काठमाडौं महानगर क्षेत्रभित्रमा १०७ विद्यालय भौतिक रूपमा सञ्चालनमा नरहेको पाइएको छ।
महानगरपालिकाको नगर शिक्षा समितिको गत साउन २८ गतेको निर्णयअनुसार विगतमा अनुमति पाएर पनि हाल स्थलगत रूपमा सञ्चालनमा नरहेको पाइएको हो।
स्थलगत रूपमा सञ्चालनमा नरहेको पाइएका यस्ता विद्यालयलाई १५ दिनभित्र शिक्षा विभागमा सम्पर्क महानगरले अल्टिमेटम दिएको छ। विभागले आइतबार एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।
महानगरले अनुमति पाएर पनि हाल स्थलगत रूपमा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेजी प्रक्रिया अगाडि बढाउन लागेको जनाएको छ। त्यस्ता विद्यालयको सूची सार्वजनिक गरेको महानगरले अझै सञ्चालनमै रहेको भए सम्बन्धित प्रधानाध्यापक, सञ्चालक, व्यवस्थापक वा गुठीयारलाई सम्पर्कमा आउन भनेको हो।
तोकिएको समयभित्र सम्पर्क गरी सञ्चालनमा रहेको पुष्टि गर्न नसकेमा त्यस्ता विद्यालयहरू बन्द गर्नका लागि कार्यपालिकामा सिफारिस गरिने विभागले जनाएको छ।




