नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०८४ को चुनाव एक्लै जित्ने गरी पार्टीले काम गर्ने बताएका छन्।
आइतवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले माओवादीलाई आगामी दिनमा गतिशील पार्टीको रूपमा नयाँ रूपान्तरणसहित अघि बढाइने पनि बताए। ०८४ लाई लक्षित गरेर एक्लै चुनाव जित्ने उद्देश्यका साथ पार्टी अघि बढिरहेको बताए।
उनले आफूले सरकार छोड्दा विजेताको रूपमा बाहिरिएको तर अहिले सरकारमा रहेकाहरू हारेको जस्तो गरी सरकारमा बसिरहेको टिप्पणी गरे। उनले आफूहरू जनता र मुद्दासँग जोडिएको जिकिर गरे। सुशासन, सामाजिक न्याय, आर्थिक विकासको पक्षमा काम गरेपछि भ्रष्टहरू एक भएको आरोप लगाए।
दाहालले भने‚ ‘०८४ लाई टार्गेट गरेर एक्लै चुनाव लडेर जित्ने उद्देश्यका साथ छलफल चलिरहेको छ। सरकार छोड्दा र मैले संसद्मा विश्वासको मतको अपिल गर्दा हामी विजेताको रूपमा निस्किएका छौँ। सरकारमा जानेहरू हारेको जस्तो गरी बसेका छन्। हामी जनतासँग जोडिएका छौँ, हाम्रो मुद्दासँग जोडिएका छौँ। हाम्रो वर्ग र समुदायसँग जोडिएका छौँ।’
अध्यक्ष दाहालले उत्साह र विश्वासको साथ संगठन सुदृढ गर्ने अभियानमा आफूहरू लागेको पनि बताए।