन लगभग सक्दैन । अतः समग्र काव्यको वा कुनै लामो अंशको विवेचना गर्दा त्यसको निष्कर्षमा कुन रस छ र कसरी छ भन्न उपयुक्त भए पनि श्लोक विशेषमा कुन रस छ भनेर किटान गर्न उपयुक्त हुँदैन । कुनै पनि काव्यको रसपरक विश्लेषण भनिए पनि प्रतिश्लोक विश्लेषण गर्नु पर्दा त्यो वस्तुतः भावपरक नै हुन्छ । यहाँ गरिएको विश्लेषणमध्ये नवौँ श्लोकमा अद्भुत रस अभिव्यक्त भएको देखाइएको छ । त्यो वास्तवमा शीर्षकलाइ सार्थक भएको देखाउन लागि गरिएको परम्परित अभ्यास हो ।
यसै गरी यहाँ भावकै आधारमा गरिएको सबै विश्लेषण पनि वस्तुनिष्ठ छैनन् । किनभने अधिकांश विश्लेषण ३३ व्यभिचारी र ९ स्थायीभित्रैका भावका आधारमा गरिएको छ । मानव मनका भावहरू अनन्त हुन्छन् भन्ने अनुभूत यथार्थ हो । काव्यमा वा होस् वा लोक व्यवहारमा वक्ताले प्रयोग गर्ने हरेक शब्दले उसको मनोभावको प्रतिनिधित्व गरिरहेको हुन्छ । कतिपय सन्दर्भमा निपातको रूपमा प्रयुक्त एउटै अक्षरले पनि वक्ताको विवक्षामा परिवर्तन गरिरहेको हुन्छ । अतः एउटा सिंगो वाक्य, अझ त्यसैमा पनि एउटा सिंगै श्लोकमा त झन् कति धेरै भावहरू समाविष्ट हुन सक्छ स्वतः अनुमेय विषय हो । तसर्थ अमुक श्लोकमा अमुक भाव छ भनेर किटान गर्नु एक किसिमले असंभव वा अनुचित हुन्छ । एउटै श्लोकमा अनेक भावहरू हुनसक्ने कुरा माथि १, ४, ८, १० श्लोकमा गरिएको विश्लेषणबाट पनि प्रष्ट छ । तथापि परम्परालाइ कायम राख्दै यस लेखमा सकेसम्म तिनै भावका आधारमा श्लोकहरूको विश्लेषण गरिएको हो । यसरी परम्परालाइ कायम राख्न खोज्दा कतिपय विश्लेषण निरस वा घिसेपिटेका जस्ता भएका छन् । खास गरेर एउटै भाव अनेक श्लोकमा देखाउन खोज्दा यहाँ गरिएको धेरैजसो विश्लेषण स्थूल र आच्छादी (Blanket analysis) भएका छन् । तथापि कतिपय प्रसङ्गमा तिनै ४९ मध्येका भावले पनि मनोभावनालाइ दुरूस्त प्रतिनिधित्व गरेका छन् ।
तसर्थ परम्परित भावहरू सबै अवस्तुनिष्ठ छन् भन्ने हैन । ती सीमित भावले सम्पूर्ण मनाभावहरूलाइ प्रतिनिधित्व गर्न सक्दैनन् भन्ने हो । फलतः जहाँ ती परम्परित भावलाइ जति तन्काए पनि विषयवस्तुलाइ प्रतिनिधित्व गर्न सकेका छैनन् ती ती स्थानमा प्रसङ्गानुरूप केही नवीन भावहरूको पनि यहाँ उल्लेख गरिएको हो । अझ यसै विश्लेषणमा पनि अझ मसिनो गरी श्लोकहरूको प्रतिपद विश्लेषण गर्ने हो भने झन् धेरै भावहरू उद्धाटित हुन सक्ने कुरा पनि यसै अध्ययनबाट अवगत हुन्छ र भावभन्दा पनि भावसन्धि भावसबलता आदिको प्राचुर्यले भावविशेष नै निरवकाश रहन जाने सम्भावना झन् टड्कारो छ ।
जगदीश्वर महाकाव्यको यसरी प्रतिश्लोकप्रायः गरिएको भावपरक विश्लेषणबाट के निष्कर्ष निस्कन्छ भने काव्यको रसपरक वा भावपरक विश्लेषण गर्दा सीमित शास्त्रीय रस वा भावका आधारमा गर्नु न्यायसंगत हुँदैन । रसविश्लेषणको प्राचीन परम्परालाइ यथासंभव कायम राख्दै नवीन भावहरूलाइ पनि मूलधारमा ल्याउन प्रयास गर्नुपर्छ र प्रतिपद रस/भाव निरूपण गर्नुपर्छ ।
