शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक रोकियो ?


१३ श्रावण २०८१, आइतबार  

0
Shares

संसद्‌मा गणपूरक संख्या नपुगेपछि विधेयक रोकियो

प्रतिनिधिसभाको बैठकमा गणपूरक संख्या नपुगेपछि ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव अघि बढ्न सकेन।

बैठकमा उक्त विधेयकमाथि सैद्धान्तिक छलफल चलेको थियो। छलफलमा सांसदहरूले उठाएको जिज्ञासाको जवाफमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले जवाफ दिएकी थिइन्। मन्त्री भट्टराईले समितिमा दफाबार छलफलका क्रममा विधेयकलाई परिष्कृत गर्न सकिने धारणा राखिन्।

गणपूरक संख्या नपुगेको भनी सांसद सन्तोष परियारले नियमापत्ति गरेका थिए। गणपूरक संख्या गणना गर्दा प्रस्ताव निर्णयार्थ पेश गर्न ६९ जना हुनुपर्नेमा ६७ जना सांसद मात्रै उपस्थित रहेकाले उक्त प्रस्ताव कार्यसूचीबाट हटाइएको सभामुख देवराज घिमिरेले जानकारी दिए।

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० राष्ट्रियसभामा उत्पत्ति भएको विधेयक हो। नेपालको संविधानको धारा ३५ मा रहेको स्वास्थ्यसम्बन्धी हक संरक्षणका लागि आवश्यक जनशक्ति स्वदेशमै उत्पादन गरी स्वास्थ्य सेवातर्फको पहुँच बढाउने उद्देश्यले यो विधेयक ल्याइएको हो।

स्वास्थ्य विज्ञानको क्षेत्रमा अध्ययन, अनुसन्धान र नवप्रवर्तनमार्फत योगदान पुर्‍याउन चिकित्सा शिक्षातर्फ छुट्टै विश्वविद्यालय आवश्यक रहेको भन्दै यो विधेयक अघि बढाइएको हो।

२०८० असोजमा तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले यो विधेयक राष्ट्रियसभामा दर्ता गरेका थिए।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ९ : ०७ बजे