राष्ट्रिय सभा सदस्य निर्वाचन आज हुँदैछ। मतदान बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुनेछ ।
फागुन २० गतेदेखि रिक्त हुन लागेका २० मध्ये १९ पदमा निर्वाचन हुन लागेको हो। त्यसका लागि आठ दलका ५१ उम्मेदवार चुनावी मैदानमा छन्।
नेकपा एमालेले १९ पदमै उम्मेदवार उठाएको छ। गठबन्धनको नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टीका एक उम्मेदवार उठाएका छन्। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले सात, नेपाल मजदुर किसान पार्टीले चार र जनमत पार्टीले दुई उम्मेदवार खडा गरेका छन्।
राष्ट्रिय सभा सदस्य चुन्न प्रदेश सभाका सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, र गाउँपालिका अध्यक्ष–उपाध्यक्ष मतदाता हुनेछन्।
निर्वाचन आयोगका अनुसार देशभर दुई हजार ४७ मतदाता छन्। प्रदेश सभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ। दुई हजार ४७ मतदाताको कुल मतभार ५७ हजार ५५९ हुनेछ।
निर्वाचनका लागि सातै प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र स्थापना गरिएको छ।
मतदान सकिएपछि गणना हुने र बिहीबार बेलुकी नै परिणाम सार्वजनिक हुने आयोगले जनाएको छ।
प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ तोकिएको छ ।
यसअनुसार प्रदेश सभा सदस्यको मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार २८ हजार ४६२ हुनेछ ।
कुल जनसंख्यालाई मतदाता संख्याले भाग गर्ने र त्यसमा आउने योगफललाई फेरि हजारले भाग गरेर मतभार निकालिन्छ ।
राष्ट्रिय सभाबाट कोको हुँदैछन् विदा ?
कुल ५९ सदस्यीय राष्ट्रिय सभामा गोला प्रथाबाट एक तिहाइ सदस्यको कार्यकाल ६ वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको दुई वर्षको कार्यकाल निर्धारण गरिएको थियो । त्यही गोलाप्रथाबाट ६ वर्षको कार्यकाल पूरा गरेर आगामी फागुन २० गते एक तिहाइ सदस्यहरु बिदा हुन लागेकाले रिक्त स्थान पूर्ति गर्न माघ ११ गते निर्वाचन हुन लागेको हो ।
६ वर्षे कार्यकाल पूरा गरेर राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितका सदस्यहरु बिदा हुँदैछन् ।
तिमिल्सिना सहित नेकपा एमालेका ९ सदस्य राष्ट्रिय सभाबाट बिदा हुनेछन् । एमालेकै दीपा गुरुङ (गण्डकी), इन्दु कडरिया (सुदूरपश्चिम), खिमलाल भट्टराई (लुम्बिनी), दील कुमारी रावल थापा (बागमती), रामचन्द्र राई (बागमती), नरपती लुवार (कर्णाली), भैरव सुन्दर श्रेष्ठ (कर्णाली) र राष्ट्रपतिबाट मनोनित विमला राई पौड्याल पनि राष्ट्रिय सभाबाट बिदा हुँदैछन् ।
यसैगरी नेपाली कांग्रेसबाट अनिता देवकोटा (लुम्बिनी), जितेन्द्रनारायण देव (मधेश), प्रकाश पन्थ (गण्डकी) र रमेशजंग रायमाझी (कोशी)को कार्यकाल पनि फागुन २० गते सकिँदै छ ।
नेकपा माओवादी केन्द्रका महेश कुमार महरा (सुदूरपश्चिम), हरिराम चौधरी (सुदूरपश्चिम) र विना पोखरेल (कोशी) तथा एकीकृत समाजवादीबाट नन्दा चपाईं (कर्णाली), सिंगबहादुर विश्वकर्मा (बागमती)को कार्यकाल सकिँदै छ ।
यसैगरी जसपाकी प्रमिला कुमारी (मधेश प्रदेश) को कार्यकाल पनि सकिँदै छ ।
बागमती प्रदेशबाट स्वतन्त्रबाट निर्वाचित खिमलाल देवकोटा पनि आगामी फागुन २० मै बिदा हुँदैछन्।
राष्ट्रिय सभामा पद रिक्त हुनुभन्दा एक महिना अगाडि नै निर्वाचन गर्ने कानुनी व्यवस्था छ । यसरी राष्ट्रिय सभा कहिल्यै रिक्त नहुने भएकाले यसलाई स्थायी सदन पनि भनिन्छ ।