[1] रसो वै सः
[2]सत्वोद्रेकादखण्डस्वप्रकाशानन्दचिन्मयः ।।
वेद्यान्तरस्पर्शून्यो ब्रह्मानन्दसहोदरः ।।
[3]ये पुनर्नव रसा इति पठन्ति……………..एतदपरे न सहन्ते । शमशान्तयोः पर्यायत्वात्, एकोनपञ्चाशद्भावा इति सङ्ख्यात्यागात् । किञ्च विभावा ऋतुमाल्यादयस्तत्समनन्तरभाविनि श्रृङ्गारादावनुसन्धीयन्ते इति युक्तम् । तपोध्ययानदयस्तु न शान्तस्य हेतवः । तत्वज्ञानास्यानन्तरहेतव इति चेत्पूर्वोदिततत्वज्ञानेSपि तर्हि तेषां प्रयोज्यतेति तपोध्ययनादीनां विभावता त्यक्ता स्याद् ....ना.शा. पृ. ???
[4] There is no question that a ninth, the peaceful, is a later (perhaps much later) addition to Baharat’s original eight, and although only a few manuscripts of the text include this addition, the eleventh-century commentator Abhinavagupta defended it, and consequently it appears in the printed editions that seek to reconstitute “Abhinavagupta’s text.” Abhinava protests too much, however, when he asserts that the manuscripts containing the peaceful rasa are “ancient,” and he is forced to explain why, for example, other listings of eight rasas and their appurtenances—deities, colors, etc.—do not include the peaceful: A Rasa Reader, page no 60.
[5] भरतसमये रसानामियं (८) संख्या प्राचीनपरम्परया प्रचलति स्मेति सिद्ध्यति । पश्चाद्भरतस्य मेधाविना व्याख्याकारेणाभिनवेन स्वमतानुकूलेन नाट्यशास्त्रस्य पाठान्तरेणेदं साधयितुमुत्कटं प्रयतितम् । भरतेनात्र रससंख्यावर्णनप्रसंगे तु द्विरष्टानामेव रसानामुल्लेखः कृतः एव । अनन्तरमपि पदे पदेSष्टावेव रसाः स्पष्टमुक्ताः । यथोत्पत्तिवर्णाधिदेवतावर्णने, भावसन्दर्भे …… अतो निःसंशयमिदं यद् भरतेन रसानां संख्या केवलमष्टावित्यव प्रतिपादितम् । रससिद्धान्तः पृष्ठ २०८–९ ।
[6] रससंख्यायाः सर्वाधिको विस्तारो भोजस्य सरस्वतीकण्ठाभरणशृङ्गारप्रकाशयोरूपलभ्यते । स प्रसिद्धेभ्यो नवरसेभ्योSतिरिक्तान् प्रेयउदात्तउद्धतरसानपि स्पष्टमवर्णयत् । रससिद्धान्तः पृ. २१०
[7] भोजात्परं हेमचन्द्रेणापि काव्यानुशासनेSभिनवशब्दानुवदतेव स्नेहलौल्यभक्तिरसानामुल्लेखो निरासश्च कृतः । पूर्ववत् पृ.२११
[8] ततो हेमचन्द्रशिष्याभ्यां रामचन्द्रगुणचन्द्राभ्याम् ताभ्यामतिरिक्ता अपि रसा उल्लिखिताः – व्यसनसुखदुखनामानौ । पूर्ववत् पृ.२११
[9] स्फुटं चमत्कारितया वत्सलं च रसं विदुः ।
स्थायी वत्सलतास्नेहः पुत्राद्यालम्बनं मतम् ।। ३।२५१ सा.द.
