अन्तर मेडिकल खेलकुदको समापन



जुम्लामा पहिलो पटक आयोजित अन्तर मेडिकल खेलकुद प्रतियोगिता समापन भएको छ। प्रतियोगितामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल जुम्लाले एक लाख रुपैयाँ राशीसहित पहिलो स्थान हासिल गरेको छ

प्रतियोगिताको आयोजना कर्णाली प्रतिष्ठानले नै गरेको थियो। मदन भण्डारी मेडिकल कलेजले ७५ हजार रुपैयाँ राशीसहित दोस्रो स्थान हासिल गरेको छ भने किष्ट मेडिकल कलेजले ५० हजार रुपैयाँ राशीसहित तेस्रो स्थानमा चित्त बुझाएको छ।

भदौ १६ देखि २२ गतेसम्म सञ्चालन भएको यस प्रतियोगितामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित ६ वटा मेडिकल कलेजले प्रतिस्पर्धा गरेका थिए।

कर्णाली प्रतिष्ठानले सर्वाधिक २१ पदक जित्दै अग्रस्थानमा रह्यो, जसमा ११ स्वर्ण, ७ कास्य र ३ रजत पदक सामेल छन्। खेल संयोजक विवेक पुन मगरका अनुसार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले २ स्वर्ण, १ कास्य र २ रजत जितेर कुल ५ पदक प्राप्त गरेको छ। किष्ट मेडिकल कलेजले १ स्वर्ण, २ कास्य र ३ रजत जित्दै कुल ६ पदक हात पारेको छ।

महाराजगञ्ज मेडिकल कलेजले १ स्वर्ण, २ रजत, र १ कास्य जितेको छ। राजर्षिजनक विश्वविद्यालय, जनकपुरधामले ३ रजत र ३ कास्य पदक जित्दै चौथो स्थानमा आएको छ।

कार्यक्रममा पुरुष तथा महिला भलिबल, फुटबल क्रिकेट, टेबल टेनिस, दौड, हाजिरीजवाफ र कविता प्रतियोगिता गरिएको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ९ : ५४ बजे