७ माघ, काठमाडौं ।
विगतका चुनावहरूमा नेकपा एमालेसँग गठबन्धन गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले यसपटक आम जनतासँग मात्र तालमेल हुने घोषणा गरिसकेका छन् ।
उम्मेदवारी दर्ता गराउन सोमबार झापा पुगेका लिङदेनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखे, ‘राप्रपाको तालमेल: … आम जनतासँग ।’ स्टाटस लेख्नुअघि उनले झापाका ५ वटै निर्वाचन क्षेत्रका उम्मेदवार टुंग्याएका थिए ।
झापा–३, मा आफैंले मनोनयन दर्ता गराएका लिङदेनले बाँकी क्षेत्रहरूमा पनि तुलनात्मक बलिया उम्मेदवार उठाएका छन् । गत चुनावमा झिनो अन्तरले निकटतम प्रतिद्वन्द्वी बनेका स्वागत नेपाललाई पार्टी प्रवेश गराएरै झापा–२, बाट राप्रपाले उम्मेदवार बनाएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव लड्दै आएको झापा जिल्लामा चुनावी गठबन्धन अभ्यासका निम्ति राप्रपा रणनीतिक शक्ति हो । त्यसैले लिङदेनको स्टाटस र उम्मेदवारहरूबारे भएका निर्णयले राष्ट्रिय राजनीतिमै अर्थ राख्छ ।




