त्रिभुवन आर्मी क्लवलाई पराजित गर्दै विभागीय क्लव नेपाल पुलिस क्लव काठमाडौंमा जारी दोस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको दोस्रो खेलमा पुलिसले आर्मीलाई ट्राइब्रेकरमा ४–३ गोलले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलको नियमित समयमा दुवै टोलीले गोल गर्न नसक्दा खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।
पेनाल्टी सुटआउटमा पुलिसका लागि उज्वल राई, हेमन्त श्रेष्ठ, प्रताप थापा र आशिष राईले गोल गरेका थिए । पुलिसक कप्तान रामचन्द्र वाजीको प्रहार क्रशबारमा लागेर फर्केको थियो ।
उता आर्मीका भरत खवास, कमल बहादुर थापा र फत्तेमान घलेले गोल गरे । आर्मीका भुपेन्द्र जंग रायमाझी र नवयुग श्रेष्ठको प्रहारलाई पुलिसका गोलरक्षक अमित टमाटाले विफल पारेका थिए ।
अब सेमिफाइनल प्रवेशका लागि पुलिसले साविक विजेता मछिन्द्र फुटबल क्लवको फाल्गुन १५ गते खेल्ने छ ।
आजै भएको अर्को खेलमा न्यु रोड टिम एनआरटीले थ्रीस्टार क्लवलाई १–० गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।