सरकारले सचेतनामूलक काम अघि बढाउने



– सरकारले बाली बीमाका प्रवर्द्धनात्मक तथा सचेतनामूलक काम अघि बढाउने भएको छ । बजेटमार्फत कृषिमा लगानी दशक घोषणा गरेको सरकारले बाली बीमालाई विशेष प्राथमिकता दिएर व्यवस्थित गर्दै लैजाने भएको हो । कृषि तथा पशुपक्षी विकामन्त्री रामनाथ अधिकारीले प्रदेश सरकारका कृषिमन्त्रीसँग यसबारेमा छलफलसमेत गर्नुभएको छ ।

मन्त्री अधिकारीले अनुदानको विषयमा मन्त्रालयमाथि आरोप लाग्दै आएकोमा अब पालिका र प्रदेश सरकारसँग समन्वय गरी एउटा संयन्त्र बनाउने र संयन्त्रमार्फत अनुदानको व्यवस्थापन गर्ने उद्देश्य रहेको बताउनुभयो । उहाँले लगानी दशकको सफलताका लागि सबैले पहल गर्नुपर्नेमा जोड दिनुभएको छ ।

साथै कृषि मन्त्रालयले किसान सूचीकरणको काम यसै वर्षभित्र सक्ने गरी काम अगाडि बढाएको मन्त्री अधिकारीले बताउनुभयो । यस वर्षभित्रै सूचीकरण र वर्गीकरणसहित वितरणको प्रक्रिया पनि शुरू गर्ने योजना रहेको उहाँको भनाइ छ । किसान सूचीकरणलाई सहयोग गर्न मन्त्री अधिकारीले सातै प्रदेशका कृषिमन्त्री र सात सय ५३ वटै पालिकालाई आग्रह गर्नुभयो ।

बालीवस्तुमा बाँदरले दुःख दिने क्रम देशभर फैलिएकाले यो समस्या समाधानमा पनि मन्त्रालयले काम गर्ने मन्त्री अधिकारीले प्रतिबद्धता जनाउनुभएको छ । मन्त्री अधिकारीले निर्देशिका संशोधन गर्न नसके रासयनिक मलको अभाव र आलोचना सधैँ भइरहने हुँदा कसरी समाधान हुन सक्छ विकल्प खोजेर अगाडि बढ्ने बताउनुभयो ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  १ : १२ बजे