[10] संचारिणः प्रधानानि देवादिविषयारतिः ।।
उद्बुद्धमात्रः स्थायी च भाव इत्यभिधीयते ।। साहित्यदर्पण ३/२६०
[11] Bhatta Lollata argued that, although rasas were potentially infinite in number, it was the opinion of experts that only those listed by Bharata were capable of portrayal on the stage. A Rasa Reader:Sheldon Pollock, Page no:81
[12] भावा विकारा रत्याद्याः शान्तस्तु प्रकृतिर्मतः ।६।८६
विकारः प्रकृतेर्जातः पुनस्तत्रैव लीयते ।।
स्वं स्वं निमित्तमासाद्य शान्ताद्भावः प्रवर्तते ।
पुनर्निमित्तापाये च शान्त एवोपलीयते । ६।८७। ना.शा.
[13] एको रसः करूण एव निमित्तभेदात् ….
[14] आम्नासिषुः दशरसान् सुधियो वयं तु
श्रृङ्गारमेव रसनाद्रसमामनामः ।।
[15] रसे सारश्चमत्कारः सर्वत्राप्यनुभूयते ।।
तच्चमत्कारसारत्वे सर्वत्राप्यद्भुतो रसः ।।
तत्मादद्भुतमेवाह कृती नारायणो रस ।। सा.द. तृतीय परिच्छेद ।
[16]स (रूद्रटः) तु लोल्लटादीनां कतिपयेषां क्रान्तिकारिणां प्राचीनानामाचार्याणामनुगतोSभूद् ये रसानन्त्ये श्रद्दधते स्म । रससिद्धान्तः पृ. २०९
[17] न भावहीनोSस्ति रसो न भावो रसवर्जितः ।।
परस्परकृता सिद्धिरनयोरसभावयोः ।। सा.द., पृ. ३४३
[18] नानाभिनयसम्बद्धान् भावयन्ति रसान् यतः ।।
तस्माद्भावा अमी प्रोक्ताः स्थायिसञ्चारिसात्विकाः ।। ३।१८१ सा.द.
[19] विकाराः सत्वसम्भूताः सात्विकाः परिकीर्तिताः ।।३।१३४ सा.द.
[20] सत्वं नाम स्वात्मविश्रामप्रकाशकारी कश्चनान्तरो धर्मः । सा.द. पृ. २४४
[21] विभावानानुभावेन व्यक्तः सञ्चारिणा तथा
रसतामेति रत्यादिस्थायिभावः सचेतसाम् ।।३।३३ सा.द.
[22] सञ्चारिणः प्रधानानि देवादिविषया रतिः ।।
उद्बुद्धमात्रः स्थायी च भाव इत्यभिधीयते ।। ३।२६० सा.द.
[23] मुख्यरसेषु पुरा यः संक्षेपेणोदितः रहस्यत्वात् ।
पृथगेव भक्तिरसराट् स विस्तरेणोच्यते मधुरः ।। उज्वलनीलमणिः १।२
[24]सर्गबन्धो महाकाव्यं तत्रैको नायकःसुरः ।।३१५।।
सद्वंशः क्षत्रियो वापि धीरोदात्तगुणान्वितः ।
एकवंशभवा भूपाः कुलजा बहवोSपि वा ।।३१६।।
शृङ्गारवीरशान्तामेकोऽङ्गी रस इष्यते ।
अङ्गानि सर्वेSपि रसाः सर्वे नाटकसन्धयः ३१७।।
इतिहासोद्भवं वृत्तमन्यद्वा सज्जनाश्रयम् ।। सा.द., षष्ठ परिच्छेद
[25] अस्मिन् काव्ये स्वायम्भुवमनोः पौत्रस्य, राज्ञ उत्तानपादपुत्रस्य ध्रुवस्य सपत्नमात्रा बहिष्कृतस्य पञ्चमेSप्यब्दे दुष्करं तपः तपस्यतः तत्तपसा मासषट्केनैव सन्तुष्यता भगवता विष्णुना षट्त्रिंशत्सहस्रवर्षपर्यन्तं राजराजत्ववरप्रदानात् अन्त्ये च वैकुण्ठलोकप्रदानाद् जगदीश्वरवैभवम् इति नामकरणं सार्थकं मत्वा तदेव कृतम् ।
[26] पुनश्च जगदम्बिकावैभवे लिखिते जगदीश्वरवैभवमपि किमर्थं न लेखनीयमिति बुद्ध्या द्वितीयमपि काव्यं लेखितुं ममेच्छा सञ्जाता । तदपि इश्वरेच्छया पौराणिकीं कथामवलम्ब्य लिखितुमारब्धं । ज.वै पृ. ब
[27] यो देवः सविताSखिलस्य जगतो ब्रह्मान्यरूपेण यो ।
विष्णुः पालयिता य एव च शिवः संहारको मायया ।।
यश्चाचक्षुरनन्यदृग् बहुशिरा योS पाणिपादो जवी ।
वेदैरूक्तमनन्यथैव घटते तस्मै नमः ब्रह्मणे ।। १।१ ज.वै.
