अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगितामा म्यानमारले लेबबानलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा म्यानमारले लेबनानलाई ३–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । म्यानमारको जितमा विन थेङ्गी तुन, स्वेय यी तुन र सान थाअले समान एक–एक गोल गरे ।
यता लेबबानका लागि लायला इस्कन्दरले सान्त्वना गोल गरिन् । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ५६औँ मिनेटमा म्यानमारकी विनले पेनाल्टी बक्सबाट प्रहार गरेको बलले सिधै जाली चुम्यो ।
त्यसपछि खेलको ६०औँ मिनेटमा लेबनानकी लायलाले एक गोल गरिन् । खेलको ७२औँ मिनेटमा म्यानमारकी अर्की खेलाडी स्वेय यीले हेडमार्फत बललाई जाली चुमाइन् ।
त्यसको तीन मिनेटपछि सानले अर्को गोल थपिन् ।
उनले रिबाउन्डमा गोल गरेकी हुन् । यस जितसँगै म्यानमारले तीन अङ्क जोडेको छ । आजको खेलमा म्यामारकी फुयु फुयु विन प्लेयर अफ दि म्याच बनिन् । उनलाई केल्मी नेपालका प्रवन्ध निर्देशक उत्तम न्यौपानेले १० हजारको चेक हस्तान्तरण गरेका थिए ।