कमला सापकोटा पौडेल
७ फागुन वाणगंगा
होराइजन अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरूले बुद्ध रङ्गशालाको सरसफाई गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारी बाणगंगा वेलफेयर सोसाइटीको प्राविधिक सहयोगमा अधिकारको मात्रै वकालत पैरवी गर्ने आम नागरिकहरूले आफ्नो गाउँ ठाउँ सफा राख्नुपर्ने कर्तव्य नभुलुन् भन्ने सन्देश दिनको लागि सरसफाई कार्यक्रम गरिएको विद्यालयले जनाएको छ ।

सरसफाई मानव सभ्यतासँग जोडिएको विषय हो। त्यसैले आफ्नो गाउँ ठाउँ सफा सुग्घर राख्नुले त्यो समाज अत्यन्त विकसित समाज मानिने भएकोले यस्ता कार्यक्रमहरूलाई जारी गर्न सके नगर सुन्दर हुने बाडगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले बताउनुभयो कार्यक्रममा प्रमुख अतिथिको रूपमा आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्दै अर्यालले होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालयले बुद्ध रङ्गशालाको सरसफाई गरी समाजलाई राम्रो सन्देश दिएकोले यसले आम नागरिकलाई समाज सुधारका क्षेत्रमा जागरुक गराउने उहाँले दाबी गर्नुभयो।

वाणगंगा वेल्फेयर सोसाइटी समाजसेवाका क्षेत्रमा यस क्षेत्रको एउटा अग्रणी सामाजिक संस्था भएकोले यस्तो कार्यक्रममा सहयोग गर्न पाउनु आफूहरूको लागि गौरवको विषय भएको सरसफाई कार्यक्रमको समापन सत्रका प्रमुख अतिथिसमेत रहनुभएका सोसाइटीका अध्यक्ष राजन खाणले धारणा व्यक्त गर्नुभयो।
हामी आफ्नो ठाउँलाई सफासुग्घर राख्नुपर्ने संस्कार विकासमा कतिबद्ध भएर लागेका छौं यसैगरी हामीले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रण गरेका छौं। विद्यार्थी भाइबहिनीहरूले सरसफाई कार्यक्रममा उत्साहजनक रुपमा भूमिका खेल्नुभएको छ। प्राचार्य वासुदेव घिमिरेले भन्नुभयो ।
नियमित रूपमा विभिन्न कार्यक्रम तथा खेलकुदहरू सञ्चालन भइरहने तर त्यसको सरसफाई समयमा हुन नसक्दा फोहोर देखिएको बुद्ध रङ्गशाला सरसफाईसँगै स्वच्छ सफा देखिएको छ।

कार्यक्रममा वाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल, विद्यालय इन्चार्ज मोहनप्रसाद बेलबासे मावि तह संयोजक गीता शर्मा अनुशासन विभाग प्रमुख लेखा शर्मा अंग्रेजी विषय विभाग प्रमुख कान्ता गहतराज विज्ञान विषय प्रमुख ज्योति भट्टराई गणित प्रमुख दधिराम ज्ञवाली कम्प्युटर विषय प्रमुख सन्दीप चन्द सामाजिक विषय विभाग प्रमुख नवराज घिमिरे लगायतका शिक्षक शिक्षिका तथा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो।






