पोर्चुगलको राजधानी लिस्बनस्थित नेपाली दूतावासको उद्घाटन गरिएको छ।
दूतावासको बिहीबार एक समारोहबीच परराष्ट्र सचिव अमृतबहादुर राई र पोर्चुगलका विदेश मामिला तथा सहयोग राज्यसचिव डा. आना इसाबेल जेभियरले संयुक्त रूपमा उद्घाटन गरे। गत अप्रिलमा स्थापना भई सेवा प्रवाह गर्दै आएको दूतावासको हाल औपचारिक रूपमा उद्घाटन गरिएको हो।
सो अवसरमा परराष्ट्र सचिव राईले दुई देशबीचको द्विपक्षीय सम्बन्ध अझ सुदृढ र प्रगाढ बनाउन दूतावासले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। यसैगरी पोर्चुगलका विदेश मामिला सचिव जेभियरले खुसी व्यक्त गर्दै दूतावासलाई पोर्चुगल सरकारको निरन्तर सहयोग रहने आश्वासन दिए।
पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले दूतावासले दुई देशबीचको द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन पुलको रूपमा काम गर्ने बताए। उद्घाटन समारोहमा पोर्चुगलको विदेश मन्त्रालयका उच्चपदस्थ अधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि, दूतावासका कर्मचारी तथा सञ्चारकर्मी सहभागी थिए।
सहभागी वक्ताहरूले पोर्चुगलवासी नेपालीले भोग्नुपरेका समस्या, दूतावासको सेवा र कागजी प्रक्रियामा देखापरेका समस्यालगायत विषयमा गुनासो गरेका थिए। उनीहरूले दलालले प्रहरी चारित्रिक प्रमाणपत्रमा (प्रहरी रिपोर्ट) दिल्लीस्थित पोर्चुगिज दूतावास र नेपाली दूतावासको नक्कली छाप र हस्ताक्षर प्रयोग गरी ठगी गर्दा पोर्चुगल बसाइको वैधानिकताको प्रक्रियामा रहेका सयौँ नेपाली समस्यामा परेको भन्दै सोको समाधानका लागि पहल गरिदिन सचिव राईसमक्ष गम्भीर ध्यानाकर्षण गराएका थिए।
सहभागीहरूले नेपालमा पोर्चुगलको दूतावास नभएकै कारण दिल्ली धाउनुपर्ने बाध्यता रहेकाले नेपालमै पोर्चुगलको भिसा सेन्टर स्थापनाका लागि पहल गर्न आग्रह गरेका थिए। त्यस अवसरमा सहभागीहरूको गुनासो र जिज्ञासालाई सम्बोधन गर्दै परराष्ट्र सचिव राईले पोर्चुगलवासी नेपालीका समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताए।
दूतावासले गैरआवासीय नेपाली संघलगायत यहाँ क्रियाशील नेपाली सङ्घसंस्थाका प्रतिनिधिको उपस्थितिमा ७६औँ प्रजातन्त्र दिवससमेत मनाएको थियो।