[28] रत्यादयोSप्यनियते रसे स्युर्व्यभिचारिणः ।। ३।१७२ सा.द.
[29] ज्ञानाभीष्टागमाद्यैस्तु सम्पूर्णस्पृहता धृतिः ।।
सौहित्यवचनोल्लाससहासप्रतिभादिकृत् ।। ३।१६८ सा.द.
[30] यो विश्वं सकलं सुचेतयति तद्विश्वं न यं चेतयेत् ।
यत्सत्तामधिगत्य हस्तचरणश्रोत्राक्षिनासादिकम् ।।
विश्वेषां निजकर्मसु प्रभवति प्रत्यक्षभूतं सतां ।
तं वन्दे परिपूर्णरूपमपि योSरूपीति संज्ञापितः ।। १।२ ज. वै.
[31] पूर्वं प्राथमिकीं नमामि ददतं शिक्षां स्वतातं ततः
सद्वैयाकरणं प्रसन्नवदनं श्रीहेमनाथं गुरूम् ।।
तर्काध्यापनबोधनेSतिकुशलं श्रीलोकनाथं तथा ।
वन्देSहं पठितः स्मरामि सततं श्रीटंकनाथं परम् ।।१।३ ज.वै.
[32] सद्विद्यां प्रतिदेशिकमहरहः प्रातःस्मृतेर्भाजनं ।
तं वन्दे दधिरामसंज्ञकमहो तुष्टः कथं व्यस्मरन् ?।।
एतेषां हृदयोदयात्मदयया मन्दात्मबुद्धेर्मम ।
शास्त्राभ्यासमतिर्गतिश्च सहसा काव्येSपि धृष्टायते ।। १।४। ज.वै
[33] सदृशज्ञानचिन्ताद्यैर्भ्रूसमून्नयनादिकृत् ।
स्मृतिः पूर्वभूतार्थविषयज्ञानमुच्यते ।। ३।१६२ सा.द.
[34] दौर्गत्याद्यैरनौजस्यं दैन्यं मलिनतादिकृत् ।।३।१४५ सा.द.
[35] उदारता भन्ने भाव सञ्चारी वा स्थायी भावको सूचिमा छैन । तथापि मनका भाव अनन्त हुने हुँदा ३३ वटा मात्रमा संकुचित गर्न उपयुक्त नहुने उत्तरवर्ती काव्यशास्त्रीहरूको मत रहेको हुनाले यसको उल्लेख गरिएको हो ।
[36] गर्वो मदः प्रभावश्रीविद्यासत्कुलतादिजः ।
अवज्ञासविलासाङ्गदर्शनाविनयादिकृत् ।। ३।१५४ सा.द.
[37] ब्रह्मा सृजत्यनुदिनं भुवनप्रपञ्चं ।
विष्णुस्तु पालयति संहरते शिवोSपि ।।
एषा स्थितिस्त्रिगुणयुक्तसुरैः क्रमेण ।
सञ्चालितेति निगमागमयोर्निरूक्तिः ।। १।५ ।। ज.वै.
[38] धातुर्निशापगम एव दिवस्ति सृष्टिर्
यावच्च चतुर्दशमिता मनवो भवन्ति ।।
कोट्यर्धकल्पसमानचतुर्युगन्तु ।
तस्मिन् पुनः पुनरूपैति सहस्रवारम् ।।१।६। ज.वै.
[39] विश्वं सृजेति हरिणा विनियोजितः कः ।
स्रष्टुं प्रयत्नमकरोदसमर्थ आसीत् ।।
तुष्टाव विष्णुमददाद्दययाच्युतोSपि ।
शक्तिं तया समसृजद् विविधप्रपञ्चम् ।।१।७।। ज.वै.
[40] ‘दया’ परिगणित सञ्चारी वा स्थायीभावमा नपरे पनि भावविशेष भएकोले उल्लेख गरिएको ।
[41] आदौ ससर्ज भुगुदक्षमरीचिमुख्यान् ।
काँश्चित्तु सृष्टिविमुखानमरान्मुनीँश्च ।।
यावन्नवृद्धिमुपयाति निजेच्छसृष्टिस्
तावत् प्रजापतिरधाद्धृति दीर्घतापम् ।। १।८।। ज.वै.
[42] अद्भुतो विस्मयस्थायीभावो गन्दर्भदैवतः । ३।२४२ सा.द.
स्तम्भः स्वेदोSथ रोमाञ्चगद्गदस्वरसम्भ्रमाः ।
तथा नेत्र विकासाद्या अनुभावा प्रकीर्तिताः ।।३।२४४ सा.द.
वितर्कावेगसम्भ्रान्तिहर्षाद्या व्यभिचारिणः ।। पूर्ववत् पृ. ३११
[43] चिन्ताकुलस्य हृदये कमलासनस्य ।
रूपं द्विधा समभवत्तत एव कायात् ।।
स्वायम्भुवो मनुरभूत् पुरूषोSर्धभागाद्
वामार्धतोSपि वनित शतरूपनाम्नी ।।१।८ ज.वै
[44] आज्ञापितः स जनकेन हि सृष्टिकार्ये ।
तप्तुं तपः समगमत् सरितं सुनन्दाम् ।।
तप्त्वा शताब्दमथवा संस्तुतवान् स विष्णुं
दृष्ट्वाSसुरास्तमभिहन्तुमुपेयुत्र ।।
[45] श्रवणं कीर्तनं विष्णोःस्मरणं पादसेवनम् ।
अर्चनं वन्दनं दास्यं सख्यमात्मनिवेदनम् ।। ७।५।२३ श्रीमद्भागवतम्
[46] शौर्यापराधादिभवं भवेच्चण्डत्वमुग्रता ।
तत्र स्वेदशिरःकम्पतर्जनाताडनादय ।। ३।१४९ सा.द.
[47] तत्वज्ञानापदीर्ष्यादेर्निर्वेद स्वावमाननम् ।
दैन्यचिन्ताश्रुनिःश्वासवैवर्ण्योछ्वसादिकृत् ।।३।१४२ सा.द.
[48] पुत्रानृपस्यदशतेषुत्रयोविरक्ता हित्वागृहंनिरगमन्धृतयोगपट्टाः
एकादशार्बुदसमा उपभुज्य राज्यं द्वीपेषु सप्तषु सुतान् निययोज सप्त।। १।१३ ज.वै.
[49] राजा जगाम वनमेव पुरा यथासौ ।। यद् गन्धमादनवनान्तिक आश्रमे हि।।
यस्मिन्पितर्यतिदिशत्यपिनारदो हि वैराग्ययोगमशिशिक्षत तं नृपेन्द्रम्।। १।१४ ज.वै.
[50] दौर्गत्याद्यैरनौजस्यं दैन्यं मलिनतादिकृत् ।।३।१४५ सा.द.
[51] दौर्भाग्यतोSग्रमहिषी रूचये न राज्ञः।
प्रासादपश्चिमकुटीरनिवासिताSSसीत्।।
राज्ञोSन्तिके सुरूचिरस्ति सुतेन सार्धं
राजा सदा स्पृहयते ह्यतिगर्विताSतः।। १।१६ ज.वै.
[52] असूयान्यगुणर्द्धीनामौद्धत्यादसहिष्णुता ।।
दोषोद्घोषभ्रूविभेदावज्ञाक्रोधेङ्गितादिकृत् ।।३।१६६
[53] भ्राता यथाहमपि यामि पितुर्निषङ्ग
इत्याशयेन पितुरङ्कमथारूरोह।।
सेर्ष्यं जगाद सुरूचिर्नृपतेःसमीपे
सिंहासनाद् ध्रुवमधोSप्यवरोप्य चैवम् ।।१।१९।। ज.वै.
[54] वत्स त्वया न च ममोदरमन्वभावि
सामान्ययोषिदुदरादजनि क्षितीशात् ।।
आरोढुमिच्छसि नृपासनमेहि मूढ
तप्त्वा तपो मम पुनर्जठराधिवासम् ।। १।२०।। ज.वै.
[55] बालोSस्यपक्वमतिरन्यवधूदरस्थ
मात्मानमद्य न वेत्सि मनोरथास्ते ।।
स्थातुं नृपासनमपीच्छति दुर्लभं यत्
त्तस्मात्तपस्य वनमेहि मनो नियच्छ ।। १।२१।। ज.वै.
[56] उपायाभावजन्मा तु विषादः सत्वसंक्षयः ।
निःश्वासोच्छ्वासहृत्तापसहायान्वेषणादिकृत् ।। ३।१६७ सा.द.
[57] क्रीडासहायपुरबालकवाक्यतस्तद्
वृत्तान्तमस्य नृपपत्न्युदितं निशम्य
दीर्घं नृपस्य महिषी स्वसुतं निरीक्ष्य
संस्मृत्य पत्युरवहेलनमत्यरोदीत् ।। १।२४ ज.वै.
[58] अश्रूण्यनारतवहानि कथञ्चिदेव
प्रोञ्छ्ययोत्तरीयदशया निजगाद पुत्रम् ।।
दिष्टं ममात्मजसदा विपरीतभूतं
तस्मात्त्वयापि बहुदुःखमहोSनुभाव्यम् ।।१।२५ ज.वै.
[59] सत्यं जगाद तव तत्र सपत्नमाता
दुर्भागिनीजठरजस्त्वमतस्तदाह ।।
स्तन्यं ममैव सहसा भवता निपीतं
पत्नीति वक्तुमपि मां लजते महीन्द्रः ।।१।२६। ज.वै.
[60]यत्पादपङ्कजमजोहृदयेSवधाय दिव्यं सहस्रसममेवतपोSन्वताप्सीत् ।।
तस्मै हरेर्हि परमेष्ठीपदं दिदेश स्वाराधनं भगवतःविफलं कथं स्यात् ।। १।२८
[61] यद्वा मनुस्तवपितामह एव पूर्वं तप्त्वातपःशतसमामनुतामवाप ।।
धर्मार्थकाममपिमोक्षमवापतस्मा त्पात्रं बभूव पुरूषार्थचतुष्टयस्य ।।१।२९
[62] वत्स त्वमप्यहरहर्भजवासुदेवं यद्वा तपस्यसि वनेSप्युतबालकोSसि ।।
योSनन्यथाहृदिविभावनया सुतुष्टो Sवश्यंप्रदास्यति मनोरथमात्मनीनम् ।।१।३०
[63] नान्यं सुरं तव सुदुःखहरं विजाने विष्णुं विहाय स्वजनाभयदं शरण्यम् ।।
यो नक्रवक्त्रगिलिताङ्घ्रिगजेन्द्रमोक्षमारूह्यतार्क्ष्यमबिलम्बमहो ! चकार ।। १।३१
[64] निन्दाक्षेपमानादेरमर्षोSभिनिविष्टता ।।
नेत्ररागशिरःकम्पभ्रूभङ्गो तर्जनादिकृत् ।।३।१५६ सा.द.
[65] विवधेषु पदार्थेषु लोकसीमातिवर्तिषु ।
विस्फारश्चेतसो यस्तु स विस्मय उदाहृतः ।।३।१८०
[66] श्रुत्वा नृपात्मजनुषस्त्वतिधीरवाक्यम् तुष्टो मुनिःस्वगतमाहनृपस्य तेजः ॥
बालोSपि भूपतिसुतो निजमानभंगं मात्राकृतं न सहते यदहो विचित्रम् ।।३४।।
[67] हर्षस्त्विष्टावाप्तेर्मनःप्रसादोSश्रुगद्गदादिकरः ।।३।१६५ सा.द
[68] ज्ञात्वा र्भकस्य तपसि प्रतिपन्नचित्तं संस्पृश्य मूर्ध्नि करेण जगाद हर्षात् ।।
बालोSसि वत्स ! तवदैवकृतंसमस्तं मानापमानभवदुःखसुखे न किञ्चिद् ।।१।३५।। ज.वै.
[69] नीतिमार्गानुसृत्यादेरर्थनिर्धारणं मतिः ।
स्मेरता धृतिसन्तोषौ बहुमानश्च तद्भवाः ।। ३।१६३ सा.द.
[70] बालस्य यत्परवशस्य दुरन्तदुःखं क्रीडापरस्य न तथा भवति क्षणान्ते ।।
तच्चापि दैववशतः क्वचिदेति नेति श्रेयःसुखं पुनरनाग्रह एव तस्मिन् ।।१।३६ ।। ज.वै.
