एमाले केन्द्रिय कमिटी बैठक आज पनि बस्दै


९ फाल्गुन २०८०, बुधबार  

0
Shares

मंगलबारदेखि जारी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रिय कमिटी बैठक आज पनि बस्दैछ। आज बिहान ११ बजे पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा प्रस्तुत भएका चारवटा कार्ययोजनामा समूहगत छलफल हुँदैछ। 

त्यसका लागि एमालेले ९ वटा समूहमा विभाजन गरेको छ।  बैठकमा पार्टी अध्यक्ष केपी ओलीले मुलुकको समसामयिक राजनीतिका विषयमा गहनतम् विश्लेषणात्मक, संश्लेषणात्मक आफ्नो अहिलेको राजनीतिक घटनाक्रमको बारेमा समीक्षासहितको राजनीतिक विश्लेषण प्रस्तुत गरेका हुन्।

त्यस्तै ०८१ को वैशाखदेखि सञ्चालन हुने पार्टीको शुद्धीकरण तथा सुदृढीकरणसम्बन्धी कार्ययोजना पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पार्टी निर्माणका सन्दर्भमा देखिएका समस्याहरुलाई कार्यान्वयन गर्ने र समायानुकूल पार्टी निर्माण गर्ने खालको एउटा विषय पार्टीका उपाध्यक्ष विष्णु पौडेल, पार्टीको संगठनात्मक कामको समीक्षाको विषयमा पार्टीका महासचिव शंकर पोखरेल र पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेका जनसरोकार र जनदबाबको कार्यक्रमको खाका प्रस्तुत गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

उनले खाकासम्बन्धी प्रस्तुत गरिएका कार्ययोजना र प्रस्तावमाथि छलफल गर्न समग्र केन्द्रीय कमिटीको टिमलाई नौवटा समूहमा विभाजन गरिएको छ। पार्टी स्थायी कमिटीको एउटा समूह, सात प्रदेशका सात समूह र बाँकी एउटा समूह उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभागहरु रहेको गौतमले बताए।

छलफलपछि आएका निष्कर्षलाई केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरी पार्टी नेतृत्वले त्यसलाई सम्बोधन गर्ने र बिहीबार केन्द्रीय कमिटीको बैठकमा त्यसको बारेमा सम्बन्धित नेताहरुले जवाफ दिँदै बैठक सकिने गौतमको भनाइ छ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ६ : ५५ बजे