पुँजीबजारमा उछाल


१३ श्रावण २०८१, आइतबार  

0
Shares

चालू आव ०८१/८२ का लागि नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिका व्यवस्थाले पुँजीबजारमा सकारात्मक प्रभाव देखिएको छ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११३ दशमलव ४२ अंक अर्थात् ४ दशमलव ४१ प्रतिशतले बढेर २ हजार ६८१ दशमलव ५६ को विन्दुमा कायम भएको छ।

आज ३१८ कम्पनीको ४ करोड ३ लाख १४ हजार ५ सय १७६ कित्ता शेयर १ लाख ६३ हजार ८१० पटक खरिदबिक्री हुँदा १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार २३५ रुपैयाँ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा लघुवित्त समूह शून्य दशमलव १८ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै बैंकिङ समूह ९ दशमलव ८९ प्रतिशतले बढेको छ।

लगानी समूह पाँच दशमलव ७५ र विकास बैङ्क समूह चार दशमलव ८७ प्रतिशतले बढेको छ।

आज एक दर्जन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सकारात्मक सर्किट लाग्नेमा अधिकांश वाणिज्य बैंक छन्।

नेपाल इन्भेस्टमेन्ट मेघा बैंक, नेपाल एसबिआई बैंक लिमिटेड, सानिमा बैंक लिमिटेड, एनएमबी बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड, सिटिजन्स इन्टरनेसनल बैंक लिमिटेड, प्राइम कमर्सियल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, एभरेस्ट बैंक लिमिटेड र नेपाल बैंक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

उपकार लघुवित्त वित्तीय संस्था, हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको ३६ करोड १० लाख रुपैयाँ बराबरको १७ लाख ६ हजार ५८२ कित्ता शेयर किनबेच भएको छ।

आज नेप्से परिसूचकमा दुईपटक सकारात्मक सर्किट लागेको छ। आजको कारोबार सुरु भएको एक मिनेट ३१ सेकेन्डमा नेप्से परिसूचक ४ प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको थियो।

दोस्रोपटक कारोबार शुरु भएको एक मिनेटभित्रै परिसूचक १ प्रतिशत विन्दुले बढेर ५ प्रतिशत पुगेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको हो।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ९ : ३८ बजे