नेपाली नागरिकता त्याग्नेको संख्या बढ्दै


१२ चैत्र २०८०, सोमबार  

0
Shares

मोरङमा चालु आवको ८ महिनामा नेपाली नागरिकता त्याग्नेको गर्नेको संख्या ५८ पुगेको छ। जबकि अघिल्लो आवमा १८ जनाले नागरिकता परित्याग गरेका थिए।

स्थायी रूपमा बसोवास गर्न विदेश जानेहरू बढेसँगै नेपाली नागरिकता त्याग्नेको संख्या पनि बढेको छ। परिवारसहित विदेशमा व्यवस्थित बसोवास गर्न नागरिकता त्याग्नेको संख्या वर्षेनि बढ्दै गएको हो।

मोरङ प्रशासनले २०६६ सालदेखि मात्र नागरिकता त्याग्नेको विवरण व्यवस्थित तवरले राख्न थालेको हो। त्यसयता हालसम्म १८४ जनाले नागरिकता त्यागेको प्रशासनले जनाएको छ। 

मोरङ प्रशासन नागरिकता फाँटका कर्मचारी सुमन निरौलाले गत वर्षभन्दा यस वर्ष नागरिकता त्याग्नेको संख्या बढेको बताए। 

उनले गत वर्षसम्म भारतमा विवाह गरी जाने र उतै बस्ने भएकाले नागरिकता त्याग्नेहरु मात्रै हुने गरे पनि यस वर्षबाट भने गैरआवासीय नेपालीले नागरिकता लिन पाउने भएपछि एनआरएन नागरिक लिन नेपाली नागरिकता छाड्नेहरु बढेको बताए।

एनआरएनको नागरिकता लिनेमा महिला र पुरुषको संख्या बराबर रहेको उनले बता।

​वैवाहिक सम्बन्ध, पठनपाठन र रोजगारीलगायत कारणले जिल्ला प्रशासन कार्यालयमा नागरिकता परित्यागको माग गर्दै निवेदन दिनेको संख्या बढ्दो छ।

विषेशगरी अमेरिका, अस्ट्रेलिया र युरोपेली मुलुक जाने र त्यहाँको नागरिकता लिएपछि नेपालको नागरिकता त्याग्ने गरेको पाइएको कार्यालयले जनाएको छ। 

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले विदेशको नागरिकता लिने प्रक्रियामा गएपछि नेपाली नागरिकता त्याग गरेपछि मात्रै अन्य देशको नागरिकता पाइने भएकाले पनि त्याग गर्नेहरूको संख्या बढेको देखिएको बताए।

त्यसबाहेक भारतीय नागरिक बन्नका लागि पनि नेपाली नागरिकता त्याग्ने गरेको पाइएको सहायक प्रजिअ साहले बताए। केहीले भारतीय नागरिकता पाउन नेपाली नागरिकता खारेज गर्न निवेदन दिएका जनाइएको छ।

लामो समयदेखि वैदेशिक रोजगार साथै डिभी–पिआर लिएर विदेश बसेका र विदेशी नागरिकसँग वैवाहिक सम्बन्ध स्थापना गरी बसेकाहरूले नागरिकता त्यागेको पाइएको प्रशासनले जनाएको छ।

युरोप, अमेरिकालगायत विकसित मुलुकमा बस्ने मोहका कारण पनि नेपाली नागरिकता त्याग्नेको ग्राफ उकालो लागेको छ।

झट्ट हेर्दा संख्या थोरै देखिए पनि मुलुकभर वार्षिक रूपमा भने करिब ८ सयभन्दा बढीले नेपाली नागरिकता त्याग्न निवेदन दिने गरेका छन्।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ६ : ५५ बजे