अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ समकक्षी सीबीच टेलिफोन वार्ता


२४ जेष्ठ २०८२, शुक्रबार  

0
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण गर्ने हुनुभएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङसँग फोनमा कुरा गरेपछि ट्रम्पले आफ्नो चीनको भ्रमण तय गर्नुभएको बीबीसीले जनाएको छ । दुई नेताबीच फोनमा राम्रो कुराकानी हुँदै गएपछि एकअर्काको देश भ्रमणबारे सकारात्मक वातावरण बनेको हाे, तर भ्रमणको मिति भने तय भइसकेको छैन ।

गएको फेब्रुअरीमा अमेरिकाले चीनसँग व्यापार युद्ध शुरु गरेपछि उहाँहरुबीच पहिलोपल्ट फोनवार्ता भएको हो । ट्रम्प प्रशासनको पहलमा वार्ता भएको चिनियाँ सञ्चार माध्यमले बताएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल मार्फत सी जिनपिङसँग झन्डै डेढ घण्टाको कुराकानी मुख्यतया व्यापारमा केन्द्रित रहेको र दुवै देशका लागि धेरै सकारात्मक निष्कर्षमा पुगेको बताउनुभएको छ । कुराकानीका क्रममा सीले अमेरिकाले चीनविरुद्ध लिएका नकारात्मक व्यवस्थाहरु फिर्ता लिनुपर्ने बताएको छ ।

यसअघि अमेरिकाले चीनबाट आयात हुने सामानमा एक सय ४५ प्रतिशतसम्म कर बढाएपछि चीनले पनि प्रतिशोधात्मक कर बढाएर अमेरिकाबाट आयात हुने सामानमा एक सय २५ प्रतिशत कर पुर्‍याएकाे थियो । तर केही समयअघि स्विट्जरल्यान्डको जेनेभामा भएको सम्मेलनमा दुवै देशले ९० दिनका लागि एक सय १५ प्रतिशत कर घटाउने निर्णय गरेका थिए । अहिले अमेरिकाले ३० प्रतिशत र चीनले १० प्रतिशत शुल्क लिइरहेका छन् । त्यसबीचमा थप वार्ता र सहमति गर्ने प्रयास भइरहेको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८२, शुक्रबार  ७ : ०४ बजे