कपिलवस्तु उद्योग वाणिज्य संघले सोमबारदेखि नापतौल उपकरणहरूको चेकजाँच तथा नवीकरण कार्य सुरु गरेको छ । गुणस्तर तथा नापतौल कार्यालय बुटवलको प्राविधिक सहयोगमा संघले उक्त कार्य सुरु गरेको हो । कार्यक्रम दुई दिनसम्म अर्थात् भोलि मंगलबार (भदौ १७ गते) सम्म सञ्चालन हुने संघले जनाएको छ ।
संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले व्यवसायीहरूलाई सजिलो हुने गरी गरिएको यस पहल उपभोक्ता अधिकार र व्यवसायी दुवैलाई लाभदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले संघले व्यवसायी हितका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाउनुभयो । “नापतौलमा शुद्धता र पारदर्शिता व्यवसायी मात्र होइन, उपभोक्ता अधिकारसँग पनि जोडिएको विषय हो । यसलाई व्यवस्थित र सहज बनाउन हामीले संघमै यो कार्यक्रम ल्याएका हौं । व्यवसायीहरूले आफ्नो उपकरण समयमै नविकरण गरी उपभोक्तामा विश्वासिलो सेवा दिनुपर्नेछ,” उहाँले भन्नुभयो ।
यसै अवसरमा नयाँ तथा पुराना व्यवसायीहरूले आफ्नो नागरिकता र प्यान नम्बर लिएर उपस्थित भई ढक–तराजु लाइसेन्स समेत नवीकरण गर्न सक्ने व्यवस्था मिलाइएको संघका महासचिव नवदत्त घिमिरेले जानकारी दिनुभयो ।
संघले यस अवसरलाई सबै व्यवसायीले सदुपयोग गर्न र निर्धारित मितिभित्र नै सहभागिता जनाउन आग्रह गरेको छ ।
कार्यक्रममा गुणस्तर तथा नापतौल कार्यालय बुटवलका सहायक निरीक्षक गुरु प्रसाद पाख्रेलसहित पाँच सदस्यीय प्राविधिक टोली खटिएको छ ।