गौतमबुद्ध विमानस्थललाई ‘कार्गो हब’ बनाउन सिफारिस


२० कार्तिक २०८२, बुधबार  

0
Shares

१९ कात्तिक, काठमाडौं ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा न्यून यात्रु चाप र व्यावसायिक घाटाका कारण वायुसेवा कम्पनीले नियमित उडान गर्न नसकेको सरकारी आयोगले निष्कर्ष निकालेको छ ।

नागरिक उड्डयन क्षेत्रको सुधारका लागि गठित उच्चस्तरीय अध्ययन एवं सुझाव आयोगले यहाँ नागरिक उड्डयन प्राधिकरणले जबर्जस्ती उडान बढाउन खोजे पनि यथास्थितिमा व्यावसायिक सम्भाव्यता नदेखिएको भन्दै विकल्प खोज्न सुझाव दिएको छ ।



यो विमानस्थलको भौगोलिक अवस्थितिका कारण नेपालभरिबाट निर्यातजन्य वस्तु ओसारपसार गर्न सहज देखिएको आयोगले जनाएको छ ।



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्यातजन्य वस्तुको चाप बढिरहेको अवस्थामा नेपाल भित्रिने ठूला वायुसेवा कम्पनीलाई कार्गो उडानमा आकर्षित गर्न सकिने सिफारिस आयोगले गरेको छ ।



‘गौतमबुद्ध विमानस्थलले कार्गोका लागि निर्यात पूर्वाधार केन्द्रका रूपमा रहन सक्ने क्षमता राख्छ, देशको वस्तु निर्यातका लागि अब उच्चस्तरको रणनीतिक कार्यक्रम बनाउने अवसर देखिएको छ,’ आयोगले भनेको छ ।



अन्तर्राष्ट्रिय यात्रु सेवा निरन्तर राख्न भने सरकारका यसअघिका निर्णय अक्षरस पालना गर्नुपर्ने आयोगको भनाइ छ । वैदेशिक रोजगार सम्बन्धी सम्पूर्ण ‘इकोसिस्टम’ स्थापना गर्न भनिएको छ ।



नेपाली व्यवसायीलाई वायुयान लिजिङ सहित विशेष सुविधा उपलब्ध गराइ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बेस रहने गरी कार्गो एयरलाइन्स सञ्चालन गर्न आह्वान गर्नसमेत सुझाव दिइएको छ ।



अन्तर्राष्ट्रिय प्रवर्द्धनको काम समेत कमजोर भएको आयोगको भनाइ छ । सोहीकारण लुम्बिनीलाई धार्मिक र सांस्कृतिक गन्तव्यको हब बनाउन सकिने सम्भावनातर्फ काम नभएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बुधबार  ६ : २७ बजे