नेपाल हङकङ सिक्सेस क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलबाट बाहिरिएको छ। आज भएको खेलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको हो।
हङकङको मिसन रोड क्रिकेट मैदानमा भएको क्वार्टरफाइनलमा श्रीलंकाले पहिले ब्याटिङ गर्दै दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपालले ५ ओभरमा अल आउट हुँदै ८३ रनमात्र बनाएर पराजित भयो।
नेपालका लागि राशिद खानले सर्वाधिक ५५ रन बनाए। उनले १८ बलमा ८ छक्का र १ चौका हाने। नारायण जोशीले १३ रन बनाए।
बलिङतर्फ श्रीलंकाका लागि थरिन्दु रत्नानायके र लाहिरु समराखोनले २/२ विकेट लिए भने धनञ्जय लक्शन र कप्तान लिहुरु मदुसन्काले १/१ विकेट लिए।
त्यसअघि टस जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय लिएपछि पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ६ ओभरमा २ विकेट गुमाउँदै १२३ रन बनायो।
श्रीलंकाका लागि सदुन विराकोडीले १४ बलमा ५ छक्का र ४ चौकाको मद्दतमा ५० रन बनाए। कप्तान लिहुरु मदुसन्काले अविजित ३१, लाहिरु समराखोनले अविजित २२ र थनुका डबारेले १८ रन बनाए।
नेपालका लागि नारायण जोशी र प्रतिश जिसीले १/१ विकेट लिए।
यसअघि समूह चरणको खेलमा भने नेपालले इङ्ल्याण्ड र अष्ट्रेलियालाई पराजित गरेको थियो।