प्रदर्शन हुन थालेपछि आम्स्टर्डम तनावग्रस्त



प्यालेस्टाइनको पक्षमा दिनहुँ प्रदर्शन हुन थालेपछि नेदरल्याण्ड्सको राजधानी आम्स्टर्डम तनावग्रस्त बनेको छ ।

अघिल्लो हप्ता एउटा फुटबल प्रतियोगिताका क्रममा इजरायली समर्थकले नेदरल्याण्ड्सको राजधानीमा प्यालेस्टानको झण्डा जलाउनुका साथै अरब देशहरूविरुद्ध नाराबाजी गरेका थिए । त्यसपछि प्यालेस्टानका समर्थकसँग भएको झडपमा केही इजरायली घाइते भएका थिए ।

सम्भावित थप झडप रोक्न प्रहरीले आम्स्टर्डममा प्रदर्शनमा रोक लगाएको छ भने मास्क लगाएर हिँड्न पनि प्रतिबन्ध लगाएको छ । तर प्रदर्शनकारीले प्रहरीको अवज्ञा गर्दै आन्दोलन गर्दै आएका छन् ।

हिजो मात्रै प्रहरीले ४० जनाभन्दा धेरैलाई पक्राउ गरेको एएफपीले जनाएको छ । इजरायलले आफ्ना नागरिकलाई पनि नेदरल्याण्ड्सको भ्रमण नगर्न र त्यहाँ रहेका नागरिकलाई छिटोभन्दा छिटो देश फर्कन आग्रह गरेको छ ।

देशमा तनाव बढ्दै गएपछि नेदरल्याण्ड्सका प्रधानमन्त्री डिक स्कुफले संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलनमा आफ्नो यात्रा रद्द गर्नुभएको छ ।

यसैबीच इजरायलले आउँदो बिहीवार फ्रान्ससँग हुने फुटबल प्रतियोगिताका क्रममा रङ्गशालामा नजान आफ्ना नागरिकलाई आग्रह गरेको छ । सम्भावित झडप र क्षति रोक्न इजरायलले आफ्ना समर्थकलाई रङ्गशालामा नजान भनेको हो ।

नेशन्स लिग अन्तर्गत इजरायल र फ्रान्सबीचको खेललाई लिएर पेरिसको सुरक्षा व्यवस्था निकै कडा बनाइएको प्रहरीले जनाएको छ । दक्षिणपन्थी यहूदी समूहले नेसन्स लिगको खेलअघि र्‍यालीको घोषणा गरेको छ ।

फ्रान्स–इजरायलको खेललाई उच्च जोखिमको रूपमा वर्णन गर्दै पेरिसका प्रहरी प्रमुख लरेन्ट नुनेजले स्टेडियम वरिपरि, सार्वजनिक गाडी र सार्वजनिक ठाउँमा ४ हजार जना सुराकी परिचालन गरिने बताउनुभएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  १ : १७ बजे