कपिलवस्तु महोत्सवको तयारी अन्तिम चरणमा, कपडा बैंकको समुद्घाटन गर्न महानायक राजेश हमाल आउदै ।


१५ मंसिर २०८१, शनिबार  

238
Shares


ओम प्रकाश पौडेल
वाणगंगा, १५ मंसिर ।

१५ औँ कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औधोगिक प्रदर्शनी २०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । शनिवार संघको हलमा आयोजित पत्रकार सम्मेलनमा महोत्सव अन्तर्गत तयारी ८० प्रतिशत पूरा भएको अध्यक्ष गणेश बहादुर क्षेत्रीले बताउनु भयो ।


सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्म निर्भर अर्थतन्त्र भन्ने मुल नारा सहित कपिलवस्तु उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव यहि मंसिर १९ गते देखि २ गते सम्म बुद्ध रंगशालामा सञ्चालन हुन गई रहेको छ ।


महोत्सवको २ लाख दर्शकले अवलोकन गर्ने र १० करोड बढिको कारोबार हुने आयोजकको अपेक्षा छ । महोत्सवमा ३५० वटा स्टल निर्माण भैसकेको छन् भने थप विशिष्टिकृत स्टल निर्माणको काम चलिरहेको बताइएको छ । महोत्सवमा स्थानीय धार्मिक स्थलको प्रवद्र्धनका लागि निशुल्क स्टलको व्यवस्था गरिएको उवासंघले जनाएको छ ।.


कृषि प्रवर्दनका लागि कृषि आधुनिकीकरणमा के कस्ता काम भएका छन् सो को प्रदर्शनीका लागि सम्बन्धित सबैलाई अनुरोध गरिएको छ । लुम्बिनी विकास कोषलाई बुद्ध संग सम्बन्धित कार्यक्रम अगाडी बढाउन अनुरोध समेत गरिएको बताइएको छ ।

यस पटकको महोत्सव विगतका महोत्सव भन्दा केहि भिन्न रहने आयोजकले जनाएको छ । कपिलवस्तु डान्स आइडलको निरन्तरता, प्रदेश स्तरीय कपर्दी, साइकिलिङ प्रतियोगिता, व्याटमिन्टन,लोक गायन, वक्तृत्वकला, लोक नृत्य, स्थानीय कला संस्कृति प्रवद्र्धन सहित स्थानीय उत्पादन प्रवद्र्धनमा विशेष जोड दिएको संघले जनाएको छ । यस पटक महोत्सवको गेटका रुपमा पशुपतिनाथको मन्दिर झल्कीने गेट निर्माण हुने गेट निर्माण समिति संयोजक इन्द्र पोख्रेलले जानकारी दिनु भयो । महोत्सवको समुद्घाटन नागरिक उड्ययन तथा पर्यटन मन्त्री बद्री पाण्डेले गर्नु हुने कार्यक्रम रहेको छ भने महोत्सवमै महानायक राजेश हमालद्धारा कपडा वैंकको समुद्घाटन गर्ने कार्यक्रम समेत रहेको मेला आयोजक मूल समारोह समितिका अध्यक्ष तथा संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले बताउनुभयो ।


पत्रकार सम्मेलन कार्यक्रम आयोजक मूल समारोह समितिका अध्यक्ष क्षेत्रीको अध्यक्षता, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यको प्रमुख आतिथ्यता, मेलाका निर्देशक हुमनाथ पौडेल, संघका पूर्व सल्लाहकार एवं वाणगंगा ५ का वडाध्यक्ष दुनिका भुषाल लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  ३ : ५१ बजे