[71] अथ मुनिन्द्रसम्मतो वत्सलः – स्फुटं चमत्कारितया वत्सलं च रसं विदुः ।।
स्थायी वत्सलतास्नेहः पुत्राद्यालम्बनं मतम् ।। ३।२५१ सा.द.
[72] विश्वनाथेन मुनिन्द्रसम्मतत्वेनोद्घुष्टं वत्सलरसं वात्सल्यं वा भरतो नाट्यशास्त्रे क्वापि न चर्चयति । – डा. घिमिरे. (२०६५), पृष्ट सं. १८४
[73] एतेन वात्सल्याख्यं पुत्राद्यालम्बनं रसान्तरमिति परास्तम् । उच्छ्रिङ्खलतया मुनिवचनपराहतत्वात् । पूर्ववत् पृ. १८४ ।
[74] भरतमुनिवचनानामेवात्र रसभावादिव्यवस्थापकत्वेन स्वातन्त्रायोगात् । अन्यथा पुत्रादिविषयाया अपि रतेः स्थायिभावत्वं कुतो न स्यात् । न स्याद्वा कुतः शुद्धभावत्वं जुगुप्साशोकादीनाम् । इत्यखिलदर्शनवैयाकुली स्यात् । रसानां नवत्वसंख्या मुनिवचननियन्त्रिता भज्येत इति यथाशास्त्रमेव ज्यायः । पूर्ववत् पृ. १८४
[75] मात्रोपदिष्टिमिति ते तपसिप्रवृत्ति राराधनं भगवतोSप्यतिदुष्करं हि ।।
आजन्ममृत्युवधियोगसमाधिनापि नैवाप्नुयन्तिमुनयःकिमुमानवास्तु ।।३७।। ज.वै.
स त्वं निवृत्य गृहमेहि न तेSधुनायं कालः पुनःस्वसमये नियमाँश्चरेथाः ।।
कुर्वन्ति केSपि नियमान्विपिनाधिवासं स्वस्यायुषःचरमभागमुपेत्य तप्तुम् ।।३८ ज.वै.
[76] श्रुत्वा मुनेर्वचनमाह तदा ध्रुवोSपि योSयं त्वया मयि निदर्शितशान्तिमार्गः ।।
वैराग्ययुक्तमनसां भवता समानां नास्मादृशां यदविनीतहृदर्भकाणाम् ।।३९
[77] साधो त्वया कथितमप्यधिकं हितं हि वैमातृकोक्तिशरदीर्णहृदि प्रयुक्तम् ।।
स्थातुं न चाप्यविलतःस्रवतेकथञ्चित् तस्मान्निरोद्धुमिहनार्हसि मां सुरर्षे ।। ४०
[78] अस्मत्पितृप्रभृतिभिस्त्वनधिष्ठितं य
त्विष्णोःपदं त्रिभुवनादपि चोच्छितं स्यात् ।।
लब्धुं समिच्छति मनो मम तस्य मार्गं
सम्यक् प्रदर्शयितुमर्हसि मेSनुकम्पय ।। ४१
[79] सूर्यो यथा जनहितार्थमुदेतिनित्यं तद्वद् भवानपि चरत्यचिरेण सत्यम् ।।
ब्रह्मात्मजोSसि महतीं रणयन्नभीक्ष्णं बालस्य मे शरणदो भव भोः सुरर्षे ।।४२
[80] श्रुत्वा वचो मुनिवरस्य पुनर्ध्रुवोSपि । प्रपच्छ नारदमुनिं भगवन् सुरर्षे ।।
गत्वा मया मधुवने किमु कर्म कार्यं । रीत्या कया भगवतः पदमर्चनीयम् ।। ४६। ज.वै.
[81] कीदृक् स्वरूपमपरं हृदि धारणीयं । जप्यश्च को मुनिरसौ कतिधा जपार्हः ।।
सर्वं पृथङ्मनसि कृत्य वदानुवृत्या । दासोSस्मि नारद निसर्ग दयाकरोSसि ।। ४७ ज.वै.
[82] इत्युक्त्वा नृपतनयो मुनिं प्रणम्य ।
हस्तौ द्वौ शिरसि निधाय नारदाग्रे ।।
अश्रूणां झरिभिरहो मुनेः पदौ द्वा
वासिञ्चन् कथमपि बद्धमौन आसीत